प्रधानमन्त्रीदेखि कुलमान, रविदेखि बालेन विराेधी नाराबाजीमा जेन जी
आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता दावी गर्ने निकोलस भुसाल नेतृत्वको युवा समूहले सरकारविरुद्ध माइतीघरमा धर्ना दिएकाे छ। फागुन २१ को चुनावअघि जेनजीको माग सम्बोधन गर्नुपर्ने बताउँदै आएका उनीहरुले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग्दै धर्ना दिएका हुन् ।
उनीहरुले ‘अति भो राजनीतिक खेल, आमाको सरकार फेल’, ‘जेनजीको माग पुरा गर’, ‘पीडितहरुलाई न्याय दे’ लगायका नारा लेखिएका प्लेकार्ड समेत बोकेका छन् । धर्नाको नेतृत्व गरेका भुसालले आगामी प्रतिनिधि सभाको निर्वाचन बहिष्कार गर्ने चेतावनी समेत दिएका छन् । ‘सरकारले चुनाव चुनाव मात्रै भनेर हुँदैन, त्यो भन्दा पहिला जेनजीको माग सम्बोधन हुनुपर्छ’, उनले भने, ‘जेनजीको माग थाती राखेर चुनाव गर्ने हो भने हामी बहिष्कार गर्नेछौँ, कुनै पनि हालतमा चुनाव हुन दिदैनौँ ।’
पटक पटक पक्राउ परेर रिहा भएका भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेनलाई पनि चेतावनी दिएका छन् । हिजो रवि र बालेनबीच भएको भेटवार्ताको सन्दर्भ जोड्दै उनले सहमतिमा नआए ‘साइड’ लगाउने बताएका हुन् । ‘नयाँ शक्तिहरु मिल्नु राम्रो कुरा हो, तर रवि र बालेनजीहरुले फोटो खिचाउँदैमा केही हुँदैन’, उनले थपे, ‘तपाईहरु साँच्चै जेनजीको पक्षमा हुनुहुन्छ भने माइतीघर आउनुस्, एउटा सहमति गरौँ, हैन भने हामी तपाईहरुलाई पनि साइड लगाउन बाध्य हुनेछौँ ।’
हिजो दिउँसो सरकारविरुद्ध नाराबाजी गर्दा पक्राउ परेका भुसाल साँझ रिहा भएका थिए । उनी आज फेरि केही युवाहरुसहित माइतीघर पुगेर धर्नामा बसेका हुन्। धर्नामा भुसालसहित मिराज ढुंगाना समूहका युवाहरु पनि सहभागी बनेको बताइन्छ ।
टिप्पणीहरू