नेपाली माटोमा भूराजनीतिको बाछिटा

नेपाली माटोमा भूराजनीतिको बाछिटा

नेपालको पछिल्लो राजनीतिक अस्थिरतामा भूराजनीति मुख्य कारक बन्न गएको देखिन्छ । संयुक्त राज्य अमेरिकाले नेपाललाई भारतीय चश्माले हेर्छ भन्दै आउने गरिन्थ्यो । अब खासगरी एमसिसी पारित भएपछि वा एमसिसीको सेरोफेरोदेखि आफैंले हेर्न थालेको आकलन भइरहेको छ । त्यस प्रकारको स्थितिले आन्तरिक राजनीतिमा नयाँ र भिन्न चित्र देखापरेको छ ।जेनजी विद्रोहपछि अन्तरसाम्राज्यवादी अन्तरविरोधको कारण संसदीय व्यवस्था विघटन भएको छ । राजा वीरेन्द्रको वंशनाशपछि राजतन्त्रको अन्त्य भएझैं

जेनजी विद्रोहपछि संसदीय व्यवस्थाको वैधानिकता समाप्त भएको छ । संसदवादले देशको नेतृत्व गर्न नसक्ने पुष्टि भएको छ र समाजवादको आधार निर्माण भएको छ । जेनजी विद्रोह अपहरित भएको र घुसपैठ भएको असोज २४ गते नेपालका सम्पदा, अर्थतन्त्र, वैधानिक संस्था र चीनको गन्ध आउने संस्था र व्यक्तिमाथि योजनाबद्ध आक्रमण भएको छ । प्रम ओली आउँदैछन् भन्ने हल्ला फैलाएर चीनको सहयोगमा बनेको भैरहवा हवाई अड्डा, बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, पूर्वप्रम झलनाथ खनाल निवास, दमकको भ्युटावर, पूर्वगृहमन्त्री भीम रावललगायतमाथिको आक्रमणले त्यसको पुष्टि गर्छ । त्यसैगरी मीनबहादुर गुरुङसहित व्यापारिक प्रतिष्ठानमाथिको आक्रमणले पुँजी र श्रमशक्तिको पलायनलाई तीव्र पारेको छ ।

सर्वोच्च अदालत, बारको कार्यालय, सिंहदरबारमाथिको आक्रमणले नेपालको सम्पदा नष्ट गरेर इतिहास र संस्कृति नभएको देशजस्तो बनाइएको छ । धेरै र ठूला घटना तत्कालीन ओली सरकारको राजीनामापछि भएका छन् । बिष्फोटक पदार्थ, आग्नेयास्त्र र तालिम प्राप्त व्यक्तिहरु सैन्य प्रयोजनका पोशाकसहित संलग्न भएका छन् । तिब्बती–अमेरिकी सैन्य संगठन टिओबीले खुलेआम हिंसा भड्काएको छ । अमेरिकी–तिब्बती सरकार नेपालमा बनाउने, त्यसलाई (टिओबी) अमेरिकी पैसा, तालिम, प्रविधि र कूटनीतिक सुरक्षा दिएर नेपाली सेना र सरकारलाई निस्क्रिय पार्ने अमेरिकी रणनीति देखिन्छ । जनयुद्धकालमा नै अमेरिकापरस्त भएको सैनिक नेतृत्व कठपुतली बनिसकेको पुष्टि राजा वीरेन्द्रको वंशनाश र सिंहदरबारको खरानीको थुप्रोले गर्छन् । पृथ्वीनारायण शाहकालीन नेपाली सेनाले अंग्रेजका विरुद्ध लडेको गौरवशाली इतिहास सुगौली सन्धिपछि (मूलतः कोतपर्वपछि) दलालीकरण र भाडाको सेनामा पतन भएको थियो । नेपालका सबै संस्था र नागरिकको देशभक्तिको भावना आजको अमेरिकी हस्तक्षेपविरुद्ध कसरी प्रकट होला भविष्यले बताउने छ । 

बालेन–रवि लामिछाने जस्ता अमेरिकी पक्षधरको नेतृत्वमा सरकार बन्ने र टिओबीले प्रहरीको भूमिका खेल्ने अमेरिकी प्रयासलगत्तै उत्तर र दक्षिणका छिमेकीहरु सक्रिय भए । त्यसले आन्तरिक शक्ति सन्तुलनमा पनि प्रभाव पा¥यो । एकजना पूर्वगृहमन्त्री तथा उपप्रधानमन्त्रीले बताएअनुसार ‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं भन्नुको मतलब विदेशीले नेपालमा जे गरे पनि सहन्छौं भन्ने होइन’ भनेर चीनले नेपाली सेनाको नेतृत्वलाई स्पष्ट गरेको थियो । उनैका अनुसार नेपालको ‘पछिल्लो घटनामा चीन रमिते, भारत हृदयाघात’ को अवस्थामा छन् । अमेरिकाको रुचीमा कुलमान र कल्याण श्रेष्ठसमेत रहेछन् । 

अमेरिका र भारतको एउटा पक्ष ज्ञानेन्द्रलाई स्थापित गर्ने र नेताहरुलाई धम्क्याएर राजतन्त्र फर्काउने खेलमा छन् । जनता तयार नभईकन राजा नआउने भन्ने सूचना यसबीच प्रवाह हुनु संयोग मात्र होइन । सुरक्षा चुनौती धेरै भएका नेताहरुको सुरक्षा घटाउने र ज्ञानेन्द्रको सुरक्षामा तैनाथ प्रहरी फिर्ता गरेर सेना खटाउने सरकारी कदम आफैंमा अर्थपूर्ण छ । अमेरिका र दिल्लीको एउटा पक्षद्वारा ज्ञानेन्द्रको पक्षमा बोल्न लगाउने कार्य सिपी मैनालीबाट शुरु भएको छ । त्यो लहरमा थुप्रै लोकतन्त्रवादी र कम्युनिष्ट भन्नेहरु थपिन सक्छन् । यद्यपि भयंकर राष्ट्रघात नगरी ज्ञानेन्द्रले त्यो साथ पाउने छैनन् । नेपालको इतिहासलाई फेरि ढोरपाटन पुर्‍याउनुपर्‍यो भन्ने चर्चाहरु भइरहेका बेलदा माओवादी शीर्ष नेतृत्वबाट देशभक्त मोर्चाको चर्चा गरिनु आफैंमा रहस्यमय छ । 

सुशीला कार्की सरकार पश्चिमाहरुको समर्थनमा बनेको गैसस सरकार हो । जसको मूल लक्ष्य चीनविरुद्ध गतिविधि गर्नु हो । सरकारलाई इतिहासमा नै पहिलोपटक दलाई लामाले स्वागत गरेका छन् । सेनाको समर्थनसहित बनेको वर्तमान सरकार विदेशी कठपुतली सरकार हो । 

अमेरिकी योजना र सेनाको सहयोगमा असोज २३ पछि देश प्रतिगमनमा गएको, सैन्य कू भइसकेको थियो तर शक्ति सन्तुलन नमिलेपछि यथास्थितिमा नै फर्काइएको छ । त्यसैले अब योजनाबद्ध रुपमा फासिष्ट, प्रतिगामी र अमेरिकी–तिब्बती सरकार बनाउने प्रयास हुनेछ । तिब्बती शरणार्थीलाई नागरिकता दिने र नेपाली नागरिकता भएकै व्यक्तिले त्यो काम गर्नेछन् । संसद् पुनःस्थापना दिल्लीको रुचि र भ्रष्ट नेताहरुको चाहना हो । संसद् पुनःस्थापनाले अझै ठूलो विद्रोह निम्त्याउन सक्छ किनकि संसदीय व्यवस्थाको असफलतामा जेनजी विद्रोह भएको हो । नेपालमा अमेरिकी हस्तक्षेप बढाउने कार्यमा क्रिश्चियन धर्म र गैससको भूमिका रहेका कारण धर्म परिर्वतन र गैससमा प्रतिबन्ध लगाउन आवश्यक छ । ऐन–कानून, राजनीति, संसद्, अर्थतन्त्र, सञ्चार सबै कब्जा गरेर बसेको भ्रष्ट संसदवादलाई जेनजी विद्रोहले ढालेको छ तर ‘योजना, नियन्त्रण, निर्देशन र संगठन’ नभएका कारण विद्रोहको सपना अपहरण भएको छ । त्यो अपहरित सपना कम्युनिष्ट, देशभक्त र नवयुवा (जेनजी) पुस्ताले सहकार्यद्वारा फिर्ता गर्नुपर्छ । 

गृहमन्त्रीले राजीनामा दिनासाथ माओवादी केन्द्र र नेकपा एसको दोस्रो पुस्ताका नेताहरुले संसद्बाट नयाँ सरकार गठनमा हाम्रो समर्थन खोजेका थिए तर भ्रष्ट नेता र निकम्मा संसद् हाम्रो रुचिको विषय थिएन । अमेरिकाले चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न अनेक दाउपेच गर्नेछ । बालेन्द्र नामको लुसिफरलाई प्रयोग गरेर र लिम्बुवानमा पृथकतावाद बढाएर भारतमाथि सुरक्षा चुनौती बढाउन सक्छन् । दार्जिलिङ, सिक्किम र पूर्वोत्तर भारतमा पृथकतावाद र क्रिश्चियन धर्मको वर्चश्व बढ्दै गएकै छ । क्यानानमा खालिस्तानको वाणिज्य दूतावास खुलिसकेको छ र अब मणिपुरको दूतावास युरोपमा खुल्यो भने अनौठो हुनेछैन । मधेशलाई डोनेस्क बनाउने खतरा उत्तिकै छ । भारतीय कतिपय सञ्चारमा उत्तराञ्चल, महाकाली अञ्चलको पहाडी जिल्ला र कर्णालीका केही जिल्ला समेटेर स्वतन्त्र देश बनाउने बहस लामो समयदेखि आइरहेको छ । त्यसैगरी धार्मिक द¨ा सिर्जना गर्न सक्ने सम्भावना उत्तिकै छ । त्यसप्रकारका चुनौतीको सामना गर्न कम्युनिष्ट, वामपन्थी र देशभक्त शक्तिहरुबीचमा संयुक्त मोर्चा बन्नुपर्दछ । नयाँ विचार र नयाँ नेतृत्वको आधारमा नयाँ कम्युनिष्ट केन्द्र निर्माण हुनुपर्छ । अघिल्लो निर्वाचनमा माओवादीलाई शहरबाट लेखेटे । अब एमालेलाई शहरबाट लखेट्ने षड्यन्त्र छ भन्दै आएका थियौं । आज त्यो पुष्टि भएको छ । चेत खुलेन भने आउने दिनहरु अझै भयावह हुनेछन् । 

अमेरिकी योजना र सेनाको समर्थनमा बनेको गैसस सरकारले अमेरिकी कठपुतली संसद् बनाउन र फासिष्ट कदम र देशद्रोहलाई वैधानिकता दिन निर्वाचन घोषणा गरेको छ । त्यसकारण निर्वाचनको वातावरण नबनेसम्म ज्ञानेन्द्रको जस्तै अमेरिकी–गैसस सरकारलाई वैधता दिने चुनावमा जानु हुँदैन । सिंहदरबार जल्दा सुरक्षा नदिने सुरक्षा बलले मतपत्रको रक्षा गर्छ भनेर सोच्नु मूर्खता हुनेछ । ब्यारेक चुनाव गराउने तयारीमा सरकार छ । त्यसैले सुशीला कार्की सरकारको चुनाव भनेको धराप हो । आफूलाई पुर्ने खाल्डो आफैं खन्नु हो । 

कुनै बेला भारतका पूर्वप्रम आइके गुजरालले प्रचण्डलाई ‘मैले लेनिन देखिन, हो ची मिन्ह देखिन, माओ देखिन तर आज प्रचण्डसँग बस्दा ती सबै नेता देखेजस्तो भएको छ’ भनेका थिए । केपी ओलीलाई मानार्थ विद्यावारिधि दिए । प्रचण्डलाई शहरबाट लखेटेपछि विदेशीको नून खाएका मान्छेहरु फेरि प्रचण्डको तारिफ गर्न र ओलीलाई विद्रुपीकरण गर्न थालेका छन् । अमेरिका, रुस, ब्रिटेनबीच त्रिपक्षीय सम्झौता भएपछि दोस्रो विश्वयुद्धमा तत्कालीन अमेरिकी राष्ट्रपतिले ‘यदि ब्रह्माण्ड सम्मेलन भयो र पृथ्वीबाट एक जना मात्र प्रतिनिधि पाइने भयो भने स्टालिनले प्रतिनिधित्व गर्नेछन्’ भनेका थिए । सोभियत संघले हिटलरलाई पराजित गरेपछि ‘खोला तर्‍यो, लौरो बिस्र्यो’ भनेझैं भयो । स्टालिनको फेरि विद्रुपीकरण शुरु भयो । हामी बुद्धिको रिमोट अर्कैको हातमा दिएर मालिकको भाष्यमा नाच्न थाल्यौं । त्यसैले भनेका छौं– नयाँ विचार, नयाँ नेतृत्व, नयाँ कम्युनिष्ट केन्द्र । आजको युगले थोत्रा कुरा सुन्ने छैन । 

(लेखक विप्लव नेकपाका पोलिटव्युरो सदस्य हुन् ।)

टिप्पणीहरू