लक्ष्मणको अगुवाइमा अन्तर्राष्ट्रिय मिडिया अभियान

लक्ष्मणको अगुवाइमा अन्तर्राष्ट्रिय मिडिया अभियान

मिडिया एक्सन नेपालको अध्यक्षमा सञ्चारविज्ञ लक्ष्मणदत्त पन्त चुनिएका छन् । अभिव्यक्ति स्वतन्त्रता,मिडिया विकास,सूचना तथा सञ्चार क्षेत्रमा कार्यरत मिडिया एक्सनको नयाँ नेतृत्वमा पन्त चार वर्षको निम्ति चयन भएका हुन् ।

त्यस अवसरमा आयोजित छलफल कार्यक्रममा बोल्दै प्रेस काउन्सिलका पूर्व अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले पत्रकारिता क्षेत्रमा बढेको विकृति रोक्न सबैभन्दा पहिले पत्रकार स्वयमले जिम्मेवारी र उत्तरदायित्व बहन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
वरिष्ठ पत्रकार धुव्रहरि अधिकारीले समग्र मिडियाले निष्पक्ष र तथ्यलाई प्राथमिकता दिई समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभएको छ ।

काउन्सिलका प्रमुख कार्यकारी अधिकृत झविन्द्र भुसालले पत्रकार आचारसंहिताको उल्लंघन हुने गरी मिडियामा भ्रामक र उत्तेजनात्मक सामग्रीहरु आउने गरेको बताउनुभयो ।

राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतले मिडियामा आएका कतिपय सामग्रीले समाजमा यदाकदा त्रास समेत फैलाउने गरेको बताउँदै कोरोना महामारीका बेला सञ्चार माध्यममा आएका अप्रमाणित तथ्य र तथ्याङ्कले नागरिक त्रसित बनेको सन्दर्भ उल्लेख गर्नुभयो ।

शनिबार आयोजित कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष पन्तले मिडिया एक्सन नेपालले नेपाली मिडिया स्वतन्त्र,निष्पक्ष र उत्तरदायी हुनुपर्ने म्यान्डेटसहित अघि बढेकाले सोहीबमोजिम विभिन्न छलफल,अध्ययन र अनुसन्धान सञ्चालन गर्दै आएको बताउनुभयो ।

साथै संस्थाले अन्तर्राष्ट्रियस्तरमै यस्ता छलफल, नीति निर्माणमा समेत सहयोग पुग्ने गरी कार्यक्रमहरु आयोजना गरिरहेको जानकारी दिइयो ।

सभाको पाँचौं वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय अधिवेशनले उनको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसमा उपाध्यक्षमा प्रियंका झा,सचिवमा आरती शिल्पकार, कोषाध्यक्षमा दीपा केसीलाई चयन गरिएको छ । सदस्यहरुमा यमबहादुर दुरा,गणेशप्रसाद घिमिरे र आशिष मिश्रलाई छानिएको छ ।

संस्थाले ७ वटै प्रदेशमा संयोजक समेत चयन गरेको छ । जसअनुसार प्रदेश १ मा नरेन्द्र ढकाल,प्रदेश २ मा हदिस खुद्दार, बाग्मतीमा मधुसुदन दवाडी, गण्डकीमा सुनिता आचार्य, लुम्बिनीमा सञ्जु पौडेल, कर्णालीमा ललित बुढा र सुदूरपश्चिममा उमाकान्त जोशी रहेका छन् । यसैगरी संस्थाको सल्लाहकारमा वरिष्ठ पत्रकार भारतदत्त कोइराला,धुव्रहरि अधिकारी,माधव शर्मा र वरिष्ठ अधिवक्ता एवम् प्रेस काउन्सिलका पूर्वअध्यक्ष बोर्णबहादुर कार्की हुनुहुन्छ ।

मानार्थ सदस्यमा अन्तर्राष्ट्रिय विज्ञहरु क्रमशः दुबईको खालिफा विश्वविद्यालयकी डा. सादिया जामिल,युनिभर्सिटी अफ एजुकेसन घानाकी डा. गिफ्टी आपिह अदजेइ,डोगस विश्वविद्यालय टर्कीका प्राध्यापक डा. वारिस कोबान,युनिभर्सिंटी अफ पिस भेनेजुयलाका डा. मारिया टेरेसा, किर्गिस्तानको अनलाइन युनिभर्सिटीका अध्यक्ष डा. इलिरा तुरदुभावे, बंगलादेशका प्राध्यापक डा. जुड विलियम जिनिलो र फिलिपिन्सको एसियन एन्स्टिच्युट अफ जर्नालिज्म एण्ड कम्युनिकेसनका निर्देशक थेरेसे पार्टिसिया सन डिगो थम्स रहनुभएको छ ।

टिप्पणीहरू