वीरगञ्जमा बरामद सक्कली ब्राउन सुगर बर्दिबास पुगेपछि नक्कली
पर्सा प्रहरीले गत चैत २० गते भारतको रक्सौलबाट वीरगञ्जतर्फ आइरहेको एक स्कार्पियोबाट २२० ग्राम खैरो हिरोइन बरामद गरेको थियो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम शाखाको निर्देशनमा नाकामा रहेको इनर्वा प्रहरी चौकीको टोलीले वीरगञ्ज महानगरपालिका १६, रजतजयन्ती चोकमा बीआर–०६–डिई ००७ नम्बरको भारतीय स्कार्पियोको डिक्कीभित्र लुकाइ–छिपाइ राखिएको अवस्थामा उक्त परिमाणको ब्राउन सुगर बरामद गरेको जनाएको थियो ।
गाडीमा सवार चारजना भारतीय कृष्ण कुमार, सुधीर कुमार, अमित कुमार र राजा कुमार पक्राउ परे । उनीहरु भारतको सीमावर्ती बजार रक्सौल निवासी रहेको प्रहरीले जनाएको थियो । घरजग्गा खरिद–बिक्रीलगायतका कारोबार यो समूह सक्रिय देखिन्छ । पक्राउ परेकामध्ये कृष्ण कुमार लागूऔषधको पटके कारोबारीसमेत रहेको प्रहरीको अभिलेखमा देखिन्छ ।
ठूलो परिमाणमा खैरो हिरोइन बरामद भएकाले भोलिपल्ट चैत २१ गते जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन आयोजना गरियो । तर, प्रहरीले नियन्त्रणमा लिएको तीन महिना नबित्दै चारजना भारतीय रिहा भएको खबर डेढ महिनापछि बाहिरिएको छ ।
सरकारी वकील कार्यालयले मुद्दा नचल्ने निर्णय गरेपछि चारजना भारतीय असार १९ मा रिहा भएका हुन् । प्रहरीले खैरो हिरोइन ‘जस्तो देखिने’ २२० ग्राम वस्तु परीक्षणका लागि ल्याबमा पठाउँदा नक्कली पुष्टि भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको मुद्दा फाँटका अनुसार बरामद गरिएको खैरो हिरोइनबाट नमूना झिकेर परीक्षणका लागि विधि विज्ञान प्रयोगशालाको शाखा कार्यालय बर्दिबास पठाइएको थियो।
प्राप्त नमुनाको परीक्षण प्रतिवेदन अनुसार खैरो हिरोइन पुष्टि हुन नसकेको प्रयोगशालाले रिपोर्ट पठायो। मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक शैलेन्द्र खडकाले खैरो हिरोइन जस्तै देखिने वस्तु विधि विज्ञान प्रविधि प्रयोगशाला बर्दिबासमा परीक्षणका लागि पठाइएको र दोस्रो पटकसमेत पुष्टि नभएको बताए।
खैरो हिरोइन पुष्टि नभएपछि मुद्दा फाँटले अनुसन्धान प्रतिवेदनमा लागू औषध कारोबारमा हुने सजायको आधा माग गर्दै सरकारी वकील कार्यालयमा पेश गरेको थियो । मुख्य न्यायाधिवक्ता भोलानाथ निरौलाले मुद्दा नचल्ने निर्णय गरेपछि असार १९ मा चारजना साँझ ७ बजे रिहा भएका हुन् । न्याय परिषदले निरौलाको सरुवा असार १० गते नै अन्यत्र गरिसकेको थियो ।
२२० ग्राम खैरो हिरोइनसहित पक्राउ परेका रक्सौल निवासी चारजना कारोबारी तीन महिना नबित्दै रिहा भएपछि सीमावर्ती क्षेत्रमा विभिन्न आशंका उब्जिएका छन् । प्रहरी स्रोतका अनुसार यति ठूलो परिमाणमा बरामद भएको खैरो हिरोइन मुद्दा अनुसन्धानको क्रममा नक्कली पुष्टि हुनु गम्भीर विषय हो । ‘ठूलो आर्थिक चलखेल बिना यो सम्भव छैन,’ नाम उल्लेख नगर्ने शर्तमा एक प्रहरी भन्छन्, ‘पछिल्लो ५ वर्षयता बरामद गरिएको खैरो हिरोइन अनुसन्धानको क्रममा नक्कली पुष्टि भएको यो पहिलो घटना हो ।’
मुद्दा फाँटको नियन्त्रणमा रहेको खैरो हिरोइन प्रयोगशालामा परीक्षणका लागि पठाउँदा आर्थिक मिलोमतोमा खैरो हिरोइनको सट्टा त्यस्तै देखिने अन्य वस्तु पठाएको दाबी स्रोतको छ । तीन महिना नबित्दै छुट्न सफल भएका चारजना भारतीयले आफू निकटस्थलाई डेढ करोड नेपाली रुपैयाँ खर्च भएको बताउने गरेका छन् । अनुसन्धानको क्रममा थुनामा रहेको बेला उनीहरूको कारोबार हेर्ने अनुज दास र कमलेश कुमार पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रासँग कार्यालय बाहिर चिया पसलमा भेटघाट गरेको तस्बीर समेत सार्वजनिक भएको थियो।
गत फागुनमा चितवनमा तीन महिना बसेर प्रहरी उपरीक्षक पर्सामा सरुवा भएका थिए । चितवन प्रहरी प्रमुख हुँदा मुद्दा फाँटमा रहेका प्रहरी निरीक्षक शैलेन्द्र खडकालाई पनि आफू पर्सा आएको एक महिनाभित्रै तानेका थिए । एसपी गौतम मिश्राले जिल्ला न्यायाधिवक्ता कार्यालयले मुद्दा नचल्ने निर्णय गरेपछि चारजनालाई छोडिएको बताए । ‘मुद्दा अनुसन्धान गरेर सरकारी वकिल कार्यालयमा पठाएका थियौं,’ उनले भने, ‘त्यहाँबाट मुद्दा नचल्ने निर्णय भएपछि छोडिएको हो।’
टिप्पणीहरू