कास्कीमा मात्रै साढे दुई हजार निर्वाचन प्रहरी
आउँदो फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनका लागि कास्कीमा झण्डै साढे दुई हजार निर्वाचन प्रहरी भर्ती गरिने भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालतर्फबाट दुई हजार ३०३ प्रहरी भर्ना गर्न लागिएको हो ।
निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ति समिति, कास्कीले प्रहरी र सशस्त्रतर्फ एकीकृत सूचना जारी गर्दै भर्नाका लागि आवेदन पेश गर्न आह्वान गरेको छ । प्रतिनिधि सभाको निर्वाचनका लागि देशभर एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरी भर्ना गरिँदैछ ।
फाराम बुझाउने समयावधि माघ १ गतेसम्म रहेकोमा साधारण लेखपढ गर्न सक्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रुपले स्वास्थ्य रहेको हुनुपर्नेछ ।
पुरुषको हकमा उचाई पाँच फिट, छाती ३१–३३ इञ्च, तौल ५० केजी र महिलाको हकमा उचाई चार फिट १० इञ्च, तौल ४२ केजी हुनुपर्ने सूचनामा उल्लेख छ । गर्भवती नभएका महिलाले मात्र आवेदन दिन सक्नेछन् । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वकर्मचारी र पूर्ववन रक्षकलाई निर्वाचन प्रहरीमा प्राथमिकता दिइनेछ ।
माघ ५ देखि ९ गतेसम्म छनौट प्रारम्भ हुनेमा १२ गते अन्तिम नतिजा प्रकाशन गरिनेछ । त्यसैगरी, भर्ना भएकाहरुलाई माघ १५ देखि माघ २४ गतेसम्म तालिम दिइनेछ । ४० दिनका लागि नियुक्त गरिने निर्वाचन प्रहरीले सरकारले तोकेबमोजिमको तलब र सुविधा पाउनेछन् ।
टिप्पणीहरू