मन्त्रीहरु कहिले नागरिकप्रति जवाफदेही हुने ?
सरकार सँधै आफ्नो नागरिकप्रति जवाफदेही हुनुपर्छ । नागरिकलाई केही भएमा त्यसको जिम्मेवारी सरकारले लिनुपर्छ । नागरिकको जनधनको सुरक्षा गर्नु सरकारको दायित्व हो । अन्य मुलुकमा सरकार आफ्ना जनताप्रति उत्तरदायी हुन्छन् । उनीहरुको पहिलो प्राथमिकता जनताको जनधनको सुरक्षा हो । नागरिकलाई केही भएमा सरकारले त्यसको नैतिक जिम्मेवारी लिन्छ ।
सम्बन्धित मन्त्रीले पद नै छोडिदिन्छन् । तर, हामीकहाँ ठ्याक्कै उल्टो छ । सन् २०२२ मा उपचारको क्रममा एक भारतीय गर्भवती महिलाको मृत्यु भएपछि पोर्चुगलकी स्वास्थ्यमन्त्री मार्टा टेमिडोले तत्कालै पदबाट राजीनामा दिएकी थिइन् । तर, हामीकहाँ सरकारको कमीकमजोरीले जनताले ज्यान गुमाउँदासमेत प्रधानमन्त्री र मन्त्रीहरुले राजीनामा दिनु त परको कुरा, नैतिक जिम्मेवारीसमेत लिँदैनन् । बरु एकअर्कामाथि दोष थुपारेर आफू ‘पानीमाथिको ओभानो बन्न’ खोज्छन् ।
जसको एउटा ज्वलन्त उदाहरण हो–मंसिर ९ गतेको घटना । राति ११ बजे उपत्यकाभित्रका अधिकांश घरमा बत्ती निभिसकेको थियो । धेरै मस्त निद्रामा थिए भने एकाध घरमा बत्ती बलिरहेको थियो । उनीहरु आफ्नो काम गरिरहेका थिए । अचानक बत्ती झालकझुलुक गर्न थाल्यो । कतिपयको ट्युबलाइट पड्कियो भने चलिरहेको टेलिभिजनको स्क्रिन अफ भयो ।
बत्तीको एमसीहरु पनि जल्यो । इन्टरनेट डिसकनेक्ट भयो । ललितपुरको नख्खुदेखि वालुवाटारस्थित प्रधानमन्त्री निवाससम्म उक्त घटना भएको थियो । तर, धेरैले थाहा नै पाएनन् । बिहान उठ्दा पो उनीहरु झसंग भए । घरमा भएको प्रायः विद्युतीय उपकरणहरु बिग्रिएको थियो । अनि मात्र उनीहरुले हाई भोल्टेजको बिजुली आएको पत्तो पाएका हुन् । हाई भोल्टेजका कारण धेरै भौतिक क्षति पुगेको छ ।
धन्न मानवीय क्षति भने भएन । हाल ऊर्जा क्षेत्रको बादशाह कुलमान घिसिङ ऊर्जा, सिँचाइ तथा जलस्रोत, भौतिक, पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री छन् । उनी यसअघि पटकपटक नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएर काम गरिसकेको व्यक्ति हुन् । ‘उज्यालोको नायक’ को उपनामसमेत पाएका उनी फागुन २१ गतेको निर्वाचनमा होमिने तयारीमा छन् । उनले निर्वाचन आयोगमा ‘उज्यालो पार्टी, नेपाल’ नामक पार्टीसमेत दर्ता गरिसकेका छन् ।
गम्भीर कुरा के भने, उनी ऊर्जामन्त्री भएको बेलामा पटकपटक बत्ती जाने र अकस्मात् हाई भोल्टेज लाइन आउने गतिविधि भइरहेको छ । यी गतिविधिले नागरिकले दुःख पाइरहेका छन् । बारम्बार त्यस्ता घटना भइरहँदा जवाफदेहिता लिन र सुधार गर्न कोही पनि तयार छैन । न मन्त्रीले जिम्मेवारी लिन्छन् न सम्बन्धित निकायले । बरु उक्त घटनालाई त्यत्तिकै गुपचुप बनाइएको छ । सरकारको लापरवाहीका कारण नागरिकको घरमा ठूलो क्षति पुगेको छ ।
तर, त्यसको क्षतिपूर्ति कसले व्यहोर्ने ? सरोकारवाला निकायलाई कुनै चासो नै छैन । उक्त घटनामा कुनै नागरिकको ज्यान गएको भएपनि सरोकारवाला कसैले जिम्मेवारी लिँदैन्थ्यो । नागरिकलाई नै जिम्मेवार ठहराएर मन्त्री र कर्मचारीहरु पन्छिन्थें । अन्य मुलुकमा यस्तो घटना भएको भए, सम्बन्धित मन्त्रीको पद त जान्थ्यो नै, सँगै दण्डित पनि हुन्थें । ललितपुरका एक निवासीले सो नागरिकमाथि सरकारले गरेको आक्रमण भएको आरोप लगाए ।
उनले भने,‘जेनजीले दिनदहाडै आतंक मच्चाएका थिए । राज्यले रातको समयमा मच्चाउँछ । राज्यले राति नागरिकमाथि गरेको आक्रमणको नमूना हो यो ।’ उनको अनुसार सो घटना दिँउसो भएको भए झन् धेरै क्षति हुन सक्थ्यो । अगाडि थपे,‘धन्न त्यो घटना राति भयो । दिँउसो भए भए, झन् धेरै क्षति हुनसक्थ्यो । दिँउसो सबै विद्युतीय उपकरणहरु चलेको हुन्छ । आगो नै लाग्न सक्थ्यो ।’
टिप्पणीहरू