विदेशको नेपाली सैनिक ब्यारेकमा "बम बार्डिङ्ग "?
नेपालले संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ विभिन्न द्वन्द्वग्रस्त मुलुकमा सैनिक पठाउँदै आएको छ । सन् १९५५ मा युएनको सदस्य बनेदेखि नै नेपालले शान्ति स्थापनार्थ सैनिक पठाउन थालेको हो । शान्ति सेनामा सैनिक पठाउनेमा नेपाल अग्रणी स्थानमा पर्छ । नेपालले हालसम्म सिरिया, इराक, लिबिया, कंगो, हैटी, लेबनान, सुडान, दक्षिण सुडान, इजरायल, माली, इथियोपियालगायत द्धन्द्धग्रस्त मुलुकमा शान्ति स्थापनार्थ काम गरिसकेको छ ।
अहिले पनि नेपाली सैनिक दर्जनौं मुलुकमा शान्ति स्थापनार्थ खटिएका छन् । शान्ति स्थापनार्थ सैनिक पठाएर नेपालले विश्व शान्तिमा ठूलो योगदान गरिरहेको छ । व्यवसायिक, मिलनसार र अनुशासित भएकाले नेपाली सैनिक संयुक्त राष्ट्रसंघ र द्वन्द्वग्रस्त मुलुकका नागरिकको पहिलो रोजाइमा पर्ने गर्दछन् । यता, सेनामा जागिर खाने हरेकको सपना एकपटक भएपनि शान्ति मिसनमा जाने हुन्छ । तर, शान्ति मिसन सोचेजति सजिलो छैन । शान्ति स्थापनार्थ गर्ने क्रममा हालसम्म दर्जनौं नेपाली सैनिकले ज्यान गुमाइसकेका छन् भने अंगभंग हुनेको संख्या पनि उस्तै छ ।
प्रायःजसो सैनिकको विद्रोही समूहले हानेको गोली लागेर मृत्यु भएको छ । तैपनि, आफ्नो ज्यानको बाजी राखेर सैनिकहरु द्धन्द्धग्रस्त मुलुकमा शान्ति स्थापना गरिरहेका छन् । हालै लेबनानको एउटा भिडियो सार्वजनिक भएको छ । त्यहाँ शान्ति स्थापनार्थ खटिएका सैनिकले बनाएको सो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त भिडियोमार्फत एक नेपाली सैनिकले त्यहाँको अवस्था देखाएका छन् । ‘युनाइटेड नेशन्स् इन्टरिम फोर्स इन लेबनान (युनिफिल)’ मिसनमा तैनाथ ती सैनिकले बल्लतल्ल ज्यान जोगाएको बताएका छन् ।
३४ नम्बर पोष्टमा बमबारी हुँदा सबै ध्वस्त भएको ती सैनिकको जिकिर छ । भात पकाएर खाने ठाउँसमेत नभएको उनको गुनासो छ । उनले भनेका छन्,‘लेबनानको हालत यस्तो छ । ३४ नम्बर पोष्टमा, भान्साको हालत यस्तो छ, भात खाने ठाउँको हालत यस्तो छ, भित्र हेरिसक्नु छैन, बाहिर बम हानेको, गाडीको हालत यस्तो छ, बिजोग छ एमबीपीको हालत, जलेर ध्वस्त छ, धन्न बाँचियो ।’ त्यस्तै, उनले सिसा फुटेको गाडी, लाइटको दृश्य पनि देखाएका छन् । त्यस्तो अवस्थाका बाबजूद आफ्नो ड्युटी निर्वाह गरिरहेको भन्दै नेपाली सैनिकहरुको प्रशंसा भइरहेको छ ।
भुपेन्द्र पाली मगरले नेपाली सैनिकलाई चनाखो भएर बस्न आग्रह गरेका छन् । उनले लेखेका छन्,‘त्यो ३४ नम्बर पोष्ट अलिक खतरा छ, ५४ औं डफ्फामा म पनि त्यहीँ बसेको थिएँ, सबै नेपाली दाजुभाइहरु अलिक चनाखो भै बस्नुहोला ।’ लेबनानमा केही सातायता अशान्ति छ । राष्ट्रसंघका अधिकारीले १७ नोभेम्बरमा पत्रकार सम्मेलन गर्दै लेबनानको घटनाप्रति आफूहरु निकै गम्भीर रहेको बताएका थिए ।
त्यहाँ बमबारी हुँदा पुरै शहर नै ध्वस्त भएको छ । यता, सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले सो एआई जेनेरेटेड भिडियो हुनसक्ने बताए । लेबनानमा त्यस्तो कुनै घटना भएको जानकारी प्राप्त नभएको उनको भनाइ छ । जनआस्थासँग उनले भने,‘म ६ महिनादेखि डिपिआरको प्रवक्ता छु । मलाई त्यस्तो कुनै जानकारी छैन । त्यो एआई जेनेरेटेड भिडियो हुनुपर्छ ।’
http://https://www.facebook.com/share/r/19mQdxRT1V/
टिप्पणीहरू