गाेकुल बाँस्कोटाको विश्लेषण- ‘डराएको कुकुर धेरै भुक्छ’

गाेकुल बाँस्कोटाको विश्लेषण- ‘डराएको कुकुर धेरै भुक्छ’

नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘डराएको कुकुर’को संज्ञा दिएका छन् । पार्टीको ११औँँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा उनले ईश्वर पोखरेल खेमाका महाधिवेशन प्रतिनिधिहरुसँग ओलीको सम्भावित पतनबारे चर्चा गरेका हुन् । 

बताइएअनुसार अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष पोखरेलको पक्षमा खुलेरै लागेका बाँस्कोटा, योगेश भट्टराई, कर्ण थापा, ठाकुर गैरे, विनोद ढकाललगायका नेताहरु हिजो दिउँसो थापागाउँस्थित पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालयमा भेला भएका थिए । त्यहाँ बसेर उनीहरुले हालसम्म पोखरेलको पक्षमा देखिएका महाधिवेशन प्रतिनिधिहरुको नाममा रेजा लगाएका थिए । 

उक्त कामपछि उनीहरु भण्डारीको सम्पर्क कार्यालय नजिकै रहेको कार्निभल रेष्टुरेण्टमा पुगेका हुन् । त्यहाँ पर्खिरहेका महाधिवेशन प्रतिनिधिहरुसँग बाँस्कोटाले ओलीलाई स्टालिनको पतनसँग जोड्दै चर्को आलोचना गरेकाे बताइएकाे छ। ‘केपी ओली स्टालिनकै शैलीमा पतन हुँदैछन्’, उनले भनेका थिए, ‘कुकुर धेरै डरायो भने भुक्छ भनेजस्तो अहिले उनी गुण्डुबाट भुकिरहेका छन् ।’

बाँस्कोटाको टिप्पणीमा थप्दै सचिव योगेश भट्राईले समेत ओलीको कारण पार्टीको भविष्य खतरामा परेको बताएका थिए । पार्टीलाई जोगाउनकै लागि पनि आसन्न महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पोखरेललाई नेतृत्वमा पुर्याउनुपर्नेमा उनको जोड थियो । भट्टराइले पनि स्टालिनकाे उदाहरण दिदै ओलीकाे आलोचना गरेका हुन् ।

रमाइलो के छ भने, कार्निभल रेष्टुरेण्टको माथिल्लो तलमा पोखरेल पक्षधरका नेताहरुले महाधिवेशन प्रतिनिधिहरुसँग आगामी रणनीतिबारे छलफल गरिरहँदा सोही रेष्टुरेण्टको तल्लो तलामा भने अध्यक्ष ओली र महासचिव शंकर पोखरेल निकट मानिने पत्रकारहरु भेला भएका थिए । सोही ठाउँको अर्को कोठामा नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका नेता र पत्रकाहरु भेला भएको बताइन्छ ।

टिप्पणीहरू