प्रधानमन्त्री निवासमा पोष्टर टाँस्नेहरु कसरी समातिए ?
जेन जी अभियन्ता भनिएकाहरु प्रधानमन्त्री सुशीला कार्कीको फोटो राखेर अनेक खालको पोष्टर टाँसेवापत करिब २४ घण्टा प्रहरी हिरासतमा बसेर छुटेका छन् । ‘गरिखान देऊ’ समूहका प्रकाश शर्मालगायत लाई प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै डिजिटल पोष्टर प्रधानमन्त्रीको सरकारी निवासको भित्तोमा टाँसेलगत्तै प्रहरीले पक्रेको थियो ।
उनीहरुले आफ्नो माग पूरा गर्न नसके राजीनामा दिन आग्रह गर्दै लेखेका थिए,‘हाम्रो माग पुरा गर्न सक्नु हुन्न भने राजीनामा दिनुस् ।’ त्यस्तै प्रधानमन्त्रीमाथि जेन जी आन्दोलन हाइज्याक गरेको आरोप लगाउँदै लेखियो, ‘आन्दोलन हाइ ज्याक गर्न पाईंदैन,आमै तिम्रो सरकार चाहिँदैन ।’
हास्यव्यङ्ग्य कलाकार हरिवंश आचार्यको गीतको भाकामा शर्मा समूहले प्रधानमन्त्रीलाई बाठीको संज्ञा दिएको छन । त्यससम्बन्धी पोष्टरमा फोटोसहित लेखिएको छ, ‘हाम्री आमा साह्रै नै बाठी छन्,रगतसङ कुर्सी पो साँटी छन् ।’ गरि खाने समूहले बनाएको पछिल्लो पोष्टरमा ‘रगतमा खेल्न पाईंदैन,निकम्मा सरकार चाहिँदैन’ उल्लेख छ ।
यता प्रधानमन्त्रीको सरकारी निवासमा तैनाथ सुरक्षा समूहले शुक्रबार राति पर्खालमा पोष्टर टाँसेर भागेपछि शर्मालाई पक्रेको बतायो । त्यसक्रममा चार जनामध्ये एक जना रुसी दूतावासको गल्लीमा,दुई जना प्रधानन्यायाधीशको निवास जाने मार्गमा र अर्का एक जना दूतावास अगाडिको गल्लीमा छिरेपछि सिसिटिभी क्यामराबाट उनीहरुको पहिचान गरिएको बालुवाटार स्रोतको दावी छ ।
सुरक्षा स्रोतले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी भ्रष्टाचारमा समातिएपछि प्रधानमन्त्रीको राजीनामा माग्दै एकथरी त्यसरी आक्रोशित बन्न पुगेको बतायो । अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान तीव्र बनाएपछि प्रमुख आयुक्तलाई ज्यान मार्ने धम्की दिइएको थियो । त्यसरी धम्की दिनेमध्ये तीन जना यसअघि नै पक्राउ परिसकेका छन् ।
टिप्पणीहरू