युरेनियम बेच्नेलाई म्याद थप
नेपालमा सम्भवतः पहिलो पटक बहुमूल्य रेडियोधर्मी पदार्थ युरेनियमको कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ परेका ४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट शुक्रबार अनुसन्धानका लागि ५ दिनको म्याद थपाइएको छ । प्रहरीले काठमाडौंको बौद्धबाट ६ अर्ब रुपैयाँ बराबरको २ किलो ५०० ग्राम बिस्फोटक पदार्थ युरेनियमसहित उनीहरूलाई बिहीबार पक्राउ गरेको थियो । पक्राउ पर्नेमा रामेछापका ४० वर्षीय नारायणसिंह तामाङ, ४० वर्षीया जानुका तामाङ,२० वर्षीय प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने रहेका छन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको विशेष टोलीले उनीहरूलाई जानुकाको बौद्धस्थित कोठाबाट पक्राउ गरेको हो । स्रोतका अनुसार उक्त पदार्थ भारतबाट २० वर्षअघि नेपाल भित्रिएको अनुमान गरिएको छ । अस्ति पक्राउ गरिएको पदार्थ युरेनियम नै रहेको खुमलटारस्थित नास्टको प्रयोगशालाबाट पुष्टि भइसकेको प्रहरीले बताएको छ । २० वर्षअघि उक्त युरेनियम नेपाल ल्याएका व्यक्ति भने हाल अमेरिकामा रहेको समेत स्रोतले दाबी गरेको छ ।
विश्व बजारमा शुद्ध युरेनियमको मूल्य प्रति १० ग्राम २० लाख ९ हजार अमेरिकी डलर अर्थात् झण्डै १८ करोड रुपैयाँ पर्छ । शक्तिशाली विकिरणयुक्त युरेनियमको प्रयोग ऊर्जा उत्पादन, औद्योगिक र भौगर्भिक अध्ययनमा गरिन्छ । नेपालमा यसको प्रयोग र कारोबारमा प्रतिबन्ध लगाइएको छ ।
हालसम्म युरेनियम दुई प्रकारको पाइएको छ । त्यसलाई युरेनियम–२३८ र युरेनियम–२३५ भनिन्छ । प्राकृतिक रूपमा पाइने पदार्थलाई युरेनियम–२३८ भनिन्छ जुन कच्चा अवस्थामा हुन्छ । त्यसलाई आणविक प्रशोधन केन्द्रमा प्रशोधन गरेपछि युरेनियम–२३५ मा परिणत हुन्छ । एक किलो युरेनियम–२३५ बाट २ करोड ४० लाख किलोवाट ऊर्जा उत्पादन हुन्छ ।
नेपालमा २०७१ को जेठमा खानी तथा भूगर्भ विभागले गरेको एक अध्ययनमा मुस्ताङको लोमाङथाङ क्षेत्रमा युरेनियम खानीको सम्भावना देखिएको थियो । सो क्षेत्रको ३० वर्ग किलोमिटर क्षेत्रफलमा युरेनियम रहेको विभागले जनाएको थियो । झण्डै ४० वर्षअघिको एक अर्को अध्ययनमा मकवानपुरका तीनभङ्गाले,बझाङ र बैतडीमा समेत युरेनियम रहेको बताइएको थियो ।
विश्वमा सबैभन्दा धेरै युरेनियम खानी अष्ट्रेलियामा छ । तर, अष्ट्रेलिया युरेनियम निकासी गर्ने विश्वको तेस्रो ठूलो देश हो ।
टिप्पणीहरू