​डेनमार्कको प्रशिक्षण

प्रमुख प्रतिपक्षी पार्टी कांग्रेसको प्रशिक्षण कार्यक्रम गत साता युरोपको डेनमार्कमा सञ्चालन भयो । त्यसो त कांग्रेसको प्रशिक्षण नेपालकै पनि विभिन्न ठाउँमा सञ्चालित थियो । जागरण अभियानअन्तर्गत प्रशिक्षण चलिरहँदा जति जगाउँदा पनि पार्टी जागृत नभएर होला, अहिले डेनमार्कमा प्रशिक्षण चलाइएको छ । डेनमार्कको प्रशिक्षणपछि पार्टी पक्कै जागृत होला भन्ने आशा छ । 

त्यसो त प्रशिक्षणको लागि डेनमार्क नै किन छनोट गरियो त्यो थाहा भएको छैन । प्रशिक्षणै दिने हो भने विश्वमा अरु पनि धेरै ठाउँ छन् । उदाहरणका लागि छिमेकी राष्ट्र भारत नै छ । कांग्रेसलाई भारतकै प्रशिक्षण पनि पर्याप्त हुन सक्ने अवस्था थियो । तर, छनोट भयो डेनमार्क । 
तैपनि केही छैन । जहाँबाट प्रशिक्षित भएर होस्, कांग्रेस जागृत हुनुपरेको छ ।

कांग्रेस जति जम्मै सुतेर बसेको कारण मुलुक नै सुनसानजस्तो लाग्न थालेको छ । कांग्रेसी जागृत भए भने कहिले पदका लागि, कहिले सुविधाका लागि, कहिले सत्ताका लागि कल्याङमल्याङ गरिरहेकै हुन्छन् । यसले राजनीतिलाई एउटा गति प्रदान गरिरहेको हुन्थ्यो । अहिले त्यस्तो केही छैन । आशा गरौँ, डेनमार्कबाट फर्केपछि नेपाली राजनीतिमा यी कुरा फर्किनेछन् । 

टिप्पणीहरू