को हो त अब दुनियाँलाई देखाउने अनुहार ?

को हो त अब दुनियाँलाई देखाउने अनुहार ?

जेनजीको कथित आन्दोलन अलपत्र भयो भन्नु अब अतिशयोक्ति होइन । यो आन्दोलनले शुरु भएको आधा घण्टामै अपहृत भएर उपद्रवको रूप लिइसकेको हो । कलेजको पोशाकधारी विद्यार्थी संसद भवन पुग्नुअघि नै एक हुल मोटरसाइकल चालकहरूको चहलपहलले के संकेत गरेको थियो ? उनीहरूले पत्तै पाएनन् । 

नेपाली सेनाले प्रहरीलाई जबर्जस्ती भिडाएको थोत्रो एसएलआर राइफल र भारतले दिएको÷बेचेको इन्सास राइफलले धातुको गोली बर्साउन थाल्दासम्म ढिलो भैसकेको थियो । गोली बर्साउनेहरू आदेशको पालन गर्दैथिए । तर आदेश दिने को थियो ? शेरबहादुर–आरजु जोडीका गुमस्ता गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुअघि निरीह भएर भने, ‘मैले त रबरको गोली मात्र चलाउन आदेश दिएको थिएँ ।’ अहिले उनको चालचुल छैन । तत्कालीन प्रधानमन्त्री केपी ओली सेनाको ‘सुरक्षा’ बाट बाहिर आएर भक्तपुर गुण्डुस्थित एक भाडाको घरमा बसेका छन् । उनको सुरक्षा हेर्ने सेना छैन, एसपी स्तरको कमाण्डमा रहने सुरक्षा व्यवस्थाको स्तर झारिएको छ । उनी एक प्रहरी निरीक्षकको नेतृत्वअन्तर्गत सुरक्षित छन् । 

धेरैलाई थाहा नहुन सक्छ, ‘अहिले शिवपुरीमा सुरक्षामा छु’ भन्दै आएको बक्तब्य उनको थिएन । ओलीलाई असाध्यै माया गर्ने साइबर सेनाले जेनजीको उत्पातलाई वर्तमान भारतीय सत्तासँग नेपालको चुच्चे नक्सा र त्यसमा ओलीले लिएको अडानसँग जोडेर प्रचार गर्ने चेष्टा पक्कै गरेको हो । तर यो धेरैबेर टिकेन । शुरुमा शिवपुरीमा रहेका ओलीलाई पूर्व राष्ट्रपति विद्या भण्डारीलाई समेत त्यहीं सुरक्षा दिनुपर्ने अवस्था आएपछि अचानक मकवानपुरको सुपारीटार ब्यारेक पुर्‍याइएको थियो । यो लेखकसँग निकट एक सैन्य अधिकारीका अनुसार, ओली र भण्डारीको भेट हुनै पाएन । 

सैन्य सुरक्षाबाट बाहिर आएका ओलीले आफ्नो स्वभावअनुरूप अर्को पत्ता फाले, ‘मैले गोली चलाउने आदेश नदिएपछि प्रहरीसँग नभएका स्वचालित हतियारबाट नरसंहार भएको छ ।’ एक निवर्तमान प्रधानमन्त्रीबाट आएको यो गम्भीर कुरा हो । ओलीको दावीमा कति सत्यता छ, गौरीबहादुर कार्की आयोगले गर्न लगाउने ‘फरेन्सिक’ जाँचबाट थाहा हुनेछ । तर अब ओलीको राजनीतिक भविष्य सकियो भन्नु गलत हुँदैन । 

उनको नेकपा एमाले संकटमा छ । यो पार्टीसँग देखाउन लायक दोश्रो पुस्ताका नेता बाँकी छैनन् । राजीनामा दिनु अघिल्लो दिन ओलीलाई गोदावरीको बिधान अधिवेशनले उत्तर कोरियाका किम जोन उंग, चीनका सि जिनफिङ वा रूसका भ्लादिमिर पुटिनकै कोटीमा आजीवन नेता घोषित गरेको हो । तर समयले उनको अभीष्ट पुरा हुन दिएन । अब एमालेले देखाउने अनुहार को हो ?

जहाँ एमालेसँग अहिले आफ्नो दुखेको घाउ सुम्सुम्याउने हात छैन, नेपाली कांग्रेसभित्रको उहापोह चरममा छ । यो पार्टीका महामन्त्रीद्वय उदाएका छन् । गगन थापाले घोषणा गरिसके, ‘अब सभापतिलाई सम्झाउने हो, नमाने अघि बढ्ने हो ।’ उनको माग विशेष अधिवेशनको छ । तर गगन र विश्वभन्दा अघिल्लो पुस्ताका कथित दोश्रो तहका नेता यसमा तयार छैनन् । पूर्णबहादुर खड्का, प्रकाशशरण महत, प्रकाशमान सिंह, शशांक कोइराला, कृष्णप्रसाद सिटौला र विजय गच्छदार समेतलाई थाहा छ, देउवाको आशीर्वाद बिना उनको भविष्य छैन । देउवा पत्नी आरजु राणा यो समीकरणलाई आफ्नोअनुकूल भजाउन अस्पतालबाटै सक्रिय छिन् । 

राणाको कृपाप्राप्त नेपाल प्रेस युनियनका एक पूर्व पदाधिकारीले यो लेखकलाई भनेअनुसार, ‘महारानी अस्पतालबाटै फोनमा सबैसँग सम्पर्कमा होइसिन्छ ।’ त्यसैले, उनको दावीअनुसार गगनको अभियान सफल हुने सम्भावना छैन । किनभने, आरजु उल्लिखित सबै दोश्रो पुस्ताका दावेदारहरूलाई भन्दैछिन्, ‘अब हुने तपाईंहरू नै हो । तर यो बिशेष महाधिवेशनको मागलाई ‘क्वास’ गर्नुपर्‍यो । सभापति बिरामी भएको बेला यस्तो गर्न हुन्छ ?’ गगन थापा बिशेष महाधिवेशन बोलाउने बाध्यात्मक परिस्थिति तयार गर्न आवश्यक हस्ताक्षर बटुल्न सक्षम हुन्छन् कि हुँदैनन् ? नेपाली कांग्रेसको आगामी यात्रा यसैमा निर्भर छ । 

घुसपैठको स्वरूप 

बिस्थापित प्रधानमन्त्री केपी ओलीले आफू पहिलोपटक सत्तामा आउनेबित्तिकै राज्यका गुप्तचरी र राजश्व अनुसन्धान निकायलाई सिधै आफ्नो नियन्त्रणमा ल्याएका थिए । राज्यको सिन्दूर हालेका कर्मचारीलाई एउटा व्यक्तिको स्वार्थका निम्ति परिचालित गर्ने ओलीको अधिनायकवादी सोच अन्ततः उनकै लागि घातक सिद्द भएको छ । जसरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प खुफिया निकायबाट आफूले चाहेको जस्तै सूचना मात्र सुन्न रुचाउँछन्, ओलीको प्रवृत्ति पनि त्योभन्दा भिन्न थिएन । उनलाई आफूले चाहेको कुरा सुनेर खुशी हुने बानी परेको थियो । सूचना संकलन गर्ने निकायका हाकिमहरूलाई पनि सजिलो थियो । 

राष्ट्रिय अनुसन्धान विभागका एक अधिकारीले यो लेखकलाई भनेअनुसार, ‘संसद भवनमा आक्रमण गर्न दुर्गा प्रसाईंले उतारेका एक विशिष्ट समूहको नियोजित हात थियो । उनीहरू नेपाली नागरिक थिएनन् । सिंहदरवारमा आगजनी गर्न पनि चैत १५ को हिंसामा सहभागी समूहको जस्तै राजावादीहरूको उल्लेख्य भूमिका थियो ।’ 

गुप्तचर निकायका हाकिमहरूको निश्कर्ष छ, प्रचण्डको ‘स्लिपर सेल’ जस्ता पुराना वाइसिएलका कार्यकर्ताहरू यी दुवै आगजनीमा नियोजित रूपले सहभागी थिए । सर्वोच्च अदालतमा आक्रमण गर्दा माओवादी र रास्वपा सभापति समर्थक झुण्डको भूमिका थियो । सडकबाट संकलित सूचना गुप्तचरका हाकिमहरूसम्म बेलैमा नपुगेको मात्र होइन, ती सूचना नियतबस ओलीसम्म पुगेन । गोदावरी भेलाले सर्वाधिकारसम्पन्न तुल्याएको अवस्थामा ओली यी झडप सामान्य बल प्रयोग गरेर अस्त हुने भ्रममा थिए । 

सिंहदरवारको रक्षा गर्न खटिएको सेनाको एउटा सिङ्गै गणले मूल ढोका छोडिदिएको ओलीलाई पत्तै भएन । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी आवासको तीन नम्बर गेटसम्म भीड आएपछि मात्र ओली झस्किए । सेनाले त्यो ढोका खुला छाडेर भित्री गेटमा कडा पहरा दिएको थियो । भीड त्योभन्दा अगाडि बढ्न पाएन । बाहिर बाहिर आगजनी र तोडफोड भयो । नेपाली सेनाका प्रमुख अशोक सिग्देल ओलीसमक्ष ‘स्थिति नियन्त्रणभन्दा बाहिर पुगिसकेको’ रिपोर्टसहित उपस्थित भए । बाहिर सेनाले भीड रोकेकै थियो । तर ओली तर्सिए । सिग्देलले बंगलादेशको सेनाले शेख हसिनालाई दिएको चेतावनीको शैलीमा भने, ‘हजुरको राजीनामा आओस्, हामी उद्धार गर्छौं ।’ किंकत्र्तब्यविमूढ ओलीले राजीनामा धस्काए । सेनाको हेलिकप्टर आयो । ओली ‘अज्ञात’ स्थलतिर उडे । 
सेनापति अशोक सिग्देलको काम सकिएको थिएन । उनले राष्ट्रपति रामचन्द्र पौडेलको राजीनामा माग्न बाँकी थियो । यद्दपी, पौडेलले सिग्देलको मनशाय पुरा गरेनन् । 

सेनालाई कसले उचाल्यो ? कसले थचार्‍यो ?

भदौ २४ दिनभरीको दावानलको मूक साक्षी भएको नेपाली सेना प्रमुख अशोक सिग्देल अचानक किन राजनीतिक वार्ताका निम्ति अग्रसर भए ? दुर्गा प्रसाईंको प्रायोजनमा सीमापारीका लडाकूहरू नेपालको संसद भवन ताकेर बसेको कुरा के उनलाई थाहा थिएन ? राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताको नाममा सर्वोच्च अदालतमा भएको आक्रमणका बारेमा उनी कसरी बेखबर हुन सक्छन् ? तर राष्ट्रपतिको राजीनामा मागेर जंगी अड्डा फर्किएका उनले कथित जेनजी नामक प्रतिनिधिहरूसँग यो आन्दोलनको साझेदार दुर्गा प्रसाईंंं र रास्वपासमेत भएको दावी किन गरे ? ठगी मुद्दामा थुनिएका रास्वपाका सभापतिलाई सुनियोजित रूपमा कसरी ‘रिहा’ गरियो ? रास्वपा सभापतिको आडमा नक्खु कारागारबाट फरार कैदीहरूले राजधानीका प्रहरी कार्यालय कसरी लुट्न सके ? गौरीबहादुर कार्कीको आयोगले छानबिन गर्नुपर्ने कुरा धेरै छन् । 

नेपाली सेनाले नेपालभित्र ‘व्यवसायिक’ छवि कायम राखेको छ । तर जानकारहरूलाई थाहा छ, ऊ भारतीय सेनाको ईशारा नपाई अघि बढ्दैन । कुनैबेला माओवादीका शक्तिशाली प्रधानमन्त्रीको रूपमा प्रचण्डले तत्कालीन सेनापति रुक्माङ्गत कटुवाललाई सनकका भरमा बर्खास्त गर्न खोज्दा कटुवालले नेपालका आफ्ना परमाधिपति राष्ट्रपति रामवरण यादवलाई सुचित गर्नुभन्दा पहिले भारतीय सेना प्रमुखलाई फोन गरेका थिए । त्यसपछि रातारात पासा पल्टियो । प्रचण्ड स्वयं राजीनामा दिन बाध्य भए । 

नेपालमा नयाँ संविधान लागू भएपछि भारतले लगाएको अघोषित नाकाबन्दीमा नेकपा एमालेका कार्यकर्ता, विशेषतः केपी ओलीको युथ फोर्सले अघोषित आपूर्ति प्रणाली शुरु गरेको कुरा धेरैलाई थाहा नहुन सक्छ । त्यो ओलीको निर्देशनमा भएको तस्करी थियो, जसले एमालेको कोष भरियो । सेना हेर्दै थियो । त्यसले राष्ट्रिय सुरक्षामा प्रश्न उत्पन्न गरेको थियो, जो भारतका निम्ति पनि सुखद थिएन । ओलीको राजनीतिक अडान होइन, त्यो बेला नेपाली र भारतीय सेनाको प्रयासबाट मोदी सरकार नाकाबन्दी हटाउन बाध्य भएको हो । यसपटक पनि सेनामाथि राष्ट्रपति पौडेल हावी भएका होइनन्, अशोक सिग्देललाई भारतीय सेना प्रमुखले आँखा झिम्क्याएका हुन् । भूराजनीतिका जानकारहरूलाई यो थाहा छ । जो जान्दछन्, उनीहरू बोल्दैनन् । जो जान्दैनन्, उनीहरू च्याउसरी उम्रिएका पडकास्टमा आएर विद्वान् हुन्छन् । 

कुरा जेनजीको 

सन् १९९७ देखि २०१२ भित्र जन्मिएको एक उमेर समूहलाई जेनजी नामकरण गर्ने मुलुक अमेरिका हो । सामाजिक सञ्जालको बाढीमा विश्वको अर्थ राजनीतिक सन्तुलनमा उथलपुथल ल्याउने पनि अमेरिकी कम्पनी हुन् । उनीहरू शक्तिशाली छन् । गरीब मुलुकका युवाहरूलाई एक छटाकको अवसर दिएर एक धार्नीको मुनाफा कमाउने तरिका उनीहरूलाई थाहा छ । उनीहरू आफ्नो स्वार्थअनुसार हरेक मुलुकका निम्ति हरेक प्रकारका भाष्य बनाउन सक्षम छन् । विश्वभरका युवाहरूलाई आफ्नो इच्छामुताविकको मञ्च दिएर उनीहरूको समय खर्चिदिनु यी कम्पनीको रणनीति हो । 

सामाजिक सञ्जालमा विषबमन गर्न सजिलो हुन्छ । आफ्नो मुलुकको अवस्था परिवर्तन गर्न भीड जुटाएर मात्र पुग्दैन । सामाजिक सञ्जालको भीड भुक्ने तर नटोक्ने प्रकारको हुन्छ । तर भुक्ने मुख थुनिदिने हो भने टोक्न मन लाग्छ । जेनजी कसलाई टोक्न चाहन्थ्यो ? ऊ एउटा यस्तो निराशालाई टोक्न आतुर थियो, जसले उसको सपनाको बाटो भत्काइदिएको थियो । 

एउटा इमान्दार सचिव र बेइमान सुब्बा छिमेकी थिए । दुवैका छोरा एउटै स्कूलमा पढ्थे । ईमान्दार सचिवको छोरा बेइमान सुब्बाको घरमा खेल्न जान्थ्यो । एकदिन सचिवको छोराले घरमा आएर बाउलाई सोध्यो, ‘बुवा, तपाईंं सुब्बा कहिले बन्ने ?’ बाउले सोध्यो, ‘किन ? के भयो ?’ छोरा भन्छ, ‘ त्यो सुब्बाको घरमा जे जे छ, हाम्रो घरमा केही पनि छैन, त्यसैले’!

जेनजीलाई मुसे दौड प्रतियोगितामा जान रहर छ । नेपालको शिक्षा प्रणालीले मुसे दौडभन्दा सामूहिक अग्रगमनको बाटो देखाउन सकेको छैन । राजा वीरेन्द्रले मोहम्मद मोहसिनको कर्मचारी उत्पादन गर्ने शिक्षा प्रणालीलाई सदर गरेका थिए । ०४६ साल वा ६३ सालपछि आएका क्रान्तिकारी सरकारहरूले त्यसमा सुधार गर्नुपर्ने कुनै आवश्यकता देखेनन् । जेनजी उपद्रव त्यसैको परिणाम हो । 

उट्पट्याङ मन्त्रिपरिषद् !

यो अन्तरिम सरकार जेनजीका नाममा कुनै तिलस्मी शक्तिले पर्दा पछाडिबाट बनाएको एक सिण्डिकेट प्रतीत हुन्छ । प्रधानमन्त्री सुशीला कार्की आफै एक विरोधाभाषपूर्ण पृष्ठभूमिबाट आएकी हुन् । जुन कुरा कुनै बेला खिलराज रेग्मीमा लागू हुनुहुँदैन थियो, आज उनी त्यसैमा आसिन छिन् । उनको टीमका सदस्यहरू लोकरिझ्याईंलाई अस्त्र बनाउँदै छन् । 

विद्वान् अर्थशास्त्री रामेश्वर खनाल, लोकप्रिय आविष्कारक महावीर पुन वा लोडसेडिङ्गका संहारक कुलमान घिसिङहरू भन्छन्, हामीलाई तलब भत्ता चाहिँदैन । जो आफूले गरेको कामको तलब भत्ता लिँदैन, कि त्यो मूर्ख हो वा चतुर । तलब भत्ता राज्यको काम गरेबापत पाउने कुरा हो । त्यो लिने र काम गर्ने हो । त्यो नलिएर के सावित गरेको ? धेरै सुकिलो देखाउन खोज्ने मान्छेहरू प्रायः भित्रबाट अर्कै हुन्छन् । अर्को सञ्चारमन्त्री नियुक्त भएको छ । कुनैबेला यो मान्छेले नेकपा एमालेनिकट प्रेस चौतारीको छाता ओढेको थियो । पछि नेपाली कांग्रेसको सक्रिय सदस्यतासमेत लिएको रहेछ । तातो तावामा क्यामेरा अघिल्तिर राखेर मान्छेको दिमाग भुट्न जति सजिलो हुन्छ, मुलुकको सञ्चार नीति तर्जुमा गर्दा आफ्नो मातहतको सचिवलाई ठाडो प्रश्न गर्नु त्यति सजिलो हुँदैन । तर ऊ जेनजीको उम्मेदवार हो । यो मान्छेको कार्यक्रम हेर्दा लेखकको मनमा लाग्छ, ‘यो अलिकति पढेको ऋषि धमला हो ।’

अर्को मन्त्री भन्छ, ‘म मन्त्रालयमै सुत्छु, मलाई कबाडी मन्त्री भन्नु !’ वीरगञ्जको बन्द भएको कृषि औजार कारखानामा हलो कोदालो र सेल पकाउन ताप्के बनाउने मान्छेले जेनजीको साइबर अभिलाषा पुरा गर्छ ? बिदुषकको भीडले अर्को भीडलाई हँसाउन सक्छ । पेट भर्न सक्दैन । 

अब कुरा पुरानाको 

बिभाजित जेनजीबाट अहिले मन्त्रिमण्डल गठनमा भूमिका खेल्दै गरेको सुदन गुरुङले बोल्नुअघि लोकसेवा आयोगले लिने खरदारको परीक्षा उत्तीर्ण गर्नु जरुरी छ । यो मान्छेले सेनापतिको कुनै कर्मचारीसँग कुरा गर्दा ‘एघार बजेभित्र हामीले भनेको भएन भने राष्ट्रपतिलाई उडाइदिन्छु,’ भन्दा बाँकी जेनजीहरू के गर्दै थिए ?

हिमालखबरमा जेबी पुन मगरले लिएको एउटा सामूहिक अन्तर्वार्तामा उपस्थित जेनजीकै अभियन्ताहरू सुसूचित र सन्तुलित मात्र थिएनन्, मुलुकले लिने वा लिनुपर्ने भावी कार्यदिशाबारे स्पष्ट थिए । तर सरकार बनाउने छलकपटमा उनीहरूको कुनै भूमिका छैन । कसले खोस्यो यो अभियान ? जसले खोसोस्, अहिले बढारिएका ‘पुराना’ राजनीतिक दलको सहभागिता बिना नेपालको रूपान्तरण सम्भव छैन । सुशीला कार्की र अपारदर्शी जेनजीको छ महिने जागिर एउटा कुरा हो । दलहरूको रूपान्तरण अर्कै । समस्या दल कब्जा गरेर बसेका नेतामा थियो । दलमा होइन । प्रणालीमा होइन । सुशीला कार्कीले गर्ने चुनाव ज्ञानेन्द्र शाहको स्थानीय चुनावजस्तो नहोस् ।

(जनआस्था साप्ताहिकको असाेज ८ गते बुधबारको अंकमा प्रकाशित)

 

टिप्पणीहरू