कमरेड, कि बलिदान गर कि कारवाही
वि.सं. २०४८ सालको आमचुनावमा काठमाडौं क्षेत्र नं १ बाट सन्त नेता कृष्णप्रसाद भट्टराईको अप्रत्यासित हार भयो । अन्तरघातको अडकलसहित गणेशमानलगायत अन्य नेताले गिरिजाप्रसाद कोइरालालाई कारवाही गर्न सुझाउँदा उनले भनेका थिए रे, ‘बिपी कोइराला, जसले मलाई महामन्त्री, सभामुख र सभापति बनाए, उनको भाइलाई म कारवाही गर्न सक्दिनँ । र, गिरिजालाई कारवाही गरेर कांग्रेस फुटाएको दोषको भार लिन पनि सक्दिनँ । मैले कारवाही गरेँ भने कांग्रेस चिरिन्छ र लाश हुन्छ । पार्टीलाई लाश हुन दिनुभन्दा म आफैं यसबाट अलग भइदिँदा जीवन रहन्छ भने रहोस्, फलोस् र फुलोस् ।’
त्यसपछि कांग्रेसमा के भयो इतिहास साक्षी छ । जसले क्षमा गरे उनी इतिहासमा ‘सन्त’ भए भने जसमाथि अन्तरघातको आरोप लाग्यो, उनी नै कैयनपटक प्रधानमन्त्री बने । यसैबाट पुष्टि हुन्छ कि, अन्तरघातपछि संगठनमा दुइटा मात्र बाटा हुन्छन्, कि छानी छानी कारवाही गर्ने कि बलिदान दिएर संगठनलाई जोगाउने । अन्तरघातले छिया छिया भएको संगठनभित्र बलिदान र कारवाही गर्ने राजनीतिक मुटुमा हिम्मत हुनैपर्छ । कीर्तिपुरको एमाले लगातार हार्दै जानुको कारण यी दुइटै हिम्मतको रिक्तता नै हो । यहाँ न बलिदान भयो न त कारवाही नै ।
चुनावको इतिहास जति लामो छ, त्यति नै अन्तरघातको कथा पनि तन्किएको छ । संसारमै चिनिएका नेता पनि अन्तरघातका कारण पराजित भएको इतिहास छ । चुनाव एउटा युद्ध हो । युद्धमा आफ्नैबाट घात हुनु स्वभाविक मानिएला । विभिषणले रावणको मृत्यु कहाँ छ भनेर देखाइदिनु, दुर्योधनको भाइ युयुत्सुले पाण्डवको मोर्चामा गएर धनुष चलाइदिनु, दुश्मनबाट भाग्ने क्रममा अगाडि भागेको सेनापतिलाई पछाडिबाट आफ्नै उपसेनापतिले टाउको काटिदिनु सामान्य ठानिन्छन् । युद्धमा जस्तो चुनावी घातले भौतिक क्षति त हुँदैन तर मानसिकरुपमा निकै आघात पुर्याइदिन्छ । युद्धको घात दृश्य र चुनावको घात अदृश्य हुने भएकोले चुनावपछि शंका र उपशंकासिवाय केही बाँकी रहँदैन, जसले गर्दा त्यो क्षेत्रमा कैयनपटक घात–प्रतिघात चलेर प्रतिद्वन्द्वीलाई लाभै लाभ भैरहन्छ । सबै नेता किसुनजी जस्ता हुँदैनन् । आफू शहीद भएर संगठन जोगाउने नेता निकै कम हुन्छन् ।
कुनै पनि युद्ध जित्दा केवल एउटा सेनापतिको नाम आउँछ, उसलाई अबिरले छोप्दै जयजयकार गरेपछि युद्धको चर्चा सकिन्छ । तर हारमा गोला बारुद बनाउने कालिगढदेखि त्यो गोलाबारुद्ध युद्धमैदानमा पु¥याइदिने भरियाको समेत नाम आउँछ । कालिगढले बनाएको गोली कच्चा थियो वा भरियाले गोली ओसार्दा बीच बाटोमै अर्को कच्चा गोलीसित साँटिदियो । यस्ता कुरा हारपछि आउनु स्वाभाविक हो । कीर्तिपुर नगरपालिकामा पनि एमालेको जीत भएको भए यस्ता कुरा उठ्ने नै थिएन । हारपछि अनेक कुरा आए, अन्तरघातका । अब साँच्चिकै कीर्तिपुरमा एमालेको संगठन जोगाउने हो भने कि बलिदान गर्न सक्नुप¥यो, कि कारवाही । यो दिल नजोडिएको अँगालोले सच्चा कार्यकर्ताको मन अर्को चुनावमा पनि टुक्रिने खतरा टड्कारो छ ।
कीर्तिपुरको एमाले नेतृत्व अब युवा प्रतिनिधिको हातमा सुम्पिइयोेस्, जसको मुखमा राजनीतिक धब्बा नपोतिएको होस् । स्थानीय नेता र कार्यकर्ताबाट स्वीकारिएको होस् । जो ०७८ र ०८१ सालको स्थानीय चुनावमा नकाटिएको होस् र जसको हातमा ०८४ को लागि तरवार पनि नहोस् । नगर कमिटी लगातार दुईपटक स्थानीय चुनावमा शून्य प्रतिफलको लज्जाले निहुरिसकेकोले, नैतिकतामा खाली होस् र त्यो नैतिकताले सिर्जेको शून्यताले पाउने नुतन पूर्णताले यो हिम्मतिलो आवाज बोलोस् कि ‘दुई थान हारले कीर्तिपुरमा एमाले सकिएको छैन । संगठनमा बेइमानी भयो तर इमान्दारिता मरेको छैन । कीर्तिपुरमा एमालेभित्र प्रवेश गर्न चाहने सयौँ युवा पंक्तिबद्ध छन् । उनीहरूलाई सदस्यता वितरण गरेर क्षमताअनुसार जिम्मेवारी वितरण गरौँ । पार्टीमा युवाको प्रवेशलाई फूल छरेर हार्दिक भावमा स्वागत गरौँ । गोजीभित्र संगठन राख्न बन्द गरौँ । संगठनका गरिमामय कमिटीहरू गोजीबाट गठन हुने प्रथा निषेध गरौँ । संगठनभित्र बरु दुई बेइमानलाई कारवाही गरौँ तर दश इमान्दारलाई जोगाऔँ ।’ कीर्तिपुरको एमाले सच्चिएर जान आवश्यक छ । र अन्त्यमा, कवि भूपिको दुई पंक्तिलाई सम्झिनै पर्ने भएको छ ।
‘हुँदैन बिहान, दुईचार तारा झरेर नगए
बन्दैन मुलुक, दुईचार सपुत मरेर नगए’
यो बेला कीर्तिपुरको एमाले सगरबाट दुईचार तारा झर्नुपर्ने बेला हो । हेरौँ, कुन कुन तारा झर्छन् ।
टिप्पणीहरू