मीटरब्याज पीडितले भने,‘राज्यका निकायहरुले नौटंकी खेल रचे !’

मीटरब्याज पीडितले भने,‘राज्यका निकायहरुले नौटंकी खेल रचे !’

मीटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिले आफ्नो समस्या समाधान गर्न सरकारले आफूहरु;लाई विश्वस्त पार्न नसकेको बताएको छ । 

राज्यका विभिन्न निकायबाट पटक-पटक धोका पाइसकेको उल्लेख गर्दै समितिले समस्या समाधान हुनेमा विश्वासको आधार नदेखिएको जनाएको हो । आपराधिक मनशायका सुदखोर र साहु महाजनले धमाधम फर्जी कागजात बनाएर किसानको जग्गा हडप्न थालेको समितिद्धारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

राज्यको एउटा अंग आन्दोलनकारीसँग सम्झौता गर्ने र अर्को अंग न्यायपालिकामार्फत किसान–मजदुरका जग्गा लिलाम गराउने नौटंकी खेल रचिएको आरोपसमेत समितिले लगाएको छ । ‘सुदखोर र साहु महाजनले धमाधम फर्जी कागजातको प्रमाणमार्फत अदालतबाट किसानको जग्गा लिलामी गराउन थालेका छन् । यसप्रति संघर्ष समितिको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ,‘प्रधानमन्त्रीसंगको भेटमा संघर्ष समितिले यस्तो खेदजनक कार्यलाई तत्काल रोक्न मन्त्रिपरिषद्बाट विशेष आदेश जारी गरि पीडित किसानहरुको जमिन उनीहरुकै स्वामित्वमा रहने र उनीहरुले हकदाबी गर्ने स्थिति सुनिश्चित गरियोस् भन्दै ज्ञापनपत्र बुझाइसकेको छ ।’

साथै, गृह मन्त्रालयमा पठाइएको मस्यौदाबारे समितिलाई कुनै पनि औपचारिक र आधिकारिक जानकारी नदिइएको विज्ञप्तिमा उल्लेख छ । समितिले उक्त मस्यौदाबारे तत्काल जानकारी गराउन माग गरेको छ । त्यस्तै, कसैले जारी आन्दोलन मत्थर पार्न खोजेमा नयाँ चरणको आन्दोलनमा होमिने चेतावनी दिइएको छ ।

टिप्पणीहरू