अधिवेशनमा अल्झिएको काँग्रेसमा खेल अझ रमाइलो

अधिवेशनमा अल्झिएको काँग्रेसमा खेल अझ रमाइलो

नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश समूहले यही पुस २७ गतेलाई बोलाएको विशेष महाधिवेशनको दिन नजिकिँदै जाँदा उत्पन्न अनेक तरङ्गसँगै अदृश्य खेलहरु देखिन थालेको छ । आगामी आइतबार राजधानीको भृकुटीमण्डपमा बोलाइएको विशेष महाधिवेशनमा जसरी पनि ५१ प्रतिशत प्रतिनिधि सहभागी गराउने थापा–शर्माको रणनीतिलाई संस्थापन पक्षले असफल बनाउन थालिसकेको छ ।

दुई पक्षको तानातानमा राष्ट्रपतिको कार्यालय शीतल निवाससमेत मुछिएको एकथरीको दावी छ । ‘विशेष महाधिवेशन भनिएको भेलामा जसरी पनि मान्छे ल्याइदिन राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेललाई प्रयोग गरियो,’ सभापति शेरबहादुर देउवा निकट स्रोतको आरोप छ । उनी भन्छन्, ‘काँग्रेस सुनसरीको जिल्ला कार्यसमिति सदस्य तथा भाइ अनिल पोखरेललाई प्रयोग गरिएको छ । त्यस्तो पहल शीतल निवासमा बसेकाहरुले अन्यत्र पनि गरेको पाइयो ।’

जिल्ला जिल्लामा काँग्रेस कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरुलाई ‘हैन, जसरी पनि जानपर्छ’ भनेर दवाव दिइएको उनीहरुको दावी छ । राष्ट्रपति कार्यालयलाई ‘मिस युज’ गरिएको वारे स्वयम् राष्ट्रपतिलाई थाहा छ छैन यकिन भएन । ‘सम्माननीय रामचन्द्र शेरबहादुरको विपक्षमा जान नपर्ने हो,’ स्रोतले अगाडि भन्यो, ‘राजधानी आउँदा के भो र ? पार्टी पो फुटाउन भएन त’ भन्ने सन्देशका साथ उपत्यका बाहिरबाट कार्यकर्ता बोलाउने क्रम शुरु भएको छ ।’

संस्थापन पक्षले २७ गतेको विशेष महाधिवेशनलाई ‘भेला’ को संज्ञा दिएको छ । उनीहरुका अनुसार बोलाइएका नेता तथा कार्यकर्ता हलभित्र छिरेर ५१ साल दोहोर्याइन सक्छ । छत्तिसे र चौहत्तरेमा विभाजित काँग्रेसीहरुलाई मिलाएर लैजान त्यतिबेलाको भेलामा सभापति किशुनजीले नै संकल्प प्रस्ताव पारित गर्न लगाएका थिए । ‘तपाइँहरुले गरेको निर्णय मेरो पनि हो’ भन्दै फुटको संघारमा पुगेको काँग्रेसलाई जोगाएका थिए । 

तर,गगन र विश्व आजका दिनसम्म पार्टी फुटाइहाल्नुपर्छ भन्ने मनस्थितिमा नरहेको निश्कर्ष छ । किनभने आजसम्म विशेष महाधिवेशनको कुनैपनि प्रस्ताव केन्द्रीय समितिमा पुगेको छैन । एकातिर माग गर्नेले माग गरेको,दस्तखत गर्नेले गरेपछि कार्यालयमा बुझाएको अवस्था नरहेको उल्लेख गर्दै सानेपा स्रोत भन्छ, ‘केन्द्रीय समितिमा यसबारे छलफल गरौं भनेर एजेण्डा टेबल भएको छैन ।’ यसबारे नेता कृष्णप्रसाद सिटौलाले पनि सार्वजनिक रुपमा उल्लेख गरिसकेका छन् ।

आजको बैठकमा गगनहरुले राष्ट्रिय सभाको आगामी निर्वाचनमा आफ्नो समूहको भाग बढाउनुपर्ने र समानुपातिक उम्मेदवार चयनमा भएको एकपक्षीय निर्णयलाई फागुन २१ गतेको प्रत्यक्ष निर्वाचनमा तोकिने उम्मेदवारको संख्यामा मिलाउनुपर्ने माग गर्नसक्ने सम्भावना पनि उत्तिकै छ ।

 यस्तो अवस्थामा दुई महामन्त्री गगन र विश्वले भेला गराएर त्यहाँँ भएको निर्णय केन्द्रीय समितिमा लैजाने र सदर गराउने वचन लिएर भेला सकिने मध्यमार्गीहरुको विश्लेषण छ । किनभने थापा र शर्मा दुबैको काँग्रेस फुटाएर चुनावमा जाँदा नजितिने निश्कर्ष छ । 

अर्काथरी काँग्रेसीहरुले भने उग्रताको कारण महामन्त्रीहरु बालेनलगायतको खरानी समूहसँग मिलेर चुनावमा जाने सम्भावना पनि उत्तिकै रहेको दावी गर्दछन् । त्यसरी चुनावमा जाँदा तीन दशकअघिको हालत दोहोरिने निश्चित छ । किनभने शेरबहादुररु एमालेसँग मिलेर जाँदा असन्तुष्ट समूह हार्नेछन्। 

अर्कोतर्फ सभापति शेरबहादुरले गगन पक्षधरहरुलाई थोरै मात्रै चुनावको टिकट दिने सम्भावना हालैको समानुपातिक घटनाक्रमले देखाइसकेको छ । त्यसैले शेरबहादुरले दिएको टिकटबाट चुनाव नलड्ने आशयसहित थापाले आगामी चुनावका लागि आफू उत्साहित नभएको धारणा व्यक्त गरिसकेका छन् ।

महामन्त्री थापाले त्यसो भने पनि चुनाव लड्ने मनस्थिति बनाएका गगन निकटहरुले आगामी आइतबारको भेलाबाट त्यस्तो निर्णय गर्न नदिने सम्भावना पनि उत्तिकै छ । काँग्रेसका एक जना पदाधिकारी भन्छन्, ‘माघ पहिलो साता हुने राष्ट्रिय सभा निर्वाचनमा गरिने गठबन्धनमा गगनहरुले स्पेस पाएको अवस्थामा कुल डाउन हुने सम्भावना उत्तिकै छ । त्यसैगरी आगामी निर्वाचनमा दिइने टिकटमा उनीहरुका मान्छेको संख्या बढेमा पनि अवस्था सहज हुनेछ । तर स्पेस पाएनन् भने उग्र ढंगले प्रस्तुत हुने निश्चित छ ।’ 

नेपाली काँग्रेसले आज बिहान पार्टी मुख्यालयमा कार्य सम्पादन समितिको बैठक बोलाएको छ । बैठकमा विवाद टुंगो लगाउन व्यापक छलफल र पहल हुने बताइन्छ । त्यसो हुँदा विशेष महाधिवेशन ‘प्याच अप’ गर्ने, विशेष महाधिवेशन भनिएको कार्यक्रमलाई भेलामा फेर्ने, १५ औं महाधिवेशनमा गगनलाई पार्टी सभापतिको रुपमा अघि सार्ने र पार्टीका तर्फबाट आगामी प्रधानमन्त्रीमा थापाको नाम तय गरिएको निश्कर्ष निकालेर मध्यमार्गी पहल हुने केहीको बुझाइ छ ।

आजको बैठकमा गगनहरुले राष्ट्रिय सभाको आगामी निर्वाचनमा आफ्नो समूहको भाग बढाउनुपर्ने र समानुपातिक उम्मेदवार चयनमा भएको एकपक्षीय निर्णयलाई फागुन २१ गतेको प्रत्यक्ष निर्वाचनमा तोकिने उम्मेदवारको संख्यामा मिलाउनुपर्ने माग गर्नसक्ने सम्भावना पनि उत्तिकै छ । यति हुँदा पनि माहोल सहमतितर्फ अघि नबढे पार्टी फुट्ने सम्भावना अधिक रहने काँग्रेस संस्थापन पक्षको निश्कर्ष छ ।
 

टिप्पणीहरू