विधान महाधिवेशनमा फरक मत राख्ने पाण्डेको तयारी
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण खारेज गरिएको विषय एमालेको आगामी विधान महाधिवेशनमा प्राथमिकताका साथ उठ्ने भएको छ । पार्टीको आन्तरिक लडाइँ केही तितो भए पनि निष्कर्षमा पुर्याउने अठोट उपाध्यक्ष सुरेन्द्र पाण्डेले लिएका छन् ।
‘सेन्टर फर पब्लिक पोलिसी रिसर्च’ले राजधानीमा आयोजना गरेको ‘एमालेको लोकतान्त्रिकरण’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले आगामी भदौ २० गतेदेखि गोदावरीमा सुरु हुने विधान महाधिवेशनमा फरक मत राख्ने प्रष्ट जानकारी पनि गराए ।
उनले भने, ‘पछिल्लो केन्द्रीय कमिटीको बैठकमा म सहित अरु साथीहरूले फरक मत राखेका थियौँ। त्यसलाई तत्काल माइन्युटमा राख्न लेखन टोलीलाई दिएका थियौँ, तर त्यो आपानिमा सर्कुलर भएन। त्यसपछि युवराज ज्ञवाली र मैले छलफल गरेर पार्टीमा प्रस्तुत गरेका छौँ। आगामी महाधिवेशनमा स्वभाविक रूपमा हाम्रो फरक मत रहन्छ।’
उपाध्यक्ष पाण्डेले पूर्व राष्ट्रपति भण्डारीलाई रोक लगाउने निर्णय संविधान विपरित रहेको दाबी गरेका छन् । ‘संविधानले रोक्न नदिएको कुरालाई कुनै पार्टीले विधान बनाएर रोक्न मिल्छ र? लोकतान्त्रिक अधिकारलाई रोक्ने काम पार्टीले गर्न सक्दैन। पार्टीको सदस्य बन्नासाथ पार्टीको अध्यक्ष बन्ने कुरा हुँदैन, अध्यक्ष बन्ने प्रक्रिया अलग छ। यो विषय पनि हामी विधान महाधिवेशनमा उठाउनेछौँ,’ उनले भने।
उनले अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति भण्डारीबीचको टकराव केही तितो देखिए पनि चाँडै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे। ‘यो लडाइँ केही तितो र केही अप्ठ्यारो बन्नसक्छ, केही समय लाग्नसक्छ, तर निष्कर्षमा पुग्नेमा हामी विश्वस्त छौँ। पार्टीमा स्थापित मूल्य र मान्यताभित्र बसेर यो बहसलाई निष्कर्षमा पुर्याउनेछौँ’ उनले थपे।
टिप्पणीहरू