सुभद्राहरू पनि आत्महत्याको सोचमा

सुभद्राहरू पनि आत्महत्याको सोचमा

अहिले बैंकिङ आतंक ह्वात्तै बढेको छ । बैंकबाट कर्जा लिएर व्यापार व्यवसाय थालेकाहरूले धमाधम आत्महत्याको बाटो रोजेका छन् । प्रेमप्रसाद आचार्य र मोरङका मोहन न्यौपाने त पछिल्ला उदाहरण हुन् । झण्डै दुई वर्षअघि भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ निकोसेराका व्यवसायी सुदीप अधिकारीले बैंकको ऋण तिर्न नसकेर पूरै परिवारको ज्यान लिए । अन्त्यमा आफैंले आत्महत्याको बाटो रोजे । उनीसहित पत्नी सम्झना, छोरा सुशान्त र घरमा पालेको कुकुरको शव भेटिएको थियो । अनुसन्धानको क्रममा हत्यापछि आत्महत्याको कारण बैंकको ऋण भएको खुल्न आयो । पछिल्लो समय बैंकको कर्जा व्यवसायीका लागि पासो बन्दै गरेको देखिन्छ । 

यता, बैंकले जथाभावी कर्जाको ब्याज बढाउँदा सर्वसाधारणसमेत पिरोलिन थालेका छन् । सामाजिक सञ्जालभर मनलाग्दी बढ्दो ब्याजदरको विरोध भइरहेको छ । यिनैमध्येकी सुभद्रा थापाको कथा हो यो । सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेड, कालिमाटी शाखाबाट उनले दुई वर्षअघि ४० लाख रुपैयाँ बैंकका कर्मचारी आफ्नै चिनजानको भएकाले विश्वासपूर्वक घर बनाउनका लागि लिइन् । शुरुमा ९ प्रतिशत ब्याजमा कर्जा लिएकी उनले पाँच लाख रुपैयाँ बढी हुने भएपछि बैंकलाई नै फिर्ता दिइन् । 

तर, कर्जा लिएको केही समयपछि बैंकले जानकारी नै नगराइकन १३ दशमलव पाँच प्रतिशत ब्याजदर पु¥याएको उनको भनाइ छ । ठीकै छ भनेर बैंकले भनेजति ब्याज तिरिन् । हाल उनको ब्याज १७ प्रतिशत पुगेको छ । पहिले मासिक ३५ हजार किस्ता तिर्ने सुभद्रालाई अहिले ४७ हजार रुपैयाँ तिर्नुपरेको छ । ‘विश्वासमा परेर ऋण लिइयो, अहिले ‘निल्नु न ओकल्नु’ भएको छ । पहिलेका कर्मचारी पनि सबै हटाइसकेका रहेछन् । नयाँ कर्मचारीले केही सुन्नै चाहँदैनन्, म त बैंककै ढोकामा गएर मरौँ कि क्या हो !’, उनले दिक्दारी पोखिन् । यता, आफूले महिना पुग्नेबित्तिकै किस्ता तिरे पनि साँवा नघटाएको बताउँछिन् । साँवा घटाउनुपर्ने ठाउँमा ब्याज तानियो भनेर बैंकका कर्मचारीले आफूलाई अलमल्ल पारेको उनको भनाइ छ । यसरी बैंकको चर्को ब्याजदरका कारण व्यवसायी मात्र नभई सर्वसाधारणले समेत देहत्याग गर्नुपर्ने अवस्था सिर्जना भएको छ । 

उद्योगी, व्यवसायीका साथसाथै सर्वसाधारणसमेत जथाभावी ब्याजले थलिएका छन् । बैंकले अप्रत्यासित रुपमा ब्याजदर बृद्धि गर्दा आफूहरूलाई मर्का परेको भनाइ सबैको हो । यता, सामाजिक सञ्जालमा पनि यो विषयले निकै चर्चा पाएको छ । यसैबीच, कुमारी बैंकले १८ दशमलव आठ प्रतिशत ब्याजदर पु¥याएको छ । १२ दशमलव ६७ प्रतिशतमा कर्जा लिएकाहरू यत्रो ब्याज तिर्नुपर्दा मारमा पर्ने नै भए । प्राइम बैंकले पनि ‘होम लोन’ मा १७ प्रतिशत ब्याज पु¥याएको छ । अन्य बैंकबाट कर्जा लिएकाहरूको अवस्था पनि त्यस्तै छ । स्वदेशमै केही गरौं न भन्ने उद्देश्यसहित बैंकबाट कर्जा लिएर व्यापार व्यवसाय थालेकाहरू डुब्ने अवस्थामा छन् । कोरोना महामारीको चपेटाले थलिएको औद्योगिक क्षेत्र बैंकको चर्को ब्याजदरले समस्याग्रस्त बनेको छ । हालको बैंकिङ व्यवस्था र ब्याजदर स्थायित्वलगायत समस्याका कारण निजी क्षेत्रमा एकदमै जटिल अवस्था बनेको उद्योगीहरूको भनाइ छ ।

सरकारले यसमा अझै पनि चासो नदिने हो भने अन्य थुप्रै व्यवसायीले आत्महत्याको बाटो रोज्नुपर्ने उनीहरू बताउँछन् । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका कोषाध्यक्ष दुर्गाराज श्रेष्ठका अनुसार नेपाल राष्ट्र बैंक मौन बस्दा वित्तीय संस्थाहरूको आतंक बढेको हो । बैंकले कुनै आधारबिना जथाभावी ब्याजदर बढाउँदा पनि राष्ट्र बैंक र ठूला व्यवसायी गुमसुम बस्नाले धेरै प्रश्न खडा गरेको उनको भनाइ छ । ‘तीन वर्षअगाडि ‘बेसरेट’ सात प्रतिशत थियो । दुई प्रतिशत प्रिमियम गर्दा ९ प्रतिशत तिर्नुपथ्र्याे । अहिले बेसरेट साढे १० प्रतिशत छ, ब्याजदर १६ प्रतिशत । बैंकले के आधारमा यत्रो ब्याजदर पु¥यायो ? प्रिमियम गर्दा पनि साढे १२ प्रतिशत हुनुपर्ने हो’, उनले भने । राष्ट्र बैंक र राष्ट्रिय योजना आयोग अझै पनि हात बाँधेर बस्ने हो भने अन्य थुप्रै व्यवसायीले आत्महत्या गर्नुपर्ने उनी बताउँछन् ।
 

टिप्पणीहरू