मन्त्रीले खोसे सचिवको गाडीको चाबी
‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने उखान कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगामले देखाउने हर्कतसँग मेल खाएको चर्चा छ । मन्त्रालयका सचिवलाई उनले सताउने गरेसङ्गै यस्तो चर्चा चुलिएको हो ।
हाङगामले मन्त्रीको न्यूनतम मर्यादासमेत भुलेर एकोहोरो कर्मचारीमाथि प्रहार गरेको नेपाली कांग्रेसका एक कार्यकर्ताले जनआस्थालाई बताए । उनको बालहठबाट आजित सचिव शरणकुमार पाण्डे दुई महिना लामो बिदामा पुनः बस्न बाध्य भएका छन् ।
बताइएअनुसार प्रचलित ऐन, कानूनसँग मेल नखाने गरी मन्त्रीले कर्मचारी नियुक्तिमा दबाब दिएपछि विवाद शुरु भएको हो । यसअघिका मन्त्रीले करारमा भर्ना गरेका दश जना सवारी चालक र कार्यालय सहयोगीलाई हटाएर उनले आफ्ना मान्छे नियुक्त गर्न ठाडो निर्देशन दिएका थिए । तर, सचिव पाण्डेले विधि र प्रक्रिया नपुर्याई त्यसो गर्न नमिल्ने बताए । मन्त्री भने आफ्ना मान्छे राख्नैपर्ने एकसूत्रीय अडानमा टसमस भएनन् । मन्त्री हाङगामसँग पाण्डेको अनुरोध थियो–खाईपाई आएकाहरुको रोजीरोटी नटुटाऔं,बरु उनीहरुको करार अवधि सकिएपछि नयाँ भर्ना गर्दै जाउँला । यसले राम्रो थिति र प्रक्रिया बस्छ ।
तर, त्यसमा मन्त्री सहमत नहुँदा विवाद थप चर्किंदै गयो । बाहुबलमा विश्वास गर्ने हाङगामले सचिवको गाडीको चाबी खोस्नेसम्मको हर्कत गरेको बताइन्छ । त्यसअघि उनले करारका सबै चालकलाई बोलाएर सचिव पाण्डेलाई बोकेमा कारबाही गर्ने चेतावनी पनि दिएका थिए । पाण्डेले जनआस्थासँग भने,‘मैले त कानूनले दिएको कुरा गर्ने हो । कानूनले दिएको कुरा मिलेसम्म गरेकै छु । कानूनले नै गर्न नसकिने कुरा त जसले भने पनि गर्न सक्दिन । हाम्रा पनि सीमा र दायरा छन् ।’
रीतपूर्वक आफूकहाँ आइपुगेको कुनै पनि काम नअड्काएको उनले दावी गरे । 'म त यहाँ किसानहरूको सेवा गर्न आएको हुँ',उनले भने, ‘गाडी नभएर के भयो ? हिँडेर भएपनि कृषकको सेवामा जान मलाई कसैले रोक्न सक्दैन ।’
यसबीच मंसिर २५ गतेसम्म अढाई महिना लामो बिदामा बसेका उनले बिदापश्चात् के गर्लान् ? त्यो भने हेर्न बाँकी नै छ । संघीय कृषि मन्त्रालयमा सहसचिव रहेका उनी मधेश र बाग्मती प्रदेशको कृषि तथा उध्योग मन्त्रालयमा काम गर्दा विवादमा नपरेका कर्मचारी हुन् ।
यता, हाङगाम भने राजनीतिमा आएदेखि नै अनेक विवाद र लफडामा पर्दै आएका छन् । कांग्रेस नेता उनी ०७९ को चुनावमा ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
मन्त्री हाङगाममाथि पाथीभरा क्षेत्र विकास समितिका सभापतिलाई कुटपिट गरेको आरोप छ भने गत जेठमा बजेट निर्माणका क्रममा सचिवमाथि झम्टिएका थिए । प्रमुख सचिवसँग छलफल गर्न गएको भन्दै उनले सचिव पाण्डेसहित महाशाखा प्रमुखहरूलाई भौतिक कारबाहीको धम्की दिएको कर्मचारीहरूले बताएका छन् ।
उनीमाथि प्रहरी अधिकारीलाई समेत धम्की दिएको आक्षेप छ । ताप्लेजुङका तत्कालिन प्रहरी प्रमुख डिएसपी राजन लिम्बुसहित उनको परिवारकै ज्यान लिने धम्की दिएको समाचार बाहिर आएको थियो । यी सबै घटनाक्रमबारे कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की जानकार हुँदाहुँदै पनि सत्ता जोगाउनुपर्ने बाध्यताले निरीह बनेको एमालेकै एकथरी नेता बताउँछन् ।
टिप्पणीहरू