एनसेलले थप्याे अढाई सय टावर
दूरसञ्चार सेवा प्रदायक एनसेलले सन् २०२५ मा अढाई सय नयाँ टावर विस्तार गरेको छ । आफ्नो फोरजी नेटवर्कको पहुँच विस्तार र गुणस्तर सुधारतर्फ महत्त्वपूर्ण कदम चाल्दै एनसेलले गत वर्ष देशभर दुई सय ५० वटा नयाँ टावर जडान गरेको हो ।
साथै, दुई हजार दुई सय वटा टावरमा क्षमता अभिवृद्धि गरिएको छ । यसबाट ग्राहकलाई अझ स्पष्ट भ्वाइस सेवा र उच्च गतिको डेटा सेवा लाभ हुने एनसेलको दाबी छ । कनेक्टिभिटी सेवा मात्र नभई अत्यावश्यक बन्दै गइरहेकोले यो फोरजी नेटवर्क सदृढीकरण र सेवा विस्तार गरिएको हो ।
एनसेलका अनुसार सातै प्रदेशका विभिन्न स्थानीय तहमा नयाँ टावर जोडेर सञ्चालनमा ल्याइएको छ । जसअनुसार कर्णालीको दैलेख, रुकुम पश्चिम र सल्यान, सुदूरपश्चिमको डोटी, कैलाली र कञ्चनपुर र मधेशको सिराहा, सप्तरी र धनुषालगायत स्थानीय तहमा टावर जोडेर फोरजी सेवा शुरु गरिएको छ ।
टावर जोडिएपछि जनकपुरधाम उपमहानगरपालिका–१७, मनहरपुरकी अनिशा मण्डलले नेटवर्क पहिलाभन्दा राम्ररी चल्न थालेको बताइन् । उनले भनिन्, ‘अहिले त घरभित्रै पनि धेरै राम्रो नेट टिप्छ, पहिलाभन्दा धेरै नै राम्रो भयो ।’ अढाई सय टावरमध्ये एक सय ९७ वटा पछिल्लो साढे दुई महिनामा स्थापना गरिएको एनसेलको भनाइ छ ।
त्यस्तै, ५३ वटा स्टकमा रहेका तथा स्पेयर उपकरणको अधिकतम उपयोगमार्फत सञ्चालनमा ल्याइएको हो । ‘देशभर थपिएका हाम्रा यी नयाँ टावर र क्षमता अभिवृद्धि गरिएका साइटहरुले सम्बन्धित प्रदेशका स्थानीय तह र ठाउँमा ग्राहकलाई मोबाइल ब्रोडब्याण्ड र गुणस्तरीय भ्वाइस सेवाको पहुँच अझ व्यापक बनाएको छ,’ एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने ।
यो विस्तारले देशव्यापी रुपमा ग्राहकका लागि फोरजी नेटवर्क पहुँच अझ सुदृढ बनाउने एनसेलको विश्वास छ । आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वासस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धताअनुरुप एनसेलले ग्राहकलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै २०७४ जेठबाट फोरजी सेवा शुरु गरेको थियो ।
यो सेवा ७७ वटै जिल्लामा विस्तार भइसकेको र कुल जनसंख्याको ९५ प्रतिशतभन्दा बढी जनताले लाभ लिइरहेको एनसेलले जनाएको छ ।
टिप्पणीहरू