कालो देखेरै डराउने पालो
भनिन्छ, कालो रंग अशुभ हुन्छ तर विद्यालयको त्यो ‘ब्ल्याकबोर्ड’ले पूरै मान्छेको जिन्दगी बदल्छ । कपडा पनि त कैयौंलाई कालैले बढी सुहाउँछ । आकर्षक हुन कालै गाजल पोतिन्छ आँखामा । यस्तै, अघिल्लो शनिबार सम्मानित हुने दिन थियो पत्रकार शान्ता अधिकारीको ।
‘शनिबारको दिन चितवनको निर्माण व्यवसायी संघको २७ औं साधारण सभामा म सम्मानित हुँदै थिएँ । सम्मान लिन जाँदा अरु दिनभन्दा अलि फरक कपडा लगाउन मन लाग्यो,’ भन्छिन्, ‘जाडोबाट बच्न न्यानो हुने गुलाबी रंगको टप्स, रातो कोट, कालो पाइन्ट, कालो जुत्ता र गलामा कालो सल बेरें ।’ उनको त्यही कालो सल अहिले निकै चर्चामा छ, कारण हो त्यसले सुरक्षाकर्मीको बेसरी नजर खिच्नु । उनलाई देख्नासाथ सुरक्षाकर्मी हे¥याहे¥यै ।
‘अरु पत्रकार साथी पनि सँगै थिए । कार्यक्रम स्थलमा प्रवेश गरेको केही समयमा नै मलाई एकोहोरो हेरिरहे । एकजना महिला आएर तपाईं कहाँबाट भनेर सोध्नुभयो । पत्रकार महासंघको कार्ड देखाएपछि जानुभयो । म आफ्नै सुरमा साथीहरुसँग व्यस्त भएँ’, उनले बताइन्, ‘फेरि केही समयपछि कोट–पाइन्टमा सजिएका एकजना सुरक्षाकर्मी आएर मेरो कालो सल झिक्न लगाउनुभयो ।’ यसबारे समाचार दैनिक डटकममा ‘प्रधानमन्त्रीलाई सुरक्षा थ्रेट दिने मेरो कालो सल’ शीर्षकमा लेख नै लेखेर शान्ताले भनेकी छन्, ‘ती सुरक्षा अधिकारीले एकदमै विनम्रतापूर्वक मेडम गाह्रो नमान्नु, तपाईंको कालो सल झोलामा राख्नुपर्ने भन्नुभयो । हामी सबै पत्रकार हाँस्यौं । हाँसेर मात्र हुँदैन थियो, मैले ओढेको कालो सल झोलामा नै राख्नुप¥यो ।’
त्यो बेला शान्ता सँगै भएकी पत्रकार रविना पौडेलले भनिन्, ‘त्यो पछ्यौरा हालेकै मेरो झोलामा हो ।’ सुरक्षाकर्मीले भनेर घाँटीबाट शान्ताले सल निकाल्न लागेको फोटो अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा भाइरल भइरहेछ । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा भन्छन्, ‘भिआईपीहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मीले ख्याल गर्नुपर्ने हरेक कुरालाई अस्वभाविक भन्न मिल्दैन । दुईवटा समूहको सशक्त कार्यक्रम भइरहेको अहिलेको समयमा त्यही कपडालाई प्रयोग गरेर कालो देखाई विरोध गर्ने हुन् कि भनेर सुरक्षाकर्मीले चासो देखाएको भन्न सकिन्छ तर आफू पत्रकार हुँ, रिपोर्टिङका लागि आएको भनी परिचयपत्र देखाउँदादेखाउँदै यो चाहिँ फुकाल्नुपर्छ भन्ने कुरा अलिकति बढी डराइएको हो कि ! आत्तिएको हो कि !’ कि पहिल्यै कालो लगाएर नआउन भनी सूचित गरिनुपर्ने, होइन भने एउटा नागरिकले, एउटा पत्रकारले रिपोर्टिङमा जाँदा लगाएको कपडामा आपत्ति जनाएर यो के हो, त्यो के हो भन्नुचाहिँ त्यति राम्रो नभएको उनले बताए ।
प्रेस संगठन चितवनका संयोजक प्रकाश ज्ञवालीले पछिल्लो समय देशमा राजनीतिक घटनाक्रम अस्वभाविक भएको, नेताहरु डराउन थालेको भन्दै यो उनीहरुकै राजनीतिक भविष्यको पनि राम्रो संकेत नभएको प्रतिक्रिया दिए । ‘प्रधानमन्त्री आउने कार्यक्रममा कालो कपडा नै लगाउन नहुने जुन भूत उहाँहरुमा सवार भएको छ, यो आम जनताप्रतिको सोचमा संकीर्णता हो, नागरिकप्रतिको अविश्वास हो’, ज्ञवालीले भने, ‘उहाँ (शान्ता) ले परिचयपत्र देखाउँदा पनि उहाँप्रति बारम्बार अट्याक भइरहेको थियो, म पनि नजिकै थिएँ, घटना एकदम अस्वभाविक प्रकृतिको थियो । अरुले पनि कालो टोपी, कालो ज्याकेट त लगाउनुभएकै थियो तर घाँटीमा बाँधेको कारण उहाँकै कालो सलमाचाहिँ सुरक्षाकर्मीको विशेष चासो देखियो ।’
यसैबीच, प्रधानमन्त्री केपी ओलीबाट भरतपुरस्थित ६ लेनको पुलचोक–गोन्द्राङ सडक र सिटीहलको शिलान्यास गरिएकोप्रति आपत्ति जनाउँदै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राजनीतिक दाउपेचका आधारमा विकास निर्माणलाई लिइनु गलत भएको बताइन् । भरतपुर महानगरपालिकाको गौरवका आयोजना महानगरपालिकालाई नै थाहा नदिई शिलान्यास गरिएको भन्दै एकदिन सुटुक्क आएर ढुंगा पूजा गर्दैमा सिटी हल र ६ लेन सडक निर्माण नहुने मेयरले बताइन् । भरतपुर महानगरपालिका दिगो र आत्मनिर्भर विकासको गतिका साथ अगाडि बढिरहेको अवस्थामा संघीयताकै खिल्ली उडाउँदै केन्द्रीकृत शासन लादेर ओलीबाट ती आयोजना शिलान्यास गरिएको उनको भनाइ छ ।
– अजय गोर्खाली
टिप्पणीहरू