​बम उद्योग

कमरेड नेत्रविक्रम चन्द विप्लवलाई पूर्व माओवादी नेताहरू केटौले र एकोहोरो स्वभाव भएका नेता भन्छन् । अब नेता नै केटौले छन् भने कार्यकर्ता झन् कस्ता होलान् ? तिनलाई त झन् बच्चै भन्दा पनि हुन्छ होला । जाबो एउटा बम फिट गर्न नजान्ने कार्यकर्तालाई के भन्ने ? बच्चै त भन्नुप¥यो नि । नेपाल बन्द सफल पारौँ भन्दै बम फिट गर्न गएको त उल्टो आफ्नै ज्यान बन्द । कतै बनाउँदा बनाउँदैको बम पड्कियो, कतै फिट गर्दा गर्दैको बम सड्कियो । अनाहकमा चार जना युवाको ज्यान गयो । 

पार्टीमा बच्चाहरू बढी भए भने हुने यही हो । बनाउँदा बनाउँदैको बम पड्केर मान्छे मर्नु राम्रो कुरा होइन । तर पनि यसले एउटा सकारात्मक आशा भने जगाएको छ । त्यो के भने नेपालमा अरू केही नबने पनि बम त बन्दो रहेछ । बम बनाउन जान्ने मान्छेहरू घरघरमै रहेछन् । अतः घर घरमै बसेर बम बनाउने घरेलु उद्योग किन नखोल्ने ? अहिले संसारभरि नै बम, बारुद, गोलाको अत्यधिक माग छ । यदि हामीले घर घरमै बसेर बम बनाउने घरेलु उद्योगहरू खोल्न सक्यौँ भने संसारभरि नै यसको निर्यात हुनेछ । यसले अलिकति भए पनि हाम्रो व्यापार घाटा घटाउने छ । अझ सबैभन्दा ठूलो कुरा त यही घरेलु बम निर्यात गरेर हामी नेपाललाई समृद्ध बनाउन सक्छौँ । त्यसपछि ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय संकल्प कसरी पूरा नहोला ?

 

टिप्पणीहरू