कांग्रेस–एमालेबीच पनि हुन्छ त तालमेल
रवि, कुलमान र बालेनले मिलेर आफूहरूलाई पछार्ने बुझेपछि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच पनि ८२–८२ सिटमा मिलेर लड्ने तयारीबारे छलफल भएको बुझिएको छ । तल कार्यकर्ता र समर्थकले मतदान गर्छन् वा गर्दैनन् भन्ने प्रष्ट नभई यी दुई ठूला पनि पनि आपसी तालमेलको चक्करमा छलफलमा जुटेको स्रोत बताउँछ ।
‘यिनीहरु भयकंर डराएका छन् । मिल्न सक्छन् । कांग्रेससँग ८२, ८२ वा ८०,८५ मा कुरा भइरहेको चर्चा हामीले पनि सुनेका छौं’ एमाले एक नेताको दावी छ । तर यो हुने र पार लाग्ने कुरै नभएको ती नेता बताउँछन् । ‘यस्तो गरी कांग्रेस–एमाले चुनावमा गए सबभन्दा बढी फाइदा रास्वपालाई हुन्छ । हामीले टाउको मिलाउँदैमा जनताले तल त्यो खालको मतदान गर्छन् ? यसरी तालमेल गरे त कांग्रेस एमाले नै सोत्तर हुन्छन्,’ एमालेका ती प्रभावशाली नेताले भने, ‘केही सिट त ल्याउलान् तर जनताले भोट कसरी हाल्लान् ? कुनै ठाउँमा एमालेको उम्मेदवारलाई त टिकट दिनुभएन, काङ्ग्रेसलाई दिनुप¥यो अनि ती नदिएका एमालेको भोट कता जान्छ ? तिनका समर्थकले कता मत खसाल्छ ?’
दुई ठूला दल मिल्नु भनेको लोकतन्त्रकै हुर्मत लिनु बराबर भएको नेताहरु बताउँछन् । ‘चुनावमा त आ–आफ्नो घोषणापत्र अगाडि सारिन्छ मिल्ने कुन सैद्धान्तिक प्रस्तावनाका आधारमा हो ? बिना सैद्धान्तिक आधारको चुनाव लड्नलाई कुन घोषणापत्र जारी गर्ने हो ? अनि चुनाव जितिसकेपछाडि के हुन्छ ?’ एमालेका तीन नेता भन्छन्, ‘चुनाव जितिसके पछाडिको एलायन्स एउटा कुरा भयो अगाडिको गठबन्धन असैद्धान्तिक र दुवै पार्टीका लागि घातक हुन्छ ।’
अघिल्लोपटक कांग्रेस र माओवादी मिलेर घेराबन्दी गर्दा नतिजा एमालेको पक्षमा आएको ती नेता बताउँछन् । एमालेलाई घेराबन्दी गर्दा समानुपातिकतर्फ काँग्रेस आफैं दोस्रो भयो । एमालेले एक्लै चुनाव लड्दाखेरि उनीहरू नमिलेको भए त्यति सिट ल्याउँथ्यो कि ल्याउँदैन थियो । ०७९ मा कांग्रेस प्रत्यक्षतर्फ पहिलो दल हुँदा समानुपातिकमा एमाले दुई सिट अगाडि भयो ।
रवि, बालेन र कुलमानजस्तो आफ्नो पार्टी कमजोर जनाधारवाला नभएको भन्दै एमालेका ती नेता पहिले नै पराजित मानसिकता देखाउँदा चुनावमा घाटा हुने बताउँछन् ।
‘नयाँहरुले भर्खर पार्टी बनाउँदै छन्, कतिको पार्टी नै छैन, व्यक्ति–व्यक्ति मिलेको अवस्था हो । अनेकौं सम्झौता भइराख्या छ । बालेन र कुलमानहरु पार्टीभन्दा बढी व्यक्ति हुन् । रविको मात्रै पार्टी हो । तर त्यसैबाट डराएर कांग्रेस–एमाले चुनावमा गए भने शुरुमै हारेको म्यासेज जान्छ’ तिनै नेताले भने, ‘अनि शुरुमै हारेको पार्टीले कहाँबाट चुनाव जित्छ ?’
उम्मेदवारीमै हारेको मान्छेले परिणाम दिन नसक्ने भन्दै एमाले र कांग्रेसका नेताहरु असन्तुष्ट छन् । हेर्दै जानु, काङ्ग्रेसभित्र ठूलो विरोध हुन्छ । एमालेमा पनि विरोध हुनेछ ।’ ती नेताका अनुसार तालमेल हुँदा हाल ओली विरुद्ध कित्तामा रहेका गोकुल बास्कोटाले कांग्रेसका महेश खरेललाई छोड्नुपर्ने हुन्छ । यस्तो हुँदा एमालेमा झन् बढी तनाव बढेर रास्वपाले निर्वाचन जित्ने अवस्था रहन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले २१ फागुनको निर्वाचनमा मज्जैले जित्ने हिसाब निकालिएको छ । दोस्रो पटक अन्य वैकल्पिक दल र नेताको अनुहार लिएर निर्वाचनमा होमिन लागेको रास्वपाले पचास सिट हटाउने हिसाब निकालेको स्रोत बताउँछ ।
‘सिके राउत र रेशम चौधरी विना नै यिनीहरूको झन्डै ५० सिट ल्याउने हिसाब छ,’ एमालेका एक नेता भन्छन्, ‘अघिल्लो चोटी रविले एक्लैले ७ प्रत्यक्ष र १४ समानुपातिक गरी २१ सिट जित्दा समानुपातिक मत ११ लाख ३० हजार थियो ।’
माओवादीको भन्दा ५० हजार मात्रै कम मत ल्याउँदा रास्वपाले कुल मतको १० प्रतिशत सुरक्षित गर्न सकेको थियो । त्यही हिसाबमा यसपटक तीन चार तत्व जोडिँदा ५० सिट कटाउने हिसाब रहेको छ । समानुपातिकमा ५० प्रतिशत भनेको ५० देखि ५५ सिट हो । जुुन ११० को आधा हुन आउँछ । नयाँहरु एक ठाउँमा उभिँदा झण्डै ४५ देखि ५० सिट प्रत्यक्ष जित्ने उनीहरुको दावी छ ।
‘समानुपातिक ५५ र प्रत्यक्ष ४५–५० आयो भने १०० सिट भयो । अब नेकपाको आउने भनेको १४–१५ सिट हो । उनीहरुले अन्तिमसम्म कांग्रेस र एमालेलाई साथ दिँदैनन्,’ स्रोत भन्छ, ‘यस्तोमा ११५ जति सिट हाम्रो हुन्छ भन्ने बुझाइ रास्वपाको छ । यसमा २५ देखि ३० सिट जुटाउँदा बहुमत पु¥याउन सकिने हिसाब निकालेका छन् ।’
यो भनेको केही मधेसी र क्षेत्रीय दललाई तानेर सरकार नै बनाउन सकिने गणित भएको स्रोत बताउँछ । ‘११५ सिट हुँदा मधेशवादी र केहीलाई तानेर सरकार काङ्ग्रेस–एमालेबाहेकको नै बनाउन सकिन्छ भन्नेमा छन् । आवश्यक पर्दा राप्रपालाई समेत जोडिदिए पनि भयो,’ स्रोतले भन्यो, ‘राप्रपाको अघिल्लो चोटी जतिको मत आउँदैन किनभने स्वतन्त्रले तानिन्दिन्छ ।’ यसअघि एमालेसँग तालमेल गरेर राप्रपाले १४ सिट पु¥याएको थियो । आउने निर्वाचनमा एमाले राप्रपासँग तालमेल गर्न धेरै इच्छुक नभएको अवस्था छ । यसपटक एमाले अध्यक्ष केपी ओली र राप्रपा मिले पनि कार्यकर्ताले भोट नहाल्ने नेताहरु बताउँछन् ।
‘दुइटा टाउको मिलेर के हुन्छ ? तल भोट हाल्दैनन् । ‘एमालेले झापामा राप्रपालाई साथ दिएर उम्मेदवार बन्दा कृष्ण सिटौलाका छोरा श्यामले बाजी मार्न सक्छन् ।
(जनआस्था साप्ताहिकको पुस १६ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू