​पेटको जाँच

हालै समाचारमा आएको छ, राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको शिक्षण अस्पताल पुग्नु भई पेटको इन्डोस्कोपी गर्नुभयो । देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू विरामी पर्दा आफ्नै देशको, त्यो पनि सरकारी, अस्पताल पुगेर उपचार गर्नुभयो वा स्वास्थ्य परीक्षण गर्नुभयो भन्ने खबर सुन्न मात्र पाउँदा पनि हाम्रो आफ्नो रोग निको भए जस्तो आनन्दको अनुभव हुन्छ । पेटमा कटक्क मात्रै परे पनि विदेश दौडिहाल्ने नेताहरूको बानी हेर्दा हेर्दा वाक्क लागिसकेका हामीलाई नेताहरू आफ्नै देशको अस्पताल गए भन्ने समाचार पनि कस्तो कस्तो लाग्छ । तै पनि, राष्ट्रपति जानुभयो, अरु पनि जानुहोला भन्ने आशा राखेका छौँ । 

अब टिचिङ अस्पतालमा राष्ट्रपतिले जे परीक्षण गराउनुभयो त्यो पेटको इण्डोस्कोपी हो । अर्थात पेटमा केही छ कि भनी जाँच्ने । अब राष्ट्रपतिज्यूको पेटमा के पो होला र ? साँच्चै जाँच्नुपर्ने त मन्त्रीहरूको पेट हो । मन्त्रीज्यूहरूले खान हुने नहुने जे पनि खान थाले भन्ने हल्ला बजारमा चल्न थालेको छ । त्यसैले उहाँ मन्त्रीहरूले के खानुभयो, के खानु भएन त्यसको जाँच गर्न पनि महिनाको एक पटक यसरी नै पेट जाँच्ने हो कि ?

टिप्पणीहरू