क्याबिनेटका एक चाैथाइ निर्णय विदेश भ्रमण
मन्त्रिपरिषद्को पछिल्लो बैठकमा पनि मन्त्री र सचिवहरुको विदेश भ्रमण स्वीकृतिले निरन्तरता पाएको छ । हिजो बसेको बैठकले विभिन्न २२ वटा निर्णय गरेकोमा पाँच वटा विदेश भ्रमण स्वीकृतसम्बन्धी छन् ।
आउँदो माघ ८ गतेदेखि १३ गतेसम्म थाइल्याण्डमा आयोजना हुन गइरहेको एक तालिम कार्यक्रममा सहभागी हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. हरि पौडेललाई स्वीकृति दिइएको छ ।
त्यस्तै, यही पुस २९ र ३० गते बंगलादेशको ढाकामा हुने नेपाल–बंगलादेश वाणिज्य सचिवस्तरको आठौं बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई अनुमति प्रदान गरिएको छ । क्याबिनेटले युवा तथा खेलकुद मन्त्रीको अमेरिका भ्रमण पनि ओके गरेको छ ।
जसअनुसार माघ ३ गते उनी अमेरिका जाँदैछन् । युनिटेड नेशनल अन्तरिम सेक्युरिटी फोर्स फर अबेईको मिसनमा नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई पठाउने र साउदी अरेबियाको रियादमा माघ १२ र १३ गते आयोजना हुने एक कार्यक्रममा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई स्वीकृति प्रदान गर्ने क्याबिनेटको निर्णय छ ।
टिप्पणीहरू