राजनीतिक राष्ट्रपति

राजनीतिक राष्ट्रपति

चुनाव सकिइहाल्यो । अब शुरु भएको छ सरकार गठनको । प्रधानमन्त्री बन्ने को ? राष्ट्रपति बन्ने को ? सभामुख बन्ने को ? यावत प्रश्नहरू उठ्न थालेका छन् । यही बेला एउटा विवाद शुरु भएको छ, राष्ट्रपति बन्ने मान्छे राजनीतिक कि गैरराजनीतिक ?

गैर राजनीतिक मान्छेलाई राष्ट्रपति बनाउलान् भनेर खुब चिन्ता भइरहेको छ । सबैतिर एउटै माग छ, राष्ट्रपति बन्ने मान्छे राजनीतिक नै चाहिन्छ । किनभने भोलि अध्यादेश सध्यादेश लिएर जाँदा पास गरिदिएन भने के गर्ने ? विधेयक सिधेयक टाइममा पास भैदिएन भने के गर्ने ? समस्या यहींनेर छ । त्यही भएर राष्ट्रपति त राजनीतिक नै चाहिन्छ । अझ आफ्नो मान्छे चाहिन्छ । भोलि संसद विघटन गर्नुप¥यो भने राति नै गए पनि ढोका खोलेर सदर गर्ने मान्छे चाहिन्छ । यस्तो काम त राजनीतिक राष्ट्रपतिले मात्र गर्छ ।

गैर राजनीतिक राष्ट्रपतिले नगर्न पनि सक्छ । गैर राजनीतिक राष्ट्रपति भयो भने उसलाई राजनीतिको मतलबै हुँदैन । त्यहाँ कत्रो कत्रो राजनीतिक खेल चलिरहेको हुन्छ । राष्ट्रपतिले साथ दिएन भने के गर्ने ? त्यसैले राष्ट्रपति त राजनीतिक नै चाहिन्छ । अझ राजनीतिक पार्टीकै चाहिन्छ । पार्टी मात्र होइन आफ्नै गुटको पनि चाहिन्छ । कि कसो ?

टिप्पणीहरू