विप्लव र वर्षमान, कसले कब्जा गर्ला मैदान ?

एउटै जन्मथलो । एउटै पृष्ठभूमि । अनुभव पनि करिब उस्तै । दुवै लडाकू । कुनै बेलाका अच्छाखासा दोस्त,तर आगामी निर्वाचनमा एक-अर्काका प्रतिस्पर्धी !

प्रसंग हो, नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन अनन्त र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवको । भूमिगतबाट खुला राजनीति हुँदै पहिलोपल्ट संसदीय निर्वाचनमा होमिएका विप्लवले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन रोल्पाबाट लड्ने तयारी गरेपछि यतिबेला जिल्लाको राजनीति गर्माएको छ । विश्वस्त स्रोत भन्छ, ‘फागुन २१ को चुनावमा विप्लव रोल्पाबाट उम्मेदवार बन्ने प्रवल सम्भावना छ ।

यदि विप्लव रोल्पाबाट उम्मेदवार बनिहालेमा जितको सम्भावना कति छ ? पार्टीहरूको विगतको अवस्था कस्तो छ ? कांग्रेस र एमालेले के गर्लान् ? जिल्लामा एकछत्र वर्चस्व कायम गर्दै आएको तत्कालीन माओवादी केन्द्र (अहिले नेपाली कम्युनिष्ट पार्टी)का सम्भावित उम्मेदवार  वर्षमानलाई कस्तो असर पर्ला ? यो सामाग्रीमा यीनै विषयबारे संक्षिप्त चर्चा गरिनेछ ।

प्रथमतः वर्षमान र विप्लव दुवैको घर रोल्पा हो । ०२४ फागुन ११ गते इरिबाङको केवरीमा जन्मिएका विप्लव अहिले ५८ वर्षका भए भने ०२८ मा माडिचौरमा जन्मिएका वर्षमान ५४ वर्षमा दौडिरहेका छन् ।

०३९ सालमा अखिल छैठौँबाट सक्रिय राजनीतिमा होमिएका विप्लवको परिवार ०४५ सालमा बसाइँ सरेर कपिलवस्तु झरेको थियो । ०५४ सालमा कर्णाली उपक्षेत्रीय ब्युरो इञ्चार्ज बनेका उनी ०५५ भदौमा बसेको तत्कालीन माओवादीको विस्तारित बैठकबाट केन्द्रीय सदस्य बने । ०५९ सालमा पोलिटब्युरो सदस्य हुँदै सैन्य कारवाहीमा खटिएका उनले ०६१ मा रोल्पा-रुकुम आधार इलाका विशेष ब्युरो इञ्चार्जको जिम्मेवारी सम्हालेका थिए ।

सेती-महाकाली क्षेत्रीय ब्युरो इञ्चार्ज हुँदा कालिकोटमा तत्कालीन शाही सेनाको ‘थ्री नट थ्री’ राइफल कब्जा गर्न सफल भएका उनको त्यसपछि पार्टीभित्र एकाएक चर्चा चुलिएको थियो । युद्धकालमा अध्यक्ष तथा सुप्रिम कमाण्डर प्रचण्डको अति विश्वासपात्रमध्येका एक थिए विप्लव ।   तर, शान्ति सम्झौतामा आउने पार्टीको निर्णयप्रति असन्तुष्ट उनको त्यसयता भने प्रचण्डसँग दूरी बढ्न थाल्यो । पार्टीभित्रको अन्तरविरोधमा उनी मोहन वैद्य किरणको कित्तामा उभिन थाले । माओवादीको बहुचर्चित बालाजु विस्तारिक बैठकमा उनले खुलेर किरणलाई साथ दिए । सो बैठकमा प्रचण्ड-बाबुरामको शान्ति र संविधानको लाइनविरुद्ध किरणले बिद्रोहको फरक मत राखेका थिए । 

प्रचण्डसँग असन्तुष्ट बन्दै गएका किरण, रामबहादुर थापा बादलहरुले ०६९ मा पार्टी फुटाउँदा विप्लवले पनि उनीहरूसँगै बाटो बदले । यद्यपि, उनी वैद्य र बादलसँग पनि लामाे समय टिक्न सकेनन् । र, ०७१ मा आफ्नै नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी गठन गरे । रोचक के छ भने ०७५ मा बादल गृहमन्त्री हुँदा नेकपामाथि सरकारले प्रतिबन्ध लगायो । र, विप्लवहरू भूमिगत हुन बाध्य भए । ०७७ फागुनमा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले नेकपामाथिको प्रतिबन्ध हटाउने निर्णय गरेपछि विप्लव खुला राजनीति हुँदै संसदीय निर्वाचनमा भाग लिने आजकाे परिस्थितिसम्म आइपुगेका हुन् ।

सायद, एमाले नेतृत्वको सरकारले प्रतिबन्ध फुकुवा गरेकाले होला, पछिल्लो समय विप्लव एमाले र त्यसकाे नेतृत्वप्रति लचिलाे बनेकाे देखिन्छन् । हालसालै सर्वपक्षीय सरकार गठनको माग गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई अल्टिमेटम दिएको नेकपाले आगामी निर्वाचनमा घोषित वा अघोषित रुपमा एमालेसँग चुनावी तालमेल गर्नसक्ने सम्भावना रहेको सो पार्टीकै नेताहरु बताउँछन् ।

उता वर्षमान पनि बाहिर जति शालिन र भद्र देखिन्छन्, उत्तिकै चतुर छन् । ०४१ सालमा विद्यार्थी राजनीति हुँदै ०४६ सालमा पूर्णकालीन भएका उनी ०४९ मा पार्टीको रोल्पा जिल्ला सक्रेटरी थिए । तत्कालीन माओवादीले ०५२ साल फागुन १ गते होलेरी चौकी आक्रमण गरेर औपचारिक रुपमा जनयुद्धको सुरुआत गर्दा कमाण्डर थिए वर्षमान । ०६० फागुन १९ मा माओवादीको पूर्वी डिभिजनले भोजपुरको सदरमुकामस्थित प्रहरी चौकी कब्जा गर्दा होस् वा ०६२ माघ १ गते थानकोट र भक्तपुरको दधिकोटमा आक्रमण गर्दा होस्, त्यसको रणनीतिकार उनै थिए ।

शान्ति सम्झौतापछि वर्षमानले विप्लवले जस्तो पार्टी फुटाएर भूमिगत भने हुनु परेन । प्रचण्डकै छत्रछायाँमा रहेर पार्टीमा महत्वपूर्ण अवसर पाउँदै आएका उनी चार पटक मन्त्री बनिसकेका छन् । ०६७ मा शान्ति तथा पुननिर्माण र युवा तथा खेलकुदमन्त्रीबाट सिंहदरबार यात्रा सुरु गरेका उनले त्यसयता दुई पटक अर्थमन्त्री र एक पटक उर्जामन्त्रीमा नाम लेखाइसके ।

दुवैको विगत र राजनीतिक पृष्ठभूमि खोतलीसकेपछि पुनः फर्किऔँ रोल्पामा हुने सम्भावित प्रतिस्पर्धातिरै । ०७४ को निर्वाचनयता वर्षमान लगातार फराकिलो मतान्तरसहित प्रतिनिधिसभा सदस्य निर्वाचित हुँदै आएका छन् । ०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार (हालका प्रदेश सभापति) अमरसिंह पुनले १९ हजार ९०६ मत ल्याउँदा वर्षमान दोब्बर बढी ४० हजार ६७४ मतसहित निर्वाचित भएका थिए । ०७९ को चुनावमा पनि उनले निकटतम प्रतिस्पर्धी एमालेका पूर्णबहादुर बुढालाई दोब्बर मतान्तरले पराजित गरे । वर्षमानले ४१ हजार ७१४ मत ल्याउँदा बुढा १६ हजार ४८५ मै सिमित भए ।

आसन्न निर्वाचनमा वर्षमान यो विरासत जोगाउन लागिपर्नेछन् भने एमाले र कांग्रेस त्यसलाई भत्काउने प्रयासमा हुनेछन् । यसअघि स्थानीय निर्वाचनमा जिल्लाका केही पालिकामा माओवादीविरुद्ध गठवन्धन गरेका दुई पार्टीका नेताहरू आन्तरिक छलफलमा जुटिसकेका छन् । माओवादीको बर्चस्व तोड्न विप्लवलाई अघि सार्ने रणनीतिसहित कांग्रेस-कांग्रेस नेताहरूले छलफल थालेको स्रोतले बताएको छ ।

‘नेकपा (माओवादी) ले चुनावमा भाग नलिएको भए कांग्रेस र एमालेले सहमतिमा आफ्नै उम्मेदवार उठाएर माओवादीसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता हुन्थ्याे’, स्रोत भन्छ, ‘तर विप्लव कमरेडहरू नै चुनाव भाग लिने भएपछि यो पटक दुई पार्टी पैसा खर्च नगर्ने मनस्थितिमा छन्, बरु विप्लव कमरेडलाई सहयोग गर्नेगरी छलफल अघि बढिरहेकाे छ ।’

नेकपाविरुद्ध कांग्रेस, एमाले र विप्लव समूहबीच गठबन्धनको वातावरण गराउने काम भने गोकुल घर्तीले गरिरहेका छन् । एमाले पूर्वपोलिटब्यूरो सदस्यसमेत रहेका उनले पार्टीको पछिल्लो बैठकमा विप्लवलाई आँखा बन्द गरेर सहयोग गर्ने बताएकाे दावीसहित सोही स्रोतले थप्यो, ‘माथि संघमा के हुन्छ, थाहा छैन, तर यहाँ चाहिँ विप्लवलाई अघि सारेर जाने कुरा भएको छ !’

 ०७९ को स्थानीय तहको निर्वाचनमा पनि थवाङ गाउँपालिकामा एमाले, कांग्रेस र विप्लव समूहले माओवादीविरुद्ध गठबन्धन गरेका थिए । उनीहरूले विप्लवका स्थानीय कार्यकर्ता दर्जित रोका मगरलाई स्वतन्त्र उठाएर साझा उम्मेदवार बनाएका थिए । तर, माओवादीका ऋषिकेश बुढा साढे ६ सयभन्दा बढी मतसहित अध्यक्ष निर्वाचित भए ।

रोल्पाबाट चुनाव लड्ने विषयमा विप्लव स्वयं पनि सकारात्मक रहेको बुझिएको छ । सो पार्टीका एक नेता भन्छन्, ‘यसबारे छलफल भइरहेको छ, उहाँ सकारात्मक हुनुहन्छ, तर अझै केही दिनको माहोल हेरेरमात्रै निर्णय गर्ने कुरा भएको छ ।’ यदी विप्लव र वर्षमान चुनावी मैदामा उत्रिए भने प्रतिष्पर्धा रोचक हुने अनुमान गरिएको छ । त्यस्तो स्थितमा वर्षमानलाई विरासत जोगाउनुपर्ने चुनौती बढ्दा विप्लवका लागि जनताबाट अनुमोदन हुनुपर्ने दबाब हुनेछ ।

माओवादी जनयुद्धका क्रममा स्वयंसेवक दल, सुरक्षा दल र जनसेना बनाएर फौजी आक्रमणका विभिन्न रणनीति बनाउने गर्थ्यो । त्यतिबेला रणनीति निर्माणको अग्रपंक्तिमा उभिएका वर्षमान र विप्लव दुवैसँग सैन्य कमाण्डको रामै अनुभव छ । तर, चुनावी रणनीतिमा भने को अब्बल ठहरिन्छ, फागुन २१ पछि नै थाहा हुनेछ ।

टिप्पणीहरू