गुराँसे वनको काँखमा जमेको तीनजुरे र आरआर गार्डेन

गुराँसे वनको काँखमा जमेको तीनजुरे र आरआर गार्डेन

आखिरी लालीगुराँसको फूल कसलाई मन पर्दैन । गुराँसे वनको काख, चारैतिर पहाडले घेरिएको सुन्दर मैदान घुम्नु हरेकको सपना हो । यो दृश्यले हरेक पर्यटकको मन लोभ्याउँछ ।

पूर्वी नेपालमा एक परिचित पर्यटकीयस्थल तीनजुरे पनि त्यस्तै छ । त्यही तीनजुरेको फेदीमा रहेको आरआर गार्डेन (गुराँस र ढुंगाको बगैंचा) यतिबेला वनभोजको लागि पर्यटकहरूको गन्तव्यस्थल बनेको छ ।

तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुर बजार नजिकैको यो गार्डेनमा पछिल्लो समय वनभोजकै लागि आउने पर्यटकहरूको संख्या बढ्दो छ । यो स्थान मन्द बतास चल्ने शान्त र सुन्दर वातावरणमा अवस्थित छ । विशेष गरी शनिबार तथा सार्वजनिक बिदाको दिन पर्यटकहरूको चाप निकै बढी हुने गरेको छ ।भौगोलिक वातावरण तथा प्रकृतिको सुन्दरता बोकेको गुराँसे वनको काखमा वनभोजमा रमाउनुको मजै नै बेग्लै भएको स्थानीयको अनुभव छ । अन्यत्रका कृत्रिम पार्कहरूभन्दा प्राकृतिक सौन्दर्यतामा रमाउनुको आनन्द नै छुट्टै हुने भएकाले आफूहरु वनभोजको लागि गार्डेन आउने गरेका एक जना आन्तरिक पर्यटकले बताए ।

चारैतिर पर्खालको घेरासँगै गार्डेनको बीचमा पोखरी निमाण गरिएको छ । अहिले त्यहाँ पुग्ने पर्यटकहरूलाई वनभोजका लागि सहज बनाउने खानेपानीको व्यवस्थासमेत गरिएको छ । बगैँचाको बीच बीचमा धेरैवटा विश्रामस्थल समेत बनाइएको छ ।

टिप्पणीहरू