‘पुरुष गोदाम’ मा महिलाको खोजी
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीसम्बन्धी विवाद पार्टीभित्र भूसको आगोझैँ फैलिएको छ । बन्दसूचीमा परेका केही उम्मेदवारले नाम फिर्ता लिए पनि अधिकांशले विवादलाई नजरअन्दाज गरेपछि पार्टीलाई परिवर्तनको प्रतीक ठानेर समर्थन गर्दै आएका जेन जी युवाहरूमा असन्तोष बढेको छ ।
समानुपातिक प्रणालीमार्फत् सीमान्तकृत समुदायलाई प्राथमिकता दिनुपर्नेमा रास्वपाले ‘सेलिब्रेटी’हरूको बाहुल्य देखाएपछि सर्वत्र आलोचना भएको हो । गायिका त्रिशला गुरुङ, कार्यक्रम प्रस्तोता आशिफ शाह, युवा व्यवसायी सचिन ढकाल, मिलन लिम्बूलगायत सात जनाले नाम फिर्ताको घोषणा गरे पनि गायक प्रकाश सपुत, रिमा विश्वकर्माहरूले भने नाम फिर्ता लिने संकेत देखाएका छैनन्।
कुलमान घिसिङ संरक्षित उज्यालो नेपाल पार्टी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहसँगको एकतालाई समर्थन गर्दै आएकी जेन जी फ्रन्टकी संयोजक रक्षा बमले नयाँ दलहरूले समानुपातिक प्रणालीको मर्ममाथि धज्जी उडाएको भन्दै दुःख व्यक्त गरेकी छन्।
‘निश्चित वर्गको हालीमुहाली तोड्न र सदियौँदेखि असमान शक्ति वितरणका कारण पछाडि पारिएका समुदायहरूको उत्थान गर्न यो प्रणाली लागू गरिएको हो,’ उनले भनेकी छन्, ‘तर दुःखद कुरा के छ भने, हजारौँको बलिदानबाट प्राप्त यही समानुपातिक प्रतिनिधित्व प्रणालीलाई आज दलहरूले सांसद पद बिक्री गर्ने र आफ्ना नातेदार भर्ती गर्ने केन्द्र बनाइरहेका छन्।’
रास्वपामाथि समानुपातिक बन्दसूची पुनरावलोकन गर्नुपर्ने मात्र होइन, पदाधिकारीमका महिला चयन गर्नुपर्ने दबाब पनि बढेको छ। कुलमान र बालेन समूहका नेताहरूलाई व्यवस्थापन गर्न पार्टीले चार पदाधिकारी थप्ने निर्णय गरेको थियो। त्यसअनुसार कुलमान घिसिङ दोस्रो वरीयतासहित उपसभापति बनेका छन् भने बालेन साहलाई वरिष्ठ नेताको भूमिकामा राखिएको छ । तर थपिएका पदाधिकारीमध्ये एक महामन्त्री र एक सहप्रवक्ताको नाम अझै सार्वजनिक गरिएको छैन।
हालको पदाधिकारी टिममा एक जना मात्र महिला—लिमा अधिकारी छन्। बाँकी महामन्त्री र सहप्रवक्ता पदमा पनि पुरुषहरू नै चयन गरिएमा विवाद थप चर्किने अनुमान छ।
जेनजी अभियन्ता भावना राउतले ‘वैकल्पिक शक्ति’ भनिएकाहरू किन बारम्बार चुकिरहेका छन् ? भन्ने प्रश्न उठाउँदै गहिरो चिन्ता व्यक्त गरेकी छन्। ‘किन महिलाहरू आज पनि निर्णायक तहमा अटाउँदैनन् ? पुराना दलप्रति आशा त धेरै अघिनै सकिसक्यो, तर “नयाँ” र “वैकल्पिक” भनिनेहरूको अभ्यास पनि किन उही पुरानै ढर्रामा सीमित छ ?’ उनले प्रश्न गरेकी छन्।
उनको थप प्रश्न छ, ‘रवि लामिछानेको टिममा महिला छैनन्, बालेन, कुलमान र सुदनबाट बनेका संरचनाहरूमा पनि महिलाको उपस्थिति देखिँदैन। कस्तो मुलुक बनाउने सपना देखिँदैछ ? समान सहभागिता केवल भाषण र नाराका लागि मात्र हो ?’
उता कवि चन्द्रवीर तुम्बापोले त झन् रास्वपालाई ‘पुरुष गोदाम’को संज्ञा दिएका छन्। उनको प्रतिक्रिया छ, ‘आधा आकाश ओगट्ने महिलालाई पाखा लगाएर रास्वपाले पुरुष गोदाम बनाएको छ । हुँकार चाहिँ—हामी वैकल्पिक शक्ति हौं रे । लाज र सरम केही छैन, गफ मात्रै ठूलो।’
रास्वपाले हालै बालेन समूहबाट २६ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो । त्यसमा दुई जना मात्र महिला—अभिनेत्री लक्ष्मी वर्देवा र ओजस्वी थापा—छन्। कुलमान समूहका केही नेताहरूलाई पनि केन्द्रीय सदस्य बनाउने तयारी छ । तर उक्त समूहबाट कति महिला समेटिन्छन् भन्ने अझै स्पष्ट भइसकेको छैन।

टिप्पणीहरू