चोरिएर अमेरिका पुगेका मूर्ति स्वदेश फिर्ता

चोरिएर अमेरिका पुगेका मूर्ति स्वदेश फिर्ता

नेपालबाट चोरेर अमेरिका पुर्याइएका तीनवटा प्राचीन मूर्ति फिर्ता ल्याइएको छ । गणेश, भूमिस्पर्श मुद्राका बुद्ध र काठमा कुँदिएका अप्सरा आकृतिको मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको हो । ती मूर्तिलाई नेपालबाट गायब गरिएको थियो ।

चार वर्षको अनुसन्धान एवम् कानूनी प्रक्रिया पूरा गरी सम्पदाको ‘उत्पत्ति र आधिकारिकता’ पुष्टि भएपछि न्यूयोर्कस्थित अमेरिकी न्यायाधिवक्ता कार्यालयले नेपाललाई फर्काइदिएको हो ।

न्यूयोर्कमा बिहीबार आयोजित समारोहमा कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र न्यूयोर्कका जिल्ला न्यायाधिवक्ता साइरस भान्स जुनियरले सम्पदा हस्तान्तरणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । स्रोतका अनुसार ती सम्पदा चोरी गर्ने श्रीलङ्काली मूलका मानिस थिए । तर, त्यसबारे विस्तृत विवरण भने खुलाइएको छैन ।

सन् १९७० को युनेस्को अभिसन्धिअनुसार हराएका वा चोरिएका कुनैपनि सांस्कृतिक सम्पदा भेटिए ‘उत्पत्तिको मुलुक’ (कन्ट्री अफ ओरिजिन) लाई फिर्ता गर्नैपर्ने प्रावधान छ । नेपालले अमेरिकी सरकारमा हार्दिक कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि यस्ता सत्कार्यमा सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।

टिप्पणीहरू