ओली निकटस्थहरू तितरबितर
नेकपा (एमाले) को जारी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नअटाएका नेताहरुले धमाधम स्वतन्त्र उम्मेद्वारी घोषणा गर्न थालेका छन् । ओलीकै प्रिय पात्र मानिने राजेन्द्र गौतमदेखि युवा नेता सुहाङ नेम्वाङसम्मले स्वतन्त्र उम्मेद्वारी दिन लागेका हुन् ।
पार्टी प्रचार विभाग प्रमुखसमेत रहेका गौतम ओलीको सूचीमा नअटाएपछि असन्तुष्ट भएका छन् । यसअघि अध्यक्ष ओलीसमक्ष उपमहासचिवको आकांक्षी बताए पनि सूचीमा नपरेपछि रुष्ट बन्न बाध्य भएका हुन् । स्राेतका अनुसार गौतम उपमहासचिवमा स्वतन्त्र उम्मेद्वारी दिने तयारीमा छन् । त्यस्तै, युवा नेता नेम्वाङले पनि केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेद्वारी दिन लागेको बुझिएको छ ।
उपमहासचिव प्रदिप ज्ञवालीले महासचिवको अडान छाडेका छैनन् । एक नेताका अनुसार उनले ओलीसँग ‘कि महासचिव,कि केन्द्रीय सदस्य मात्र बन्ने’ स्पष्ट धारणा सुनाएका छन् ।
टिप्पणीहरू