उत्तराखण्डमा बेपत्ता नेपालीको उद्धारका लागि दूतावासलाई निर्देशन

उत्तराखण्डमा बेपत्ता नेपालीको उद्धारका लागि दूतावासलाई निर्देशन

भारतको उत्तराखण्डको बाढी पहिरोमा हराएका नेपाली नागरिकको खोजी तथा उद्धारका लागि कूटनीतिक पहल भैरहेको सरकारले बताएको छ । 

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारत सरकारसँग समन्वय गरी हराएका नेपालीको खोज तथा उद्धारमा तीब्रता दिन नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई तदारुकताका साथ लाग्न निर्देशन दिएको जानकारी दिइन् ।

‘छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघिको बाढीमा परी केही नेपाली नागरिक वेपत्ता भएको खबरले निकै दु:ख लागिरहेको छ । उहाँहरूको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल शुरु गरिसकेको छ,’ उनले भनिन्, ‘नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गरी तदारूकताका साथ लाग्न निर्देशन दिएकी छु ।’

सिङ्गै गाउँ बगाउनेगरी आएको बाढीमा जाजरकोटको कुशे गाउँपालिकाका  नागरिकहरू परेका छन् । पालिकाले बाढीपहिरो प्रभावित क्षेत्रमा हराइरहेका नागरिकहरूको तत्काल खोज तथा उद्धारका लागि परराष्ट्र मन्त्रालयलाई कूटनीतिक पहल गर्न आग्रह गरेको छ ।
 
अध्यक्ष हरिचन्द्र बस्नेतले वक्तव्य सार्वजनिक गर्दै भनेका छन्, ‘उक्त बाढी तथा पहिरोमा कुशे गाउँपालिका वडा नं २ का करिब १३ जनाभन्दा बढी र अन्य वडाका केही व्यक्तिहरू पनि सम्पर्कमा नआएकाले हराएको हुनसक्ने आशंकामा सामाजिक सञ्जालमार्फत जानकारी प्राप्त भएकाले हराएकाहरूको खोजि तथा उद्धार कार्यलाई द्रुत र प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराउँछु ।’ 

साउन २० गते मंगलबार उत्तराखण्डस्थित उत्तरकाँशी जिल्लाको धरालीमा भीषण बाढी आउँदा ठूलो धनजनको क्षेति भएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार अहिलेसम्म पाँच जनाको ज्यान जानुका साथै सयभन्दा बढी वेपत्ता भएका छन्। 

स्थानीय समयअनुसार दिउँसो पौने २ बजेतिर अचानक आएको बाढीले ३४ सेकेन्डमै पूरै गाउँ बगाएको थियो । बाढीपछि त्यसक्षेत्रमा सम्पूर्ण सडक बन्द गरिएको छ भने स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।

टिप्पणीहरू