बादलले जवाफ वा राजीनामा नदिए केसम्म हुनसक्छ ?

बादलले जवाफ वा राजीनामा नदिए केसम्म हुनसक्छ ?

नेकपा माओवादी केन्द्रको आज बिहान बसेको स्थायी समिति बैठकले आफ्नो दलको तर्फबाट ओली सरकारमा रहेका मन्त्री तथा हिजोदेखि एमालेको केन्द्रीय सदस्य बनेका नेतालाई २४ घण्टाभित्र मन्त्री र केन्द्रीय सदस्यको जिम्मेवारी छाड्न आदेश दिएको छ । साथै,उनीहरूसँग अर्को राजनीतिक दल (एमाले) मा आवद्धता जनाउनुको कारणबारे लिखित स्पष्टिकरण सोध्ने निर्णय भएको छ ।

तर,गृहमन्त्री रामबहादुर थापा बादललगायतका मन्त्री तथा अन्य नेताले माओवादी केन्द्रले दिएको आदेश पालना गरेनन् भने के होला ? भनेर सोधिएको जिज्ञासामा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई भन्नुहुन्छ ‘पार्टीले दिएको आदेश पालना नगरे,मन्त्रीबाट नहटे वा एमालेको केन्द्रीय सदस्यबाट राजीनामा नदिए माओवादी केन्द्रले आफ्ना मन्त्री तथा नेतालाई थप कारबाही गर्न सक्छ ।’

थप कारबाहीमा केसम्म होला ? भनेर सोधिएको अर्को प्रश्नमा उहाँले भन्नुभयो ‘अन्य नेताको हकमा पार्टी जिम्मेवारी र सदस्यबाट हटाइएको सार्वजनिक जानकारी गराउन सक्छ भने सांसदको हकमा उनीहरू माओवादी केन्द्रको तर्फबाट सांसद नरहेको पत्र सभामुख अग्निप्रसाद सापकोटालाई दिन सक्छ । त्यसो गर्दा हाल सांसद रहेका बादललगायतका सबैजसोले तत्काल मन्त्री र सांसद पद दुवै गुमाउनुपर्ने हुन्छ ।’

माओवादी केन्द्रले उक्त निर्णय गरेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओली थप दबाबमा पर्नुहुनेछ । सत्ता टिकाउन विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्थामा पुग्नुभएका ओलीलाई नसोचेको धक्का लाग्नेछ ।

त्यसैगरी,आफ्नै दल एमालेको पार्टी जिम्मेवारीबाट अवैधानिक तवरले हटाइनुभएका केही सांसदले समेत विश्वासको मत नहाल्ने परिस्थिति बन्दै गएको छ ।

एमालेका केही माननीयले सांसद पदको पर्वाह नगरी ह्वीप उल्लंघन गरेको अवस्थामा ओलीले स्वतः सिंहदरबार र बालुवाटारबाट हट्ने अवस्था आउन सक्छ ।

टिप्पणीहरू