सार्क होइन बिमस्टेक

चुनावमा एकपटक निर्वाचित हुनासाथ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टेस्टै फरक भइदियो । पहिलोपटक निर्वाचित हुँदा उहाँले आफ्नो शपथ ग्रहणमा सार्क राष्ट्रका नेताहरूलाई बोलाउनुभएको थियो । अहिले सार्क राष्ट्रप्रति उहाँको रुची फेरिइसकेछ । त्यसैले यसपटक सार्क संगठन होइन, बिमस्टेक संगठनका देशहरूलाई बोलाउनु भएको छ । खबर त नेपाललाई पनि आएको छ । सार्क संगठनको अध्यक्षको नाताले होइन, बिमस्टेक संगठनको सदस्यको नाताले । अब जस्तोसुकै नाताले बोलाए पनि जान त परिहाल्यो । आखिर बिमस्टेक भन्ने संगठनको पहिलोपटक कुनै प्रयोग जो हुँदैछ । 

सार्कलाई छोडेर बिमस्टेकलाई समाउँदा एउटा फाइदा हुँदोरहेछ – त्यहाँ पाकिस्तान हुने छैन । सबैलाई थाहै छ, पाकिस्तानलाई छल्नकै लागि भारतले सार्कलाई छोडेर बिमस्टेक रोजेको हो । सार्क सदस्यहरूलाई बोलायो भने पाकिस्तानलाई पनि बोलाउनुपर्ने हुन्छ । बिमस्टेक सदस्यहरूलाई बोलाएमा पाकिस्तानलाई बोलाउने झन्झटै आउन्न । अब यो पाकिस्तानलाई किन बोलाउने ? अस्ति हुन ठिक्कै परिसकेको युद्ध यही पाकिस्तानको कारणले रोकिन गएको होइन ? समाति नै सकेको भारतीय हवाई विमान चालकलाई अचानक रिहा गरेर नरेन्द्र मोदीलाई अवाक् पार्ने देश यही पाकिस्तान होइन ? यस्तो देशलाई किन बोलाउने ?

टिप्पणीहरू