​जनमत संग्रह कि जनअभिमत ?

विभाजनको कुरामा जनमत संग्रह गर्न सकिँदैन । तर ‘जनअभिमत’ चाहिँ लिन सकिन्छ । अब यो ‘जनमत संग्रह’ र ‘जनअभिमत’ भनेको चाहिँ एउटै हो कि छुट्टाछुट्टै हो, यसले पार्टीमै विभाजन ल्याउने खतरा छ । 

एउटा गुटको मान्यता छ— जनमत संग्रह र जनअभिमत भनेको एउटै हो । अर्को गुटको दावी छ— जनमत संग्रह र जनअभिमत भनेको एउटै होइन । अहिले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा नयाँ विवाद सिर्जना भएको छ ।

यो विवादले नेपाली भाषा र त्यसको व्याकरणमाथि समेत हमला होला जस्तो संकेत मिलिरहेको छ । नेपाली भाषाशास्त्रीहरू यसमा के सोचिरहेका होलान् ? भाषाशास्त्रीहरू कुन नेता कुनचाहिँ विचारको पक्षधर भनी मुख ताकिरहेका पो छन् कि ? हेर्नोस्, राजनीति भनेको सबै नीतिहरूको पनि नीति हो । राजनीतिमा विवाद आयो भने सबैतिर विवाद आउँछ । अब जनमत संग्रह र जनअभिमत एउटै हो वा एउटै होइन भन्ने विषयमा विवाद आयो भने त्यसको असर स्वरुप देशको भाषाशास्त्रको क्षेत्रमा समेत विवाद आउने पक्का छ । व्याकरण डग्मगाउने डर छ । शब्दकोष खल्बलिने चुनौती छ । भाषा भाँडिने भय छ । 

कृपया भाषाशास्त्री एवं वैयाकरणविद्हरू आउनेवाला हुण्डरीका लागि तयार भएर बस्नुहोला । 

टिप्पणीहरू