महाधिवेशनले नेतृत्व फेर्ने विष्टको विश्वास

महाधिवेशनले नेतृत्व फेर्ने विष्टको विश्वास फाइल फाेटाे

नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीमा आन्तरिक लोकतन्त्रको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । प्रतिष्पर्धा गर्नेलाई पार्टीको हित नचाहने व्यक्तिकारूपमा चित्रित गरिएको भन्दै उनले गुनासो गरे ।

एघारौँ महाधिवेशन सन्दर्भमा आज काठमाडौँमा आयोजित अन्तरसंवाद कार्यक्रममा विष्टले भने, ‘हामी पार्टीभित्र स्वच्छ प्रतिष्पर्धा गर्छौ, अमर्यादित ढंगले प्रतिष्पर्धा गर्न चाहँदैनौँ । तर प्रतिष्पर्धा गर्ने व्यक्तिहरूले पार्टीको हित चाहेका छैनन् कि भन्ने प्रकारको भाष्य खडा गर्न खोजिँदैछ ।’  

आसन्न महाधिवेशनमा इतरखेमाबाट महत्वपूर्ण पदमा उठ्न लागेका उनले पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा गर्न चाहेको तर, ‘संकटमा प्रतिस्पर्धा गर्ने व्यक्तिहरू पार्टीको हित नचाहने’ भन्ने प्रकारको भाष्य खडा गर्न खोजिएको दुखेसो पोखे । 

संकटले परिवर्तन ल्याउने र नयाँ नेतृत्व निर्माण गर्ने बताउँदै उनले देशमा संकट छ भने त्यसपछाडिको कारण खोज्नुपर्नेमा पनि जोड दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीतर्फ इंकित गर्दै भने, ‘देशमा संकट छ भने यो संकटका पछाडिको कारण के हो ? यो संकटको पछाडिको मुख्य जिम्मेवारी कसको छ ? यो सब चिजको हामी गम्भिरताका साथ समीक्षा गर्छौँ ।’

विष्टले वर्तमान संकटको सामना गर्नको लागि एमालेमा नेतृत्व रुपान्तरण आवश्यक रहेकोमा जोडसमेत दिएका छन् । जनता र समयले नेतृत्व हस्तान्तरणको माग गरिरहेको बताउँदै उनले व्यक्ति भन्दा संरचना बलियो हुनुपर्ने धारणा राखे । 

देशभरबाट आउने महाधिवेशन प्रतिनिधिले पार्टीभित्रको परिस्थितिलाई बुझेको र यथास्थितिमा कायम नराख्ने विष्टको विश्वास छ । देशका चुनौतीलाई सम्बोधन गर्ने, जनताको अपेक्षा पूरा गर्ने र निर्वाचनमार्फत अहिलेको संवैधानिक संकटलाई समाधान गर्नेतिर एमाले लाग्ने उनले बताए ।

त्यसका लागि युवा पुस्ता पार्टीको नेतृत्व लिन तयार हुनुपर्ने स्पष्ट पार्दै विष्टले ४० वर्ष मुनीका युवालाई केन्द्रीय समितिमा ल्याउन आफूहरूले पहल गर्ने प्रतिवद्धता पनि जनाएका छन् । नेतृत्वमा भएको जामले पार्टीभित्र युवाहरुको आकर्षण घट्दै गएको उनको भनाइ छ ।
 

टिप्पणीहरू