महाकालीमा पानीको बहाव बढेपछि आवागमनमा रोक

महाकालीमा पानीको बहाव बढेपछि आवागमनमा रोक

महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल-भारत सीमा क्षेत्र कञ्चनपुरको शारदा ब्यारेज (बनवासा पुल)मा सवारी आवागमनमा रोक लगाइएको छ । 

नदीमा पानीको बहाव एक लाख क्युसेकभन्दा माथि पुगेपछि पुलबाट चार पाङ्ग्रे सवारी साधन चलाउन निषेध गरिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नायव उपरीक्षक (डिएसपी) सागर बोहराका अनुसार नदीमा पानीको बहाव झण्डै एक लाख दश हजार क्युसेक पुगेको छ । 

‘नदीमा पानीको बहाव एक लाख क्युसेक पुगेपछि चार पाङ्ग्रे गाडी आवागमनमा रोक लगाउने गरिएको छ,’ उनले भने, ‘अहिले दुई पाङ्ग्रे गाडी र मानिसहरुलाई हिँड्डुल गर्न दिइरहेका छौं । चार पाङ्ग्रे गाडी चलाउन मात्र रोक लगाइएको हो ।’

पानीको बहाव एक लाख क्युसेक तल पुगेपछि चार पाङ्ग्रे सवारी साधन पनि चलाउन दिइने डिएसपी बोहराले बताए ।

टिप्पणीहरू