संसद र संसद भवन

संसद र संसद भवन

राष्ट्रपतिले संसद विघटन गरेकोमा पार्टीहरू संसद किन यस्तो गरेको भनेर चिच्याइरहेका छन् । प्रधानमन्त्रीले सिफारिस गर्नेबित्तिकै राष्ट्रपतिले संसद विघटन गरेकोमा कांग्रेस र माओवादीले विरोध गर्नुको कारण त थाहा भयो ।

तर यही कुरालाई नेकपा (एमाले) ले किन इज्जतले सवाल बनाएको हो, त्यो भने थाहा भएन । यसमा यदि ओली बाको पनि विरोध छ भने त्यो झनै अनौठो हुने भयो । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विरोध गर्नुभयो कि समर्थन गर्नुभयो, त्यो थाहा हुन सकेको छैन । 

अब जहाँसम्म संसद विघटन गर्न हुन्छ कि गर्न हुन्न भन्ने प्रश्न छ, यो त कुनै प्रश्नै भएन । किनभने यतिबेला देशमा संसद भवन नै छैन । भएको संसद भवन त जलाइसके । अब संसद भवन नै छैन भने संसदको बैठक कहाँ बस्ने ? अब संसद भवन नै जलाएपछि बैठक कहाँ बस्छ ? पार्टीहरूको बैठकजस्तो पार्टी प्यालेसमा बस्न त मिलेन । किनभने त्यहाँ न घेर्नलाई रोष्ट्रम हुन्छ, न हान्नलाई माइक ।

संसद बैठक भनेपछि त्यहाँ केवल बोल्ने मात्र काम हुँदैन । बोल्नेभन्दा बढी हान्ने, तान्ने र ठोक्ने, ठटाउने कार्यक्रम हुन्छ । यस्तो सुविधा नभएको ठाउँमा संसदको बैठक बस्नै सक्दैन । त्यसैले राष्ट्रपतिज्यूले संसद जो भंग गर्नुभयो, त्यो राम्रो गर्नुभयो । वास्तवमा अब भविष्यमा पनि कुनै प्रधानमन्त्रीलाई संसद भंग गर्नु छ भने सबैभन्दा पहिले संसद भवनमा आगो लगाइदिनुपर्छ । त्यसपछि संसद भंग नगरी सुख्खै छैन । हुनेवाला प्रधानमन्त्रीहरूलाई चेतना भया! 

(जनआस्था साप्ताहिकको असाेज १ गते बुधबारको अंकमा प्रकाशित)

टिप्पणीहरू