सडकमा दौडनेलाई लाखौँमा सेकिँदै
गाउँँ गाउँँमा अराजकता र गैरकानुनी असुलीले संस्थागत मान्यता पाउँदै गएको छ । सरकारले बनाएको सडकमा दौडिएबापत लाखौँ चन्दा उठाइन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ तर पोखरा महानगरपालिकाभित्रै त्यस्तो असुली कार्य वर्षौंदेखि जारी छ ।
पोखरा महानगरपालिका–२० भलाम जर्नेलको पँधेरादेखि देउराली सिम्लेस्वाँरा डाँडागाउँँसम्मको सडक प्रयोग गरेबापत भलामस्थित श्रृंखला युवा क्लब र डाँडागाउँँ टोल विकास संस्थाले वार्षिक ७ लाख ७० हजार रुपैयाँ चन्दा बटुलेका छन् । झण्डै दुई दशकदेखि यसरी विभिन्न व्यक्ति, क्लब र टोल विकास संस्थाको नाममा चन्दा असुली हुँदै आएको पाइएको छ । लाहुरे तालिम सञ्चालन गर्ने ट्रेनिङ इन्स्टिच्युट एसोसिएसनबाट श्रृंखला क्लब र टोल विकास संस्थाले वार्षिक यसरी उठाउने गरिएको हो । तालिमे प्रशिक्षार्थीले डोको बोकेर दौडिएबापत त्यस्तो रकम इठाइँदो रहेछ । गण्डकी प्रदेश सरकारले गौरवको योजनाअन्तर्गत बनाएको सार्वजनिक सडकबाट यसरी पैसा उठाइँदा प्रहरी प्रशासन मौन छ ।
२० नम्बर वडा कार्यालयले २०८१ भाद्र १७ गते वडा अध्यक्ष गङ्गाबहादुर खत्रीको अध्यक्षतामा बैठक बसी नेपाल फिजिकल ट्रेनिङ एसोसिएसन र गोर्खा फिजिकल ट्रेनिङ एसोसिएसनलाई वार्षिक ७ लाख ७० हजार बटुल्न स्वीकृति दिएको र ५०–५० प्रतिशत बाँडेर लिने ब्यहोरा माइन्युटमा उल्लेख गरिएको छ ।
निर्णयमा सदस्यहरू मीना पौडेल, रुपा नेपाली र गञ्जमान गुरुङले पनि हस्ताक्षर गरेका छन् । निर्णयमा २०८२ सालको डोको रेसका लागि १० प्रतिशत रकम बढ्ने उल्लेख छ । वडा सचिव रामप्रसाद तिवारीले रकम उठाउन अनुमति प्रदान गरेको स्वीकारे तर सूचनाको हक प्रयोग गरी प्रतिलिपि माग गर्दा विभिन्न बहाना बनाएर दिन खोजेनन् । सरकारले बनाएको सडकमा दौडँदा रकम असुल्न कानुनले दिन्छ भन्ने जिज्ञासामा श्रृंखला युवा क्लबका अध्यक्ष दिनेश बस्नेतले तोकेरै उठाउने काम बन्द गरौँ भन्दा वडाले नमानेको बताए । डाँडागाउँँ टोल विकास संस्थाका निवर्तमान अध्यक्ष चोकबहादुर गुरुङ वडाले लेखेर दिएपछि पैसा लिएको बताउँछन् ।
बजेट सरकारले हाल्ने तर लाभ गैरसरकारी संस्थाले लिने कार्यले अराजकतालाई मलजल गरेको बुझ्न सकिन्छ । एक दशकअघि स्थानीयले पैसा नदिएको भन्दै सडकमा हिँड्न दौडन नै रोक लगाएका थिए । प्रशिक्षार्थीहरूले कास्की प्रशासनमा उजुरी गरेपछि प्रहरीको बलमा बाटो खुलाइएको थियो ।
– यदुनाथ बञ्जारा
(जनआस्था साप्ताहिकको मंसिर १० गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू