कांग्रेस महाधिवेशन : हुनेभन्दा सर्ने सम्भावना

कांग्रेस महाधिवेशन : हुनेभन्दा सर्ने सम्भावना

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिभन्दा केही समय पर धकेलिने संकेत गरेका छन् । आज कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी महाधिवेशन प्राविधिक कारण धकेलिन सक्ने बताएका हुन् । 

झण्डै डेढ महिनासम्म चलेको केन्द्रीय समितिको बैठकले मंसिर १५ गते महाधिवेशन मिति (पुष २६, २७, २८) तोकेको थियो । तर नेता कोइरालाले नयाँ पार्टी सदस्यता र नविकरण तथा अद्यावधिकमा केही समस्या सिर्जना भएको बताउँदै महाधिवेशन मिति परिवर्तन हुन सक्ने बताएका हुन् । तोकिएकै मितिमा महाधिवेशन हुन्छ ? भन्ने प्रश्नले आफूलाई दिक्क समेत लागेको कोइरालाले बताए । ‘जसले पनि नेपाली कांग्रेसको महाधिवेशनको बारेमा सोध्छ, कहिलेकाहीँ त दिक्क पनि लाग्छ’, उनले भने, ‘कांग्रेसको महाधिवेशन केही पर जान सक्छ, तर अब फेरि शेखर कोइरालाको समूहले महाधिवेशन सार्न खोज्यो भन्छन् ।’ 

आगामी महाधिवेशनमा सभापतिको आंकाक्षी समेत रहेका कोइरालाले आफू तोकिएकै मितिमा महाधिवेशन हुनुपर्छ भन्ने पक्षमा रहे पनि केही प्राविधिक समस्या समाधान गर्न समय लाग्ने जानकारी गराए । ‘नयाँ क्रियाशील सदस्य बाँड्ने क्रममा देशभर सिरियल नम्बर नभएको पठाउने त शेखर कोइराला होइन होला, अर्कैले पठाएको होला, यस्ता समस्या समाधान गर्न समय लाग्न सक्छ’, उनले थपे ।

टिप्पणीहरू