हिजोको सम्झौतामा आज सही धस्काउँदै जेनजीहरू
जेनजी आन्दोलनलाई संस्थागत मान्यता दिन हिजो भएको १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर गर्न छुटेकाहरूलाई आज सिंहदरबार बोलाइएको छ । प्रधानमन्त्री कार्यालयमा उनीहरूको आज छुट्टै हस्ताक्षर गराइएको हो ।
हिजो साँझ प्रधानमन्त्री सुशीला कार्कीको विशेष उपस्थितिमा सरकार र जेनजी प्रतिनिधिबीच सम्झौता भएको थियो । जेनजीको तर्फबाट सुधन गुरुङ, रक्षा बम, साङ्केन राई, जनक नेपाली, अपेक्षा तुलाधर, प्रदीप पाण्डे, राजेन्द्र अधिकारी, मोनिका न्यौपाने, आशिष राई, जीवन कार्की, पेमा वाङ्बो लामा, अनुपा खनालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
हिजो सही गर्न छुटेका जेनजी आन्दोलनका दुई दर्जन घाइतेले आज प्रधानमन्त्री कार्यालयका सचिव गोविन्द बहादुर कार्कीको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरेका हुन् । जसमा दिपक भाट, सुरज अधिकारी, सूर्यसन प्रजापति,ललितमान तामाङ, स्मृति राई,संगिता लामा,ऐनबहादुर कठायत, विजेश तामाङ,रामचन्द्र चर्माकार,सुमन बोहरा,आरेण अधिकारी,अशोक राई,लोकराज उपाध्याय,पवन अधिकारी,रिजेन रानामगर,भरत खड्का,प्रेमबहादुर सिंह,विजय अधिकारी,प्रतिश श्रेष्ठ,सूर्यबहादुर खत्री,आयश विक रहेको बताइएको छ ।
१० बुँदे सम्झौतामा जेनजी आन्दोलनलाई जनआन्दोलनको मान्यता दिनेदेखि आन्दोलनका क्रममा भएको बल प्रयोगको निष्पक्ष छानवीन, संविधान संशोधनका लागि आयोग गठन, भ्रष्टाचार नियन्त्रणलगायतका विषय सम्झौतामा समेटिएका छन् । तर, सम्झौताका कतिपय बुँदालाई लिएर जेनजी समूहभित्रै असन्तुष्टि चर्किएको छ ।
टिप्पणीहरू