सगरमाथा पुगेर फर्कंदै नफर्कने त श्रीमान् ?

सगरमाथा पुगेर फर्कंदै नफर्कने त श्रीमान् ?

राष्ट्राध्यक्ष वा राष्ट्रपति, उपराष्ट्रपति महामहिम/सम्मानित पद हो । राजतन्त्रात्मक व्यवस्थामा राजालाई राष्ट्रिय एकताको प्रतीक मानिन्थ्यो । जन्मेपछि नमरुञ्जेलसम्म राजा बन्न पाउनेहरू एकताको प्रतीक बन्न सके वा सकेनन् ? यो फरक विश्लेषणको पाटो हो तर लोकतान्त्रिक मुलुकमा राष्ट्रपतिबाट मात्रै यस्तो अभिभावकीय भूमिकाको आशा गर्न सकिन्छ । हाम्रै देशमा पनि अहिलेसम्मका राष्ट्रपतिले अभिभावकीय भूमिका खेल्न सके वा सकेनन् ? समीक्षा हुनै बाँकी छ । तर कमसेकम जनताका छोराछोरी राष्ट्रपति हुन पाउने व्यवस्थामा एउटै व्यक्तिलाई विष्णुको अवतार मानेर जीवनभर पुज्न भने पर्दैन । पात्रहरू फेरिइरहने भएकाले जसलाई पनि त्यो उच्च पदमा पुग्ने अवसर छ, रहिरहन्छ ।

यतिबेला बढी चर्चा राष्ट्रपति, उपराष्ट्रपति या अरू कुनै उच्च पदमा पुगेको व्यक्ति फेरि राजनीति या जुनियर पदमा फर्कन पाउने कि नपाउने भन्नेमा छ । यसमा कुनै प्रतिबन्धित कानुन छैन । निरङ्कुश भनौँ या जनवादी गणतन्त्रात्मक देशको कुरा फरक हो, ऊ पटकपटक त्यही पदमा रहिरहन पाउँछ । वर्तमान व्यवस्थाले कसैलाई विष्णुको अवतार मानेको छैन । नेपालको संविधान २०७२ ले पनि नागरिकको हक अधिकारको ग्यारेण्टी गरेको छ । राष्ट्रपति, उपराष्ट्रपति पनि पद सकिएपछि स्वतन्त्र नागरिक नै हुने हुँदा चाहनाअनुसार राजनीतिमा फर्कनु यही संविधानभित्रको अधिकार हो ।

अर्कोतिर लोकतन्त्रमा सबै नागरिकलाई बराबर राजनीतिक स्वतन्त्रता हुन्छ । संयुक्त राष्ट्रसंघको विश्वव्यापी घोषणापत्रमा समेत उल्लिखित यो स्वतन्त्रतामाथि कसैले अंकुुश लगाउन मिल्दैन, सक्दैन । वर्तमान व्यवस्थामा सबै व्यक्ति नागरिक भएकाले पदावधि सकिएपछि उसले पनि आफ्नो अधिकार प्रयोग गर्न पाउँछ । त्यसैले चाह्यो भने कुनै व्यक्ति राजनीतिको तल्लो भूमिकामा त के, कुनै जागीर, पेशा, व्यवसायमा फर्कन सक्छ, पाउँछ । फेरि राष्ट्रपति, उपराष्ट्रपति वा अन्य कुनै व्यक्ति पदमा रहँदासम्म ऊ कानुनअनुसार संवैधानिक भूमिकामा रहने हो । सबैको बन्ने हो । विद्यमान व्यवस्थामा उसको पद आजीवन नभएकाले इच्छा लागे आफ्नो पार्टीमा फर्केर सक्रिय राजनीति गर्न, चुनाव लड्न, फेरि उच्च पदमा रहँदाका अनुभव साँट्दै जनता र राष्ट्रको प्रत्यक्ष सेवामा जान ऊ स्वतन्त्र छ, हुन्छ ।

विश्वका विभिन्न उदाहरण हेरौँ । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा पदावधि सकिएपछि छोरी पढाउने खर्च जुटाउन क्याम्पस अध्यापनमा फर्किए । पूर्वराष्ट्रपति जिम्मी कार्टर राजनीतिक तथा सामाजिक कार्यमा सक्रिय भइरहे । वर्तमान राष्ट्र«पति व्यापारबाट राजनीतिमा आए । पहिलो कार्यकाल सकिएपछि फेरि चुनाव लडेर राष्ट्र«पति जिते । वैज्ञानिक अनुसन्धान भनेपछि हुरूक्कै हुने एलन मस्कले तिनै डोनाल्ड ट्रम्पलाई जिताउन आर्थिक, भौतिक सहयोग गरे ।

उनीहरूबीच मनमुटाव भएपछि आफैँले पार्टी खोलेर राजनीति नछाड्ने सन्देश दिएका छन् । अमेरिकी संविधानले समेत कसैलाई प्रतिबन्ध लगाएको छैन राजनीतिमा फर्कन । चिलीका राष्ट्रपति मिचेल बाचेलेट २००६ देखि २०१० र २०१४ देखि २०१८ गरी दुई कार्यकालसम्म राष्ट्रपति बने । उनले पहिलो कार्यकालपछि राष्ट्रसंघको उच्च पदमा प्रतिनिधित्व गरी पुनः राजनीतिमा फर्केर दोस्रोपटक राष्ट्रपतिमा चुनाव जितेका हुन् । उरुग्वेका पूर्वराष्ट्रपति होजे मुजिकाले पदबाट अवकाश लिएपछि पनि पार्टीभित्र विचार राख्न, सल्लाह दिन छाडेनन् ।

पार्टीको माया मारेनन् । रुसका भ्लादिमिर पुटिनको राजनीतिमा पटकपटक उदय भइरह्यो । उनी सन् २००० देखि २००८ सम्म राष्ट्रपति भए । पछि प्रधानमन्त्रीको भूमिका लिएर राजनीतिमै फर्किए । पुनः राष्ट्रपतिको उम्मेदवार बने । जति आलोचना भए पनि सत्तामा रहिरहे । पार्टीलाई माया गर्दै डोर्‍याउन छाडेनन् । छिमेकी मुलुक भारतमा समेत राष्ट्रपति, उपराष्ट्रपतिलाई पुनः राजनीतिमा फर्कन निषेध छैैन ।त्यहाँका उपराष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णनले पदावधि सकिएपछि पनि आफू हुर्केको पार्टीलाई मार्गदर्शन गरिरहे । 

नेपालमै पनि प्रधानमन्त्री, मन्त्री, प्रधानन्यायाधीश भइसकेका व्यक्ति राजनीतिलगायत अन्य भूमिकामा फर्केको देखिन्छ । प्रधानमन्त्री मात्रिकाप्रसाद कोइराला पछि राजदूत भएको, प्रधानमन्त्री कीर्तिनिधि विष्ट र तुलसी गिरी राजाको सरकारमा उपाध्यक्ष भएको इतिहास छ । प्रधानन्यायाधीश खिलराज रेग्मी अस्ति भर्खर त हो, दोस्रो संविधानसभा निर्वाचन गराउने सरकारको अध्यक्ष भएको । पछि पनि परराष्ट्र मन्त्री भइसकेका व्यक्ति महेन्द्र  पाण्डे र दीपकुमार उपाध्याय राजदूत बनेर चीन र भारत गएकै हुन् । 

अतः उल्लिखित उदाहरण र अनुभवबाट थाहा हुन्छ कि राष्ट्राध्यक्ष भइसकेका व्यक्ति पुनः सक्रिय राजनीतिमा आउँदा वा पार्टीमा फर्कंदा कुनै फरक पर्दैन । आकाश खस्दैन । सगरमाथाको उचाइ घट्दैन । बरू यस्तो व्यक्ति राजनीतिमा आउँदा वा पार्टीको नेतृत्व गर्दा त्यो पार्टी झन् मजबुत हुन सक्छ । आफूले प्रमुख भएर कमाइसकेको लोकप्रियता गुम्ने डरले पनि उसले पार्टीको आवरणमा गलत कार्य गर्न सक्दैन, डराउँछ । ऊ सही भएपछि पार्टीका अन्य नेता, कार्यकर्ता गलत बाटो लाग्न पाउँदैनन् । यसले पार्टीलाई नै सुन्दर र बलियो बनाउँछ । यति सुन्दर पार्टी र नेताले सरकार चलाउन पाए देशै सुन्दर र बलियो हुन्छ । देशै सुन्दर र बलियो भएपछि तब पो शुरु हुन्छ, सुख र समृद्धिको यात्रा ।

यस्तै कूटनीतिक, प्रशासनिक, संवैधानिक, व्यावहारिक अनुभव हुने भएकाले उनीहरूको अनुभव पार्टी, सरकार र नागरिकका लागि उपयोगी हुन्छ । त्यसैले पूर्वराष्ट्रपति, उपराष्ट्रपति वा उच्च ओहोदामा पुगेका व्यक्तिले पार्टीलाई परिपक्व विचारसहित नीतिगत मार्गदर्शन दिनसक्ने भएकाले उनीहरू राजनीतिमा फर्कनुलाई अन्यथा मान्नु हुँदैन । उनीहरू राजनीतिमा आउनहुन्न भन्नु सगरमाथाको चुचुरोमा पुगेपछि तल फर्कनैहुन्न, रूखको टुप्पोमा पुगेपछि तल झर्नैहुन्न भन्नुजस्तै हो कि ? बरू यस्तो प्रयोग राजनीतिलगायत अन्य क्षेत्रमा पनि गर्नु राम्रो हुन्छ । जस्तो राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानमन्त्री, मन्त्री, सचिव, विभिन्न निकायको प्रमुख भइसकेका व्यक्ति, कर्मचारीलाई आफ्नो कार्यकाल सकिएपछि राज्यकोषबाट फेरि विभिन्न सेवा सुविधा, पेन्सन, पुनः नियुक्ति दिएर राज्यलाई नै बोझ थप्नुभन्दा सबैले आ–आफ्नो पेशा व्यवसायमा फर्कनु या गर्नु झन् गज्जब हो कि !!

टिप्पणीहरू