वामपन्थीले घरैमा दशैं मनाउनुपर्छ कि पर्दैन ?

वामपन्थीले घरैमा दशैं मनाउनुपर्छ कि पर्दैन ?

नेपाली समाजमा वामपन्थी वा समाजवादी विचारधारालाई अपनाएर दैनिक जीवन चलाउन निकै जटिल र चुनौतीपूर्ण छ । यो सैद्धान्तिक बहसको कुरा मात्रै नभएर हाम्रो दैनिक जीवनको वास्तविकता हो । घरपरिवारको बनावट, सांस्कृतिक परम्परा र सामाजिक चेतहरूले हामी सबैको जीवनमा निरन्तर प्रभाव र दबाब दिइरहेका हुन्छन् । यिनैका कारणले हाम्रो वैचारिकी र दैनिक व्यवहारमा तारतम्य मिलाउन धेरै मुश्किल पारिरहेको छ । घरमै पनि ६ महिना, वर्षदिनमा पितृको श्राद्ध गरिन्छ, जनैपूर्णिमाजस्ता चाडपर्वमा ससुरालीबाट निम्तो आउँछ, आफ्नै घरमा पनि पूजाआजा गर्नुपर्ने बाध्यता छ । यी सांस्कृतिक अभ्यासले हामीले भन्ने गरेको वैज्ञानिक सोच र तदनुसारको जीवनशैलीबीच ठूलो विरोधाभाष पैदा गराएको छ । 

सबैभन्दा पहिले, नेपाली समाजको सामाजिक–साँस्कृतिक संरचनालाई बुझ्न आवश्यक छ । नेपाल बहुजातीय, बहुसांस्कृतिक परम्परा तथा रीतिरिवाज भएको देश त हो तर यहाँको समाजमा हिन्दू धर्म, परम्परा र रीतिरिवाजको प्रभाव ज्यादा छ, अन्य धर्मको पनि प्रभाव नभएको होइन । विभिन्न चाडपर्व, धार्मिक–साँस्कृतिक तथा सामाजिक मान्यताले समाजलाई बलियोसँग बाँधेको छ । समाजको ठूलो हिस्साले अँगालिरहेको वामपन्थी विचारधाराको मूल आधार भनेको माक्र्सवाद हो । माक्र्सवादको मूल आधार विज्ञान हो । धर्म वर्गीय शोषणलाई ढाकछोप गर्ने माध्यम ‘गरिब जनताको अफिम’ हो ।

तर, व्यावहारिक जीवनमा अधिकांशलाई यो सिद्धान्त लागू गर्न धेरै कठिन छ । उदाहरणका लागि, जनैपूर्णिमा जसलाई रक्षाबन्धन भन्न थालिएको छ, एक प्रकारको धार्मिक परम्परा हो । यो दिन जनै लगाउने, राखी बाँध्ने र ब्राह्मणलाई दान दिने चलन छ । खासमा यो परम्पराले वर्णव्यवस्था र पुरुषवादी संरचनालाई बलियो बनाउने काम गर्छ । वामपन्थी विचार राख्ने जो–कोहीका लागि यो अन्धविश्वासपूर्ण कार्य हो तर हाम्रो समाजले यसलाई पारिवारिक एकता, सांस्कृतिक पहिचान र त्यसको निरन्तरताका निम्ति आवश्यक रहेको भनेर प्रस्तुत गर्छ । यसमा भाग नलिने हो भने ‘परिवारबाट अलग’ वा ‘समाज विरोधी’ जस्तो व्यवहार सहनुपर्ने हुन्छ । यसले वैचारिक प्रतिबद्धता तथा व्यक्तिगत सम्बन्धमा समस्या सिर्जना गर्न सक्छ । घरभित्र त यो दबाब अत्यन्तै चर्को हुन्छ ।

चाडपर्वमा आउने निम्तोलाई अस्वीकार गर्दा समाजमा एक्लिने जोखिम हुन्छ । पुँजीवादले यी चाडपर्वलाई उपभोगवादमा बदलदिएको छ तर समाजले यसलाई ‘सांस्कृतिक धरोहर’ ठान्छ ।

परिवारका सदस्यहरूले श्राद्धमा, धार्मिक अनुष्ठानमा सहभागी हुन दबाब दिन्छन् । श्राद्ध भनेको पितृहरूलाई समर्पित अनुष्ठान हो, जसमा मृतकका नाममा भोजन र दान दिने चलन छ । वामपन्थी दृष्टिकोणबाट हेर्दा मृत्युपछि जीवन छ भन्ने कुरा अन्धविश्वासमा आधारित छ, त्यसले वैज्ञानिक सोचलाई चुनौती दिन्छ । माक्र्सले भनेजस्तो ‘धर्मले दुःखीहरूलाई सान्त्वना दिन्छ तर यो सान्त्वना काल्पनिक हो ।’ तर, जब आफ्नै आमाबुबाको वार्षिक श्राद्ध गर्नुपर्ने हुन्छ वा ससुरालीमा बोलाइन्छ । वैचारिक प्रतिबद्धता कायम राखेर त्यो कार्यमा सहभागी नहुन गाह्रो हुन्छ । यसले भावनात्मक ब्ल्याकमेलजस्तो स्थिति सिर्जना गर्छ, या त वैचारिकता छाड्नुपर्ने कि भने नाता सम्बन्ध तोड्नुपर्ने । 

हाम्रो समाजमा चाडपर्व सामूहिक उत्सवका रूपमा मनाइन्छन् । तिज, दसैँ, तिहार, माघी, गौरापर्व, छठ, होलीजस्ता पर्व सामूहिक रूपमा मनाउने चलन छ र मनाउन निम्तो नै आउँछन् । ठुल्ठूला समारोहकै आयोजना गरिएका हुन्छन्, राष्ट्रपतिले दशैंमा टीका लगाइदिन्छन् । चाडपर्वमा आउने निम्तोलाई अस्वीकार गर्दा समाजमा एक्लिने जोखिम हुन्छ । पुँजीवादले यी चाडपर्वलाई उपभोगवादमा बदलदिएको छ तर समाजले यसलाई ‘सांस्कृतिक धरोहर’ ठान्छ । यहाँको सिंगो वामपन्थ यस किसिमको चपेटामा परेको छ । यस्ता सांस्कृतिक मुद्दासँग जुध्नुपरेको छ । यसले के देखाउँछ भने वैचारिक क्रान्ति राजनीतिक मात्रै होइन, साँस्कृतिक पनि हुनुपर्छ ।

यस वैचारिक संघर्षको जडमा साँस्कृतिक प्रभुत्ववाद छ । माक्र्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले प्रभुत्वमार्फत शासक वर्गले आफ्नो विचारधारालाई सामान्य बनाउने कोसिस गर्छन् भनेका छन् । नेपालमा हिन्दू सांस्कृतिक प्रभुत्ववादले वामपन्थीलाई ‘असाँस्कृतिक’ ठान्छ । पूजामा सहभागी नहुँदा वा किरिया नबस्दा ‘अराजक’ ‘नास्तिक’ वा ‘विदेशी विचारको प्रभावमा परेको’ भनेर गाली गर्छ । यस्तो आरोपबाट बच्न सजिलो छैन, किनकि समाज र परिवारले परम्परागत चलनलाई नै जोड दिन्छन् । आफ्नै घरमा बोलाउनुपर्ने बाध्यता यसको उदाहरण हो । जस्तोः वामपन्थी हो भने घरमा दशैं मनाउनुपर्छ कि पर्दैन ? यस प्रश्नले धेरैलाई द्विविधामा पार्छ । यो विषय लिंग र वर्गसँग पनि जोडिएको छ । महिलामा यो दबाब बढी हुन्छ । वामपन्थी विचारधारा बोकेका महिलालाई पनि तीज वा अन्य पर्वमा उपवास बस्नुपर्ने चर्को दबाब झेल्नुपर्छ । वर्गीय दृष्टिबाट, गरिब परिवारमा यस्ता पर्वले आर्थिक बोझ थप्ने काम गर्छन् ।

उसोभए यस चुनौतीको समाधान के त ? पहिलो, वैचारिक स्पष्टता आवश्यक छ । वामपन्थीले साँस्कृतिक अभ्यासलाई पूर्णरूपमा अस्वीकार गर्नुको साटो, तिनलाई वैज्ञानिक र समानतामूलक बनाउने तरिकाको खोजी गर्नुपर्छ । उदाहरणस्वरूप, जनैपूर्णिमालाई ‘भाइबहिनी दिवस’ का रूपमा मनाउने, जसमा अन्धविश्वासलाई हटाएर पारिवारिक एकतामा जोड दिने । दोस्रो, परिवार र समाजसँग निरन्तर संवाद गरी वैचारिक मतभेदलाई सम्मानजनक रूपमा राखेर कम गर्ने । तेस्रो, वैकल्पिक उत्सव विकास गर्ने जसले साँस्कृतिक प्रभुत्ववादलाई चुनौती दिन्छ । 

अन्त्यमा, वामपन्थी विचार दर्शनको अध्ययन मात्रै होइन, यो जीवनको परीक्षा पनि हो । समाजमा वामपन्थी बन्नु भनेको निरन्तर संघर्ष हो । साँस्कृतिक दबाबले वैचारिक प्रतिबद्धतालाई चुनौती दिन्छ तर यसलाई पार गरेर मात्र सच्चा वामपन्थी–समाजवादी बन्न सकिन्छ ।
 

टिप्पणीहरू