स्वास्थ्यको सरुवासूची मुख्यमन्त्री कार्यालयमा अलपत्र

स्वास्थ्यको सरुवासूची मुख्यमन्त्री कार्यालयमा अलपत्र

कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयले गरेको सरुवासूची मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अड्किँदा १० जना कार्यालय प्रमुखको सरुवा रोकिएको छ। अनियमितता र विवादमा मुछिएका कर्मचारीसमेत समेटेर गरिएको सरुवाको सिफारिस डेढ महिनासम्म स्वीकृत नहुँदा स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन हुन सकेको छैन।

प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा २६ (१) बमोजिम स्वास्थ्य मन्त्रालयले गत मंसिर १७ गते सरुवाको निर्णय गर्दै सहमतिका लागि फाइल मुख्यमन्त्री कार्यालयमा पठाएको थियो। तर हालसम्म मुख्यमन्त्री कार्यालयबाट स्वीकृति नआउँदा सरुवा प्रक्रिया रोकिएको अवस्था छ ।

कर्मचारी स्रोतले केही अनियमिततामा विवादित कर्मचारीलाई जोगाउने उद्देश्यले सरुवा फाइल जानाजानी अड्काएर राखिएको बताएको छ । सरुवा कार्यान्वयन नहुँदा सम्बन्धित अस्पताल र कार्यालयहरू नेतृत्वविहीन बनेपछि स्वास्थ्य सेवा प्रवाह र प्रशासनिक कामकाज दुवैमा प्रत्यक्ष असर परेको छ।

स्वास्थ्य मन्त्रालयको निर्णय अड्किएपछि प्रदेश स्वास्थ्यमन्त्री भूपेन्द्र राई दबाबमा परेका छन्। स्रोतका अनुसार उनी यस विषयमा प्रत्यक्ष रूपमा मुख्यमन्त्रीसँग संवाद गर्ने तयारीमा देखिन्छन् । मन्त्री राईले औषधि खरिदमा अनियमितता पुष्टि भएका उदयपुर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. गम्भीर झालाई कारबाहीस्वरूप भोजपुर सरुवा गरेका थिए। 

यस्तै, झापाको लखनपुरस्थित प्रादेशिक आयुर्वेद अस्पतालमा पदपूर्तिमा अनियमितता गरेको आरोप लागेका कार्यालय प्रमुख डा. सिद्धार्थकुमार ठाकुरलाई पनि कारबाही गरिएको थियो। तर उनै ठाकुरलाई जोगाउने उद्देश्यले नै फाइल मुख्यमन्त्री कार्यालयले रोकेको बताइन्छ । मन्त्रालयले डा. ठाकुरको स्थानमा स्वास्थ्य निर्देशनालय धनकुटामा कार्यरत नवौँ तहका कन्सल्टेन्ट आयुर्वेद विशेषज्ञ डा. रविन्द्र निरौलालाई पठाउने निर्णय गरेको थियो।

सरुवासूचीमा जिल्ला अस्पताल पाँचथरका मेडिकल सुपरिटेन्डेन्ट डा. बुद्धिबहादुर थापा, जिल्ला अस्पताल सुनसरीका डा. अमिताभ ठाकुर, जिल्ला अस्पताल भोजपुरकी डा. अमृता श्रेष्ठसहित १० जना कार्यालय प्रमुखको नाम रहेको बुझिएको छ ।

टिप्पणीहरू