व्यापारीको घरमा पाँच घण्टापछि बाचा कबोल
नेकपा (एमाले) छोडेर रवि लामिछानेको रास्वपातिर जान कस्सिएका पूर्वसांसद वासुदेव घिमिरेले निर्णय फेरेका छन् ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलसँगको लामो छलफलपछि उनी एमालेमै बस्न राजी भएका छन् । बताइएअनुसार गृहजिल्ला रुपन्देहीका प्रभावशाली नेताहरूले धमाधम पार्टी छोड्न थालेपछि अप्ठेरोमा परेका पौडेल र घिमिरेवीच हिजो मन माझामा भएको हो ।
०७९ मा रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित घिमिरेले अस्ति समाजिक सञ्जालमार्फत् एमाले छोडेको घोषणा गरेका थिए । उनलाई रास्वपामा प्रवेश गराएर रुपन्देही- २ बाट चुनाव लडाउन लागेको चर्चासमेत चलेको थियो ।
रुपन्देही-२ पौडेलले जित्दै आएको क्षेत्र हो । आफ्नै कार्यकर्तालाई अघि सारेर रास्वपाले चुनौती दिन लागेको बुझेपछि उनी हिजो काठमाडौँबाट आकस्मिक रुपमा रुपन्देही पुगेका थिए । पौडेलले हिजो साँझ फेसबुकमा ‘हामी सँगै छौँ’ भन्दै शेयर गरेको तस्वीर तिलोत्तमा नगरपालिकाको योगीकुटीस्थित व्यापारी कमल पौडेलको घरमा खिचिएको हो । त्यहाँ घिमिरेसँग उनको पाँच घण्टा ‘वान टु वान’ वार्ता भएकाे बताइएकाे छ ।
स्रोतका अनुसार घिमिरेले एमाले छाडेको घोषणा गरेकै दिन रुपन्देहीका केही नेता पौडेललाई भेट्न पुगेका थिए । विगतमा घिमिरेकै सहयोगमा त्यहाँबाट चुनाव जित्दै आएका उनलाई नेताहरूले ‘उहाँका मान्छे धेरै छन्, नरोक्ने हो भने तपाईं चुनाव नलडे हुन्छ’ भनेको स्रोतले बतायो । त्यसपछि पौडेलले घिमिरेसँग फोनमा लामो कुराकानी गरेका थिए । त्यसपछि भेटेरै कुरा गर्ने सहमति भएबमोजिम हिजो छलफल भएको हो ।
उपाध्यक्ष पौडेल र घिमिरेबीच के सहमति भयो भन्ने खुलाइएको छैन । तर स्रोतको दावी छ, ‘सम्भवत: ३ नम्बरमा उहाँ (घिमिरे)लाई टिकट दिने बाचा गरिएको हुनसक्छ । पार्टीमा पनि राम्रै जिम्मेवारी दिलाउने कुरा भएको बुझिएको छ ।
टिप्पणीहरू