​पत्र लुकाउनेलाई कारबाही

तरकारीको विषादी रोक्न भारतले पठाएको पत्रबारे प्रधानमन्त्रीलाई थाहै दिइएको रहेनछ । आफूलाई गुमराहमा राखिएका कारण उहाँ त्यस्तो पत्र आएकै छैनसमेत भन्न भ्याउनुभयो । भरे हेर्दा थाहा भयो, पत्र त आएको रहेछ । 

त्यसपछि उहाँले क्षमा माग्नुभयो – सरी, देशवासीहरू ! पत्र त अस्ति नै आइसक्या रहेछ । मलाई भन्दै भनेनन् । म अस्तिदेखि छौंडाहरू खोज्न लागिरहेको थिएँ, पत्रबारे जानकारी नै भएन । अब कसले, किन, कुन प्रयोजनको लागि पत्र मलाई नदिएको हो, त्यसबारे छानबिन हुँदै छ ।

अब छानबिन भएपछि पत्र कसले नबुझाएको हो त्यो त पत्ता लागिहाल्ला । अथवा नलाग्न पनि सक्छ । केही दुर्घटनावश फ्याट्ट पत्ता लागिहाल्यो भने त्यो पत्र लुकाउने महाशयलाई कारबाहीचाहिँ के गर्ने ?

कारबाही लामो नगरौँ । पत्र लुकाएर जसले भारतलाई बचाउन खोजेको हो उसलाई त्यही भारतबाट आएको तरकारी एक मुठा र एक किलो जति फलफूल नधोइकन बोक्रासहित ख्वाइदिऊँ कि क्या हो ? त्यसपछि थाहा भइहाल्छ नि जनतालाई विषादी तरकारी ख्वाउँदा के हुन्छ भन्ने कुरा !
 

टिप्पणीहरू