किचलो मिलाउन काँग्रेस नेताहरू एक ठाउँ
नेपाली काँग्रेसको कार्यसम्पादन समिति बैठक शुरु भएको छ ।
महाधिवेशनसम्बन्धी जारी विवादका बीच पार्टी अपर्झट बोलाइएको बैठक मुख्यालय सानेपामा अहिले जारी छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यसअघि संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको कार्यतालिका स्थगित गरेको घोषणा गरेका थिए ।
महामन्त्रीहरूले विशेष महाधिवेशनको विकल्प अघि सारेपछि काँग्रेसभित्र किचलो बढेको छ । यसै सन्दर्भमा सभापति शेरबहादुर देउवा पक्षबाट कार्यसम्पादन समिति बैठक बोलाइएको हो ।
बैठकअघि दुवै पक्षका नेताहरूले आन्तरिक छलफल गरेका थिए । संस्थापन पक्षले महामन्त्रीहरूको निर्णयलाई व्यक्तिगत भनेर आलोचना गरेको छ भने विशेष महाधिवेशन पक्षधरले भने विधान र पार्टीको रक्षा गर्न यो कदम चाल्नुपरेको तर्क गरिरहेका छन् ।
जारी बैठकमा महाधिवेशनको कार्यतालिका, विशेष महाधिवेशनको सम्भावना र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । काँग्रेसको यो विवादले आगामी निर्वाचनअघि नेतृत्व र रणनीतिमा प्रभाव पार्ने देखिन्छ ।
टिप्पणीहरू