बजेट दुरुपयोगको ढाकछोपमा नक्कली कागजातको प्रयोग
धनुषाको विदेह नगरपालिका वडा नम्बर २, स्थित शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुर भ्रष्टाचारमा तानिएका छन् । उनीसहित विद्यालयका तत्कालीन लेखापाल स्व.अरुणकुमार कुशियैतकी पत्नी मतिकुमारी सरितादेवी कुशियैतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उनीहरुले मिलेमतोमा विद्यालयमा आईटी ल्याब स्थापनाका निम्ति प्राप्त सबै रकम दुरुपयोग गरेका हुन् । अख्तियारका अनुसार आर्थिक वर्ष २०७६–०७७ मा आईटी ल्याब व्यवस्थापन शीर्षकमा विदेह नगरपालिकाबाट विद्यालयलाई साढे ६ लाख रुपैयाँ प्राप्त भएको थियो ।
प्रधानाध्यापाक ठाकुर र लेखापाल कुशियैतको मिलेमतोमा ल्याबका कुनै सामग्री खरिद नगरी रकम हिनामिना गरिएको पाइएको हो । उनीहरुले नगरपालिकामा नक्कली कागजात पेश गरेका थिए ।
त्यसपछि आव २०७८–०७९ मा ल्याबका लागि प्रोजेक्टर खरिद गर्न ८७ हजार ५०० रुपैयाँ र २०७९–०७९ मा कम्प्युटर खरिदका निम्ति एक लाख २४ हजार ६५२ रुपैयाँ प्राप्त भएकोमा सो रकमबाट पनि सामान नै नगरी व्यक्तिगत लाभ लिएको अख्तियारको ठहर छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम आठ लाख ६२ हजार १५२ रुपैयाँ बिगो कायम गर्दै प्रतिवादीहरुलाई कैद र जरिवाना सजायको माग गरेको छ ।
टिप्पणीहरू