मन्त्रीहरूको घुस काण्डबारे यसरी समाचार ब्रेक गर्यौँ हामीले
अन्ततः एक मन्त्री बिचौलियाकै कारण कुर्सीबाट हट्नुपर्ने स्थितिमा पुगेका छन् । मुलुकको शासन र प्रशासन संयन्त्र बिचौलिया हावी रहेको ‘ओपन सेक्रेट’तथ्य हो । केही समय शासन र प्रशासन संयन्त्रमा आइटीका ‘युवा हिरोहरू’ विकल र सुनिल पौडेलको राज थियो । उनकै इच्छाअनुसार चल्दा नेपालकै इतिहासमा पहिलो पटक मुख्यसचिवले भ्रष्टाचार मुद्दा चलेर निलम्बित हुनुपर्यो । वैकुण्ठ अर्यालझैँ मधु मरासिनीले पनि बिचौलियाकै इच्छाअनुसार कलम घुमाउँदा अख्तियार लागेर सात महिना निलम्बित हुनुपर्यो । एक चर्चित पूर्वन्यायाधीशकी छोरीले यिनैका कारण हालै २ लाख धरौटी बुझाउनुपरेको छ ।
धितोपत्र बोर्ड र बिमा प्राधिकरणमा आफूअनुकूल पात्र लान सफल दीपक भट्टकै पथगामी हरेक दिनजसो स्कोरपिओ चढेर मन्त्रालय–मन्त्रालय धाउँथे, मास्क कहिल्यै नखोली क्यापले अनुहार छोपेर हिँड्थे, कर्मचारी सरुवामा हावी हुन्थे, उनै उदयपुरे प्रमोद खड्काले मोहनकृष्ण सापकोटा सचिव हुँदादेखि नै आफ्नो र अरूको बानी बिगार्दै आए । रञ्जिता श्रेष्ठ भूमिसुधारमन्त्री हुँदा गोकर्णमणि दुवाडीमार्फत धेरै ठाउँबाट अनुचित लाभ उठाए, उनका चेला सुजन लामासमेत भूमिसुधारमन्त्री र सचिवसहित सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासम्मको कार्यकक्षमा छिरेर घण्टौँ हराउँथे । कर्मचारी प्रशासनबारे लेखिरहने कलमजीवी भएका नाताले ती दुई मन्त्रालयका उच्च प्रशासकहरूले तिनका हर्कतबाट आजित भएर ममार्फत केही सूचना चुहाए । प्राप्त सूचना केलाउँदै जाँदा मन्त्रालयकै स्रोतबाट पत्ता लाग्यो कि आफू अनुकूलको उपसचिव लैजानका लागि प्रमोदको चेलो सुजन लामा (पोखराका जग्गा व्यवसायी) ले दुई मन्त्रीलाई घुमाइरहेका रहेछन् ।
कहिलेकाँही आफ्नै आँखाले देखेको कुराले त धोखा दिन्छ भने अरूले सुनाएका कुरामा तत्काल विश्वास गर्दा कतिपय पत्रकार चिप्लिएका उदाहरण प्रशस्त छन् । दुई पटकसम्म पूर्वमन्त्री रञ्जिता श्रेष्ठ चौधरी ती बिचौलियालाई बोकेर अहिलेका सामान्य प्रशासनमन्त्री गुप्ताको कार्यकक्षमा छिरेको/निस्केको देखेपछि जनआस्था साप्ताहिकको वर्ष ३१, अंक ५, चैत २७ मा ‘मास्कले मुख छोपेर दिनहुँ मन्त्रालय’ शीर्षकमा लेखेँ । तीन महिनापछि अहिले जे–जस्ता घटना र अडियो काण्ड बाहिर आएका छन् ती सबैको पृष्ठभूमि जनआस्थाको सोही समाचारले कहेको छ । त्यसैमा प्रष्ट उल्लेख थियो– यी बिचौलियाले कास्की मालपोतका हाकिम चिरञ्जीवी पौडेललाई हटाएर हाल लमजुङमा कार्यरत रामचन्द्र अधिकारीलाई लैजान खोजिरहेको खबर । कास्कीमा दुई वर्षभन्दा बढी बिताएका रामचन्द्र अधिकारीलाई लमजुङ पठाएर चिरञ्जीवीलाई कास्की सरुवा गरिएको थियो गत असोज ६ गते । अवधि नपुगी सरुवा गरिएको भन्दै रामचन्द्र अदालत पुगे ।
अदालतले स्टे अर्डर नदिएपछि पुस २६ देखि उनी कास्की मालपोतमा हाजिर भए तर तीन महिना नबित्दै उनको सरुवा गर्न बिचौलियाहरू लागिपर्नु र तिनले आफूअनुकूल उपसचिव रामचन्द्र अधिकारीलाई नै खोज्नुको रहस्य खोतल्दै जाँदा थाहा लाग्यो– भाट, राणा, शाह हुँदै थकालीहरूका नाममा कास्कीको बाटुलेचौरस्थित १३५ रोपनी क्षेत्रफलको लिची बगैँचा । सो जग्गा हत्याउन बिचौलियालाई आफूअनुकूल कर्मचारी चाहिएको थियो ।
क्यान्सर रोगी श्रीमतीको उपचार र रेखदेख गर्नुपर्ने भएका कारण घरपायक सरुवा मागेर कास्की गएका थिए, चिरञ्जीवी । ०५६ सालको १ नम्बरका अधिकृत उनका ब्याचीहरू सहसचिव कोषहरि निरौला, नेत्र सुवेदी, इन्दु घिमिरेदेखि सचिव रामेश्वर दंगालसम्म हुन् । श्रीमती रोगी हुँदा अध्ययन र परीक्षामा जुट्न नसकेका कारण उपसचिवमै छुटेका उनी मंसिरमा उमेर हद लागेर घर बस्दै छन् । जागिरे जीवनको १३ वर्ष दमौली, लमजुङ, स्याङ्जा मालपोतमै बिताएका वेदाग भनी चिनिने पौडेलभन्दा पनि तीन वर्ष जुनियर (०५९ का शाखा अधिकृत) हालका गृहसचिव हुन्, गोकर्णमणि दुवाडी । दुवाडी भूमि मन्त्रालयको सचिव हुँदा कास्की मालपोतमा खटाइएको थियो पौडेललाई तर एक दिनमै त्यहाँबाट सरुवामा परे । उपसचिव सरुवा गर्दा गोकर्णको कुर्सी हल्लियो र लमजुङ खटाइएको विषय समाचार त्यतिबेलै जनआस्थामा आयो । यसमा पूर्वमन्त्री श्रेष्ठको समेत स्वार्थ जोडिएको भनेर जनआस्थाले लेखेको थियो ।
उनै बिचौलिया सुजनले रञ्जिता भूमिसुधार मन्त्री हुँदा उनीसहित बहालवाला मन्त्री गुप्तालाई समेत कास्की पु¥याएर घुमाएको सूचना पनि थियो जनआस्थाकर्मीसँग । बिचौलियाको पछि लागेर मन्त्रीहरू बिनाकाम किन पोखरा पुगे ? यो खबरकर्मीका लागि चासोको विषय हुने नै भयो । यसबारे जनआस्थाले रञ्जिता र राजकुमार गुप्तासँग प्रतिक्रिया माग्दा उनीहरू हच्किएका थिए । यो चलखेलको बारेमा सामान्य प्रशासन सचिव रविलाल पन्थदेखि मुख्यसचिव एकनारायण अर्यालसम्म जानकार थिए । यही समाचार जनआस्थामा आएसँगै हाकिम हटाने योजनामा तुषारापात लागेको थियो ।
मन्त्रीसँग ७८ लाखको डिल भएको ६ महिनापछि १० असारमा अख्तियारमा उजुरी पुग्यो । जसको दर्ता नम्बर सि ७८५५५ रहेको अडियोसहितको सामग्री जनआस्थाको हात लागेको थियो असार १२ गते । साप्ताहिक जनआस्था पत्रिकाबाटै सो समाचार ब्रेक गर्ने मनसायका साथ बुधबार पर्खंदा गत असार १८ गते मात्रै ‘मन्त्रीले घुस मागेको प्रमाण’ शीर्षक समाचार ब्रेक हुन सक्यो र पछि सीधा कुरा अनलाइन, नयाँ पत्रिका दैनिक हुँदै विभिन्न सञ्चार माध्यममा छरपष्ट हुन पुगेको हो ।
प्रशासनिक क्षेत्रका अनेकन विकृति र विसंगतिका सयौं समाचार जनआस्थाबाटै ब्रेक भएको छ । गृहमन्त्री रमेश लेखकको सचिवालयमा यसअघि त्रिवि अध्यागमनमा हुँदा भ्रष्टाचार मुद्दा लागेका अधिकृत विमल पौडेलदेखि मोहन्याल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार मुद्दा लागेका गणेशदत्त ओझालाई राखिएको र उनीहरूमार्फत नै तीर्थ भट्टराईको टिम तयार पारेर भिजिट भिसाको धन्दा जारी रहेको खबर जनआस्थाले फागुनमै प्रकाशन गरेको थियो । सोही समाचार आएको तीन महिनापछि अर्थात् जेठ ७ गते मात्र तीर्थ भट्टराई अध्यागमनबाट तानिएका छन् । वर्तमान श्रममन्त्री शरदसिंह भण्डारी लामो समयदेखि अवैध रूपमा निर्जला राउतसँग लिभिङ टुगेदरमा बस्दै आएकोमा सो सम्बन्धलाई विधिवत् सरकारी लेटरप्याडमार्फत मान्यता दिलाएको जनआस्थाले नै हो गत चैत १३ गते । सो समाचार आएपछि मन्त्रीले ‘मेरो अवैध सम्बन्धलाई जनआस्थाले वैध बनाइदियो’ भन्न थालेका छन् । आदरणीय सम्पादक किशोर श्रेष्ठ दाजुबाट हामीलाई सधैँ लुकाइएको र दबाइएको समाचार उत्खनन गर्नतर्फ मार्गदर्शन हुँदै आएको छ ।
यी र यस्ता समाचार सामाग्री लेख्दा निश्चय नै मित्रभन्दा शत्रु धेरै कमाइएको छ । यद्यपि, अन्यत्र नआएका समाचार जनआस्थाले मात्र छाप्छ, यसैलाई दिनुपर्छ भनी खोज्दै आउने स्रोत नै साढे एक दशकमा कमाइएका अमूल्य सम्पत्ति हुन्, पत्रकारितामा लागेर अरू केही कमाउन नसके पनि स्रोतको विश्वास कमाइएको छ, यसैमा खुशी लाग्छ ।
टिप्पणीहरू