अपरिचित व्यक्तिसँग संवाद नगर्न साइबर ब्यूरोको अनुरोध
सामाजिक सञ्जाललाई दुरुपयोग गर्दै सर्वसाधारणलाई ठग्ने गिराेह सक्रिय भएपछि सचेत रहन नेपाल प्रहरीको साइबर ब्यूरोले सबैलाई अनुराेध गरेको छ । ब्यूरोले आइतबार जारी गरेको विज्ञप्तिमा अपरिचित व्यक्तिले भिडियो र भ्वाइस कल गरेमा सचेत रहन अनुरोध गरिएको छ ।
विज्ञप्तिमा विगत केही समयदेखि केही व्यक्ति /आपराधिक समूहहरुले प्रविधिको दुरूपयोग गरी सामाजिक सञ्जाल प्रयोगकर्तालाई फ्रेन्ड रिक्वेस्ट पठाई फेसबुक म्यासेन्जर, ह्वाट्सएप,भाइबर,इमो आदिमा भिडियोकल गरी रकम माग्ने गरेको जानकारी साइबर ब्यूरोले दिएको छ ।
विज्ञप्तिअनुसार अपरिचित व्यक्तिले अश्लील क्रियाकलाप देखाई सम्बन्धित व्यक्तिलाई उक्साई अनैतिक/अश्लिल क्रियाकलापमा संलग्न हुने वातावरण बनाई अनैतिक/अश्लिल क्रियाकलापलमा संलग्न गराएपश्चात् उक्त भिडियो कल रेकर्ड गरी साइबर अपराधमा फसाइदिन्छु भन्दै धम्की दिने गरेको पाइएको छ ।
त्यसैगरी ‘सामाजिक तथा पारिवारिक सम्बन्ध तहसनहस गराइदिन्छु भन्ने किसिमका धम्की दिई बारम्बार रकम माग गर्ने गरेका घटनाहरु बढ्दै गएको हुँदा सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई यस्तो क्रियाकलापप्रति सजग रहन तथा आपराधिक व्यक्ति तथा समूहको शिकारबाट जोगिन,प्रलोभनमा परी कोही कसैसँग पनि यस्तो प्रकारको भिडियो कल तथा भ्वाइस नगर्न हुन सम्बन्धित सबैको लागि जानकारी तथा जनचेतनाका लागि सूचित गरिएकाे जानकारी दिइएको छ ।
टिप्पणीहरू