विद्या भण्डारीप्रति च्यासलबाट ओलीको चर्को आक्रोश
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट समस्या खडा हुने कल्पना आफूले नगरेको बताउनुभएको छ । तर, असन्तुष्ट जमातलाई बोकेर पार्टीमा अकल्पनीय समस्या सृजना गरिएको आरोप उहाँले लगाउनुभयो ।
‘उहाँलाई दुई पटक पार्टीले राष्ट्रपति बनायो, तर फर्केर आएर फेरि पार्टीमा यत्रो समस्या खडा गर्नुहुन्छ भनेर मैले कल्पना पनि गरेको थिएन’, आज च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो, ‘अहिले पार्टीकै असन्तुष्ट समूह, चुनाव हारेका जमातलाई बोकेर कुदिरहनुभएको छ ।’
प्रधानमन्त्री ओलीले राष्ट्रपति हुँदा भण्डारीले पार्टी सदस्यता त्यागेको र त्यागिसकेको सदस्यता नवीकरण नहुने दोहोर्याउनुभयो । भन्नुभयो, ‘पहिला आफै सदस्यता त्यागेर राष्ट्रपति बन्नुभयो, त्यागिसकेको सदस्यता नवीकरण हुने कुरा भएन, उहाँले नयाँ सदस्यताको लागि कुनै प्रक्रियामा पनि जानुभएको छैन ।’
नयाँ बानेश्वरको थापागाउँमा मदन भण्डारी हीरक जयन्ती मूल समारोह समितिको कार्यालय स्थापना गरिएकोमा पनि ओलीले आलोचना गर्नुभएको छ । ‘अर्को वर्षको जन्मदिन मनाउनको लागि अहिलेदेखि नै कार्यालय खोलेर, असन्तुष्ट तत्त्वहरूलाई भेला गर्नुपर्छ ?’ उहाँले थप्नुभयो ।
स्मरण रहोस्, पूर्व राष्ट्रपति भण्डारीले पनि केही दिनअघि विराटनगरमा एमालेमा आफूलाई रोक लगाइएला भनेर कहिल्यै कल्पना गरेको बताउनुभएको थियो ।
‘मैले राष्ट्रपतिको कार्याकाल सकिन बित्तिकै सदस्यता नविकरण गराएकी हुँ, तर पार्टीले नमान्ने निर्णय गरेछ’, उहाँले भन्नुभएको थियो, ‘पुरा निर्णय त मैले पढेको छैन, तर ३५ वर्षसम्म आफूलाई समर्पण गरेको पार्टीले रोक्ला भनेर कल्पना पनि गरेको थिएन ।’
टिप्पणीहरू